प्रधानमन्त्रीको विपक्षमा ६० मत



भ्रष्टाचार हुन नदिने प्रधानमन्त्रीको उद्घोष

गंगा बराल, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट दुई तिहाइ मतका साथ विश्वासको मत लिनुभएको छ।

प्रधानमन्त्री ओलीको पक्षमा २ सय ८ र विपक्षमा ६० मत परेको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ओलीको प्रस्तावको विपक्षमा मतदान गरेको थियो। संसद्मा रहेको कुल २ सय ७५ सदस्यमध्ये राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद् रेशम चौधरीले शपथग्रहण नगर्नुभएको र नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल मतदान प्रक्रियामा सहभागी हुनुभएको थिएन। नयाँ शक्ति पार्टीका सांसद् डा. बाबुराम भट्टराई संसद् बैठकमा अनुपस्थित हुनुभएको थियो।

त्यस्तै कांग्रेसका देवेन्द्रराज कँडेल, प्रदीप गिरी र प्रमोदकुमार यादव बैठकमा उपस्थित हुनुभएको थिएन। संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो। ओली फागुन ३ गते प्रधानमन्त्री बन्नुभएको थियो। संसद्को बैठकमा विभिन्न पार्टीका नेताहरूले सरकारलाई समर्थन गर्नुपर्ने कारणबारे आ–आफ्नो धारणा राखेका थिए। संसद्मा प्रधानमन्त्री ओलीले आफूले देश र जनताको पक्षमा लाग्ने प्रतिबद्धता जनाउँदै मतदान गर्न सबै सांसद्लाई आग्रह गर्नुभएको थियो।

उहाँले सरकारको लक्ष्य दिगो विकास, शान्ति र समृद्धि भएकाले यस कार्यमा सहयोग गर्न पनि विपक्षी दलहरूलाई अनुरोध गर्नुभएको थियो। उहाँले विपक्षीलाई खबरदारी गर्नसमेत अनुरोध गर्नुभयो। बैठकमा पछिल्लो समयमा विभिन्न ठाउँमा भएका बलात्कार, हिंसा र सामाजिक दुव्र्यवहारका घटनामा वृद्धि भएको भन्दै सांसद्हरूले आवाज उठाएपछि प्रधानमन्त्रीले सरकार गम्भीर भएको र यस्ताखाले घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले अब मुलुकमा हुने जस्तोसुकै खाले भ्रष्टाचारको अन्त्य गर्ने र आफू पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। राजपा र संघीय समाजवादी फोरम नेपालले संविधान संशोधनमा सरकारको प्रतिबद्धता आउने आशा गर्दै प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका थिए। आइतबारको प्रतिनिधिसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अबको ५ वर्षमा मुलुकलाई कायापलट गर्ने आश्वासन दिनुभएको थियो। राजपा नेता महिन्द्र राय यादवले पटक–पटक लिखित प्रतिबद्धता गरिएको भए पनि कार्यान्वयन नभएकाले सहमति गर्नुको अर्थ नभएको भन्दै संविधान संशोधनमा सरकारको ध्यान जाने विश्वास गर्नुभयो।

उपसभामुखको निर्वाचन २ गते

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन चैत २ गते हुने भएको छ। संसद्को आइतबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले निर्वाचनको मिति घोषणा गर्नुभएको हो। निर्वाचन कार्यतालिका आइतबार नै प्रकाशित भइसकेको छ। प्रतिनिधिसभाको अन्तरिम कार्यविधि २०७४ को दफा ७ बमोजिम उपसभामुखको निर्वाचन हुन लागेको हो।

सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्वाचित भइसक्नुभएको छ। महरालाई नेपाली कांग्रेसले पनि समर्थन जनाएर उम्मेदवारी दिएको थिएन। आज राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि संसद् सचिवालय नयाँ बानेश्वरमा उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ।

निर्वाचन फागुन ३० गते हुने भएको छ। राष्ट्रपतिको निर्वाचन २९ गते (मंगलबार) हुँदै छ। वाम गठबन्धनका तर्फबाट विद्यादेवी भण्डारी र नेपाली कांग्रेसका तर्फबाट कुमारीलक्ष्मी राई उम्मेदवार बन्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्