नयाँ राष्ट्रपतिमा दुई महिलाको भिडन्त



नेपाल समाचारपत्र
काठमाडौं
फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ। उम्मेदवारी दर्ताका लागि दुवै जना समर्थकसहित नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो।

भण्डारीलाई माधवकुमार नेपाल, भीम रावल, ईश्वर पोखरेल, ओनसरी घर्ती र सुवास नेम्वाङले प्रस्ताव गर्नुभएको थियो भने रामबहादुर थापा बादल, विष्णु पौडेल, भानुभक्त ढकाल, गोकर्ण विष्ट र रवीन्द्र अधिकारीले समर्थन गर्नुभएको थियो। भण्डारी नयाँ संविधान घोषणापछि २०७२ कात्तिक ११ गते पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो।

यस्तै राईलाई राष्ट्रपतिको उम्मेदवारमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्रराज कँडेल, सुरेन्द्रराज पाण्डेले प्रस्ताव गर्नुभएको थियो। त्यस्तै, सुजता परियार, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, राधा घले, मेखलाल श्रेष्ठले समर्थन गर्नुभएको थियो।

‘आफ्ना लागि खुसीको क्षण’ भएको बताएकी थिइन्। दोस्रोपटक उम्मेदवारी केका लागि भन्ने सञ्चारकर्मीहरूको जिज्ञाशामा राष्ट्रपति भण्डारीले भन्नुभयो– ‘मैले संविधानको मर्मअनुसार राम्रो काम गरेकी छु।’

राष्ट्रपतिमा मनोनयन दर्ता गरेपछि उहाँले भन्नुभयो– ‘मैले नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दिएको छु। देशको हितलाई सर्वोपरि राखेर नेपालको संविधानको मूल भावना र मर्मअनुसार मैले राम्रो काम गरेको छु भन्ने मलाई विश्वास छ। यहाँहरूले मूल्याङ्कन गर्नु नै हुने छ।’

नेकपा एमाले र माओवादी केन्द्रको उम्मेदवारका रूपमा राष्ट्रपतिमा भण्डारीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो। आफूले उम्मेदवारी दिएपछि धेरै राजनीतिक दलहरूले समर्थन गरेको पनि उहाँको भनाइ रहेको छ। ‘राष्ट्रपतिको भूमिका तटस्थ भएन भन्ने कांग्रेसको आरोप छ नि?’

सञ्चारकर्मीको प्रश्नको उहाँले भन्नुभयो– ‘यो कसैकसैको आरोप हो, मैले जे गरेको छु, देशका लागि खुला किताबजस्तो छ। यथार्थ कुरा बाहिरी आँखाले मात्र होइन, भित्रको आँखाले मूल्यांकन गर्न आवश्यक ठान्छु।’

त्यसैगरी अर्का उम्मेदवारी राईले उम्मेदवार दिनु खुसीको विषय भएको बताउनुभयो। अहिले नै कसैको जित र हार निर्णय गर्ने बेला नभएको पनि उहाँको भनाइ थियो।

आज बिहीबार २४ गते उम्मेदवारको मनोनयपत्र उपर जाँचबुझ गर्ने र मनोनयनमा परेका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारले आफ्नो उम्मेदवारी पनि फिर्ता लिन सक्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

आज बिहीबार नै उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। २९ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद् भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ। त्यसपछि तत्काल मतगणना हुनेछ। मतगणनामा संघीय संसद्प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसद्को प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्