प्रकृतिको चुनौतीले पर्यटकमा निराशा बढ्यो



भगवती तिमल्सिना, पोखरा

प्राकृतिकरूपमा अत्यन्तै सुन्दर नेपाल यति बेला बाह्य वातावरण र प्रदूषणका कारण सुन्दर पर्यटकीय नगरमा समेत नकारात्मक प्रभाव पर्दै गएको छ।

निकै उत्साह र उमङ्गका साथ बिहान भुइँमा उज्यालो नझर्दै बाह्य र आन्तरिक पर्यटक सराङकोटको उकालो चढिरहेका थिए। आसपासका चिया नास्ताका पसल पनि धमाधम खुल्दै थिए। हात र काँधमा क्यामराको भारी बोकेर उकालो चढेका पर्यटकमा निकै उत्साह देखिन्थ्यो तर यो उत्साह लामो समय टिक्न सकेन जब चारैतिर तुवाँलोले ढाकेर सूर्योदयसम्म छेकिदियो। वरिपरिका हिमशृंखला, डाँडापाखा, तालतलैया सबै छेकिए, पर्यटकहरूको मन र उत्साह पनि निराशाले छेकिदियो।

आकाशदेखि पातालसम्म छेक्ने गरी लागेको बाक्लो तुवाँलो हटाउने कुनै उपाय नदेखेका पर्यटक बिहानको उत्साहलाई त्यहीं बिसाएर आफ्ना भारी क्यामरा र लेन्स फटाफट ब्यागमा प्याक गरी लामो सुस्केरा हाल्दै सराङकोटको अँध्यारोलाई बाईबाई गर्दै फर्किनुको विकल्प देखेनन् अनि फर्किए।

यति मात्र होइन प्याराग्लाइडिङबाट पोखराको दृश्यावलोकन गर्दै आनन्द लिने हेतुले प्याराग्लाइडिङको यात्रा तय गरेका पर्यटकले समेत वातावरणीय प्रभाव तुवाँलोका कारण फटाफट बुकिङ रद्द गर्दै फर्किएका दृश्य देख्नु पोखराका लागि यति बेलाको दैनिकी बनेको छ। यहाँको दृश्य खुल्नु भनेको चिठ्ठा पर्नुजतिकै भएको पर्यटन व्यवसायीहरू बताउँछन्।

कात्तिक महिनादेखि नै पर्यटकको ओइरो लाग्ने पोखरामा यस वर्ष भित्रने पर्यटकले भने पोखराबाट देखिने मनमोहक दृश्य हेर्न नपाउँदा निकै नरमाइलोमान्ने गरेका छन्। बिहान सबेरै उठेर सूर्योदय र हिमालको दृश्यावलोकनका लागि सराङकोट पुगेका पर्यटक आफ्नो अपेक्षा अधुरै रहेको दुःखेसो पोख्दै बिहानभरि झिनो आशा बोकेर पर्खिए र निराश भएर फर्किए।

बाह्य तथा आन्तरिक पर्यटकले खचाखच भरिने पोखरामा पर्यटकको आर्कषणका रूपमा रहेका फेवा ताल, बेगनास ताल, रूपा ताल, दिपाङ ताल, खास्टे ताल, मिल्दी ताल, निउरिनी ताल, गुडी ताल, कमल पोखरी ताल, कश्यप ताल, महेन्द्र गुफा, चमेरे गुफा, डेबिड फल्स, सेती नदी, सराङकोट र यहाँबाट देखिने अन्नपूर्ण, धौलागिरि, मनास्लु हिमालका साथै सूर्योदय र सूर्यास्त पर्यटकका लागि अत्यन्तै आकर्षक केन्द्र हुन्।

यीलगायत पोखरामा रहेका अनगिन्ती आकर्षकमा प्याराग्लाइडिङ, होटल व्यवसाय, तालहरू, गुफा, हवाईमार्ग, सवारीसाधनको सेवा सुविधा, व्यापार व्यवसाय, स्कुल, कलेज, चौतर्फी जोडिएका सडकमार्ग, पर्यटन व्यवसायी, सञ्चारमाध्यम, पैदलमार्गजस्ता क्षेत्रको संरक्षण र सवद्र्धनका लागि पछिल्लो समय व्यवस्थित र मर्यादित बनाउन गरिएका प्रयास उत्तिकै प्रशंसनीय छन्।

तर पोखराको पहिचान र यस क्षेत्रले कमाउँदै आएको सबैभन्दा ठूलो सम्पत्तिका रूपमा रहेको सरसफाइ र सुन्दरतालाई भने वातावरणीय प्रदूषणका कारण देखापरेका परिवर्तित अवस्थाको ठूलो प्रभाव यो क्षेत्रमा पनि पर्नुले पर्यटकको आगमनमा कमी आएको पर्यटन व्यवसायीको ठम्याइ छ।

विगत वर्षमा भन्दा यो वर्ष हिउँदे वर्षा नहुनुका साथै हरेक दिन लाग्ने तुवाँलोका कारण पर्यटकले लक्षित गरेर आएका दृश्यावलोकन देख्न सकिरहेका छैनन्। यिनै कारण यहाँ आएका पर्यटकले पोखराको बसाइ छोटइएर फर्किने गरेको पर्यटन व्यवसायी बताउँछन्।

यस वर्ष पोखरा भ्रमणमा पुगेका पर्यटकले सूर्योदय र हिमाली शृंखलाको आनन्द लिनै नपाएको फेवा तालका डुंगा चालक मुकुन्द माझी सुनाउँछन्। पोखरामा प्याराग्लाइडिङका लागि मात्र दर्जनभन्दा बढी कम्पनी दर्ता भएका र सेवा सञ्चालनमा ल्याएका छन् तर यो वर्ष हिमाली दृश्य मात्र नभई नजिकैको वातावरणसम्म देख्न मुस्किल भएका कारण यसमा आनन्द लिने पर्यटकसमेत घटेको माझीको ठम्याइ छ।

पोखरा प्रदूषित हुनुमा वातावरणीय प्रभाव पार्ने धुवाँ, धूलो प्रमुख रहेको माझीको ठम्याइ छ। यसको सुधारका लागि पर्यटकीय नगरमा सञ्चालित यातायात, कलकारखाना, उद्योग व्यवसायबाट निस्कने फोहोरमैलाको व्यवस्थापन गर्न सरकारले समयमै ध्यान दिनुपर्ने कुरा औल्याउँछन्। झन्डै ३५ वर्षदेखि डुंगा खियाएर अनुभव बटुलेका माझी यो वर्षजस्तो पोखरामा तुवाँलोले ढाकेको देख्दै नदेखेको बताउँछन्।

पोखरा नामैले परिचित क्षेत्र हुनुका साथै ४ सय ६४ किलोमिटरको क्षेत्रफल ओगटेको यस भूमिको उचाइ ८ सय २७ मिटरदेखि १ हजार ७ सय ४० मिटरसम्म रहेको छ।

समथरदेखि उच्च हिमशृंखलासम्म एकै थलोबाट देख्न सकिने भएकै कारण पोखरामा पर्यटकको घुइँचो लाग्ने गरेको हो। यसको सुधार र संरक्षणमा सरकारी, गैरसरकारी संघसंस्था तथा निजीक्षेत्रबाट सञ्चालित होटल व्यवसायीले समयमै पहल गर्नुको विकल्प नभएको पोखराका होटल व्यवसायी दत्तराम उपाध्यायको पनि ठम्याइ छ।

प्रतिक्रिया दिनुहोस्