सुरक्षा संवेदनशीलतामा लापरबाही



नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बाङ्गला एयरलाइन्सको विमान काठमाडौं विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि देखिएको दृश्यले विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाइदिएको छ।

चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पु¥याइएको छ। घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर छ।

सोमबार दिउँसो ढाकाबाट काठमाडौं आएको उक्त विमान दुर्घटना भएपछि स्थानीय जनता विमानस्थलपरिसरको विभिन्न भागबाट दुर्घटना भएको विमानतर्फ प्रवेश गरेका थिए। यसले विमानस्थलको सुरक्षाका बारेमा गम्भीर प्रश्न उठेको छ।

‘दुर्घटना भएपछि विमानस्थलमा रहेका सुरक्षाकर्मी उद्धारमा खटिएको मौका छोपेर विमानस्थलका विभिन्न भागबाट छिरेका सार्वसाधारण रमिते बने पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई सुरक्षा निकायले आफ्नो नियन्त्रणमा लिनुपर्दथ्यो, त्यो हुन सकेनको देखिएन।’ –विमानस्थलको धावनमार्ग पुगेर फर्केका ईश्वर कार्कीले नेपाल समाचारपत्रसँग भन्नुभयो।

विमानस्थलको इन्धन भण्डारण डिपो नजिकको तारबारबाट छिरेर धावनमार्ग पुगेका कार्कीले भन्नुभयो– ‘हामी धावनमार्गमा पुग्दा सुरक्षाकर्मीहरू कुदाकुद गरिरहेका थिए। विभिन्न क्षेत्रबाट दमकल प्रवेश गरिरहेका थिए, सुरक्षाकर्मी यत्रतत्र कुदाकुद गरिरहेका थिए।’

नेपाल समाचारपत्रसँगको कुराकानीका क्रममा उहाँले थप्नुभयो– ‘हामी त्यो दृश्य हेरिरहेका थियौं तर कसैले हामीलाई किन आएको भनेर सोधेन।’
कोटेश्वरबाट विमानस्थल छिरेकी अन्जली मर्हजनले विमानस्थलमा आगो लागेको देखेपछि के भएको रहेछ भनेर विमानस्थल छिरेको बताउनुभयो। कसैले पनि रोकेन त भन्दा मर्हजनले भन्नुभयो– ‘प्रहरी आफै कुदिरहेका थिए विमानस्थलमा थुप्रै मान्छे छिरे पनि सुरक्षाकर्मीले केही गर्न नै भ्याएनन्, घटना भएको झण्डै पौने घण्टापछि मात्रै प्रहरी आएर विमानस्थलको धावनमार्गमा पुगेका सर्वसाधारणलाई धपायो।’

त्रिभुवन विमानस्थलको सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दसँग यस विषयमा जिज्ञाशा राख्दा उहाँले विमानस्थलको सुरक्षामा कमी आएको नभई व्यवस्थापनमा समस्या देखिएको बताउनुभयोे।

भारतलगायत विश्वका विभिन्न मुलुकले नेपालको विमानस्थलको सुरक्षाको बारेमा पटकपटक प्रश्न उठाइरहेको बेला सोमबार विमानस्थलमा देखिएको दृश्यले काठमाडौं विमानस्थलमा जुनसुकै बेला जे पनि हुनसक्ने देखिएको छ। विमानस्थलमा शुरूमा अस्तव्यस्त देखिई सुरक्षा निकायका प्रमुखहरू विमानस्थल पुगेपछि त्यहाँ तैनाथ सुरक्षाकर्मीले विमानस्थलबाट बाहिर निकालेको थियो।

विमानस्थलको विभिन्न भाग निर्माणको क्रममा विभिन्न ठाउँमा सामान्य तारबार मात्रै गरेको कारण विमानस्थल प्रवेश गर्न सजिलो भएको थियो। विमानस्थलमा कुनै पनि आतंककारी संगठनले आक्रमण गर्न चाह्यो भने जुनसुकै बेला गर्न सक्ने खतरा बढेको देखिन्छ। यस विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलको सुरक्षामा कुनै कमी नभएको दाबी गर्नुभयो।

सोमबार दिउँसो २ बजेर १८ मिनेटमा विमान दुर्घटना भएपछि सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीबीच समन्वय हुन नसक्दा उद्धारसमेत प्रभावित भएको थियो। यूएस बाङ्गलाको विमान काठमाडौं विमानस्थलमा दुर्घटना भएको स्थलभन्दा ७ सय मिटर पर फायर स्टेशन भए पनि विमान खसेको ११ मिनेटपछि मात्रै दमकल आगो निभाउन पुगेको थियो। दमकल पुग्नुअगावै घटनास्थलमा सेना पुगेको थियो। विमानस्थलमा हुने दुर्घटना र विमान अपहरणका बारेमा पटक पटक डेमोस्ट्रेसन हुने गरेको भए पनि विमानस्थलमा भएको दुर्घटनाले भने नेपालका उद्धारकर्मीहरू व्यावसायिक छैनन् भन्ने घटना सोमबारको दुर्घटनाले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्