संघीय संसद् र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र



सुनील महर्जन, काठमाडौं
राष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभाका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग हुने भएको छ। निर्वाचन आयोगका अनुसार संघीय संसद् सदस्य मतदाताका लागि निलो र प्रदेश संसद् सदस्य मतदाताका लागि रातो रङको मतपत्र प्रयोग हुनेछ। आयोग मतदाता संख्याअनुसार दुई रङको मतपत्र छाप्ने तयारीमा रहेको छ।

राष्ट्रपतिको निर्वाचनका लागि प्रदेशसभाका तर्फबाट ५ सय ५० सदस्य छन् भने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सदस्य गरी कुल ८ सय ८४ सदस्य रहेका छन्। राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सोमबार सार्वजनिक गरेको थियो। नामावलीमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभा संसद्का ५ सय ४९ जना गरी राष्ट्रपति निर्वाचनमा ८ सय ८० जना मतदाताको मात्र नाम रहेका छन्।

आयोगले केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गरेका ३ जना र मनाङबाट निवार्चित प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)को नाम मतदाता नामावलीमा राखेको छैन। शेरबहादुर देउवा नेतृत्वको सरकारले मनोनित गरेका ३ जनाको नाम फिर्ता लिएर ओली सरकारले डा. युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेललाई राष्ट्रियसभामा मनोनितका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

राष्ट्रपतिबाट तीनै जनाको नाम स्वीकृत भए पनि देउवा सरकारबाट मनोनित ३ जनाले दायर गरेको रिटमा सर्वोच्च अदालतले मनोनित तीनै जनालाई शपथ नगराउन अन्तरिम आदेश दिएको थियो। मतदाता नामावलीमा समावेश रहेका कैलाली क्षेत्र नं.२ का सांसद रेशम चौधरी हाल थुनामा रहेका छन्।

आज मनोनयन
आज बुधबार उम्मेदवार मनोनयन दर्ता गर्ने गराइनेछ। उम्मेदवारको दाबी विरोधमा उजुरी दिने आज नै हुनेछ। राष्ट्रपतिका लागि उम्मेदवार छान्न दलहरू अन्तिम तयारी गरिरहेका छन्। वाम गठबन्धनको सहमतिअनुसार एमालेको भागमा परेको राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई दोहोर्याउने कि नयाँ उम्मेदवार खडा गर्ने भन्नेमा एमालेमा छलफल चलिरहेको छ। एमालेका पूर्वअध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपतिका लागि आकांक्षा देखाएको पाइएको छ।

राष्ट्रपतिको उम्मेदवार छान्नका लागि मंगलबार एमाले स्थायी समितिको बैठक बसेको थियो। फागुन २४ गते उम्मेदवारको मनोनयपत्रउपर जाँचबुझ गर्ने र मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। सोही दिन उम्मेदवारले आफ्नो उम्मेदवारी पनि फिर्ता लिन सक्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।

२४ गते नै उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। २९ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद् भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ। त्यसपछि तत्काल मतगणना हुनेछ। मतगणनामा संघीय संसद्प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसद्को प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ।

राष्ट्रपति निर्वाचनका लागि कायम ५२ हजार ७ सय ८६ मतभारमध्ये पहिलो चरणमै निर्वाचित हुन उम्मेदवारले २६ हजार ४ सय मत ल्याउनुपर्ने हुन्छ। अहिले कायम नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनमा मात्र २८ हजारभन्दा बढी मत रहेकाले पहिलो चरणमै राष्ट्रपति निर्वाचित हुने सम्भावना रहेको छ।

राष्ट्रपतिको निर्वाचनका लागि आयोगले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। कार्यालय सहयोगीसहित १३ कर्मचारी निर्वाचनका लागि खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्