संघीय संसद्को अधिवेशन शुरू अन्तरिम कार्यविधि पारित



गंगा बराल, काठमाडौं

संघीय संसद्को अधिवेशन सोमबारबाट शुरू भएको छ। बैठकले प्रतिनिधिसभाको अन्तरिम कार्यविधि २०७४ सर्वसम्मतिले पारित गरेको छ। संघीय संसद्को प्रतिनिधिसभाको पहिलो बैठकले कार्यविधि पारित गरेको हो।

बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सदस्य महन्त ठाकुरले उक्त कार्यविधि पारित गर्न प्रस्ताव पेस गरेपछि बैठकले सर्वसम्मतिले प्रस्ताव पारित भएको हो। उक्त प्रस्ताव गरेलगत्तै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमापत्ति भन्दै उठेपछि ज्येष्ठ सदस्य ठाकुरले कुनै नियम नबनेको अवस्थामा केको आपत्ति भन्दै आसन ग्रहण गर्न आग्रह गर्नुभएको थियो।

आइतबार बसेको सर्वदलीय बैठकले संघीय संसद्को बेग्लाबेग्लै कार्यविधि पारित गर्न सहमति जनाएको थियो। जेष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गरिएको थियो।

बैठक सञ्चालनसम्बन्धी कार्यविधिको दफा ५ को उपदफा (१) बमोजिम प्रतिनिधिसभाका लागि खगराज अधिकारी, मानबहादुर विश्वकर्मा, पूर्णकुमारी सुवेदी, लक्ष्मणलाल कर्ण र उमाशंकर अरगरियाको नाम अनुमोदन भएको छ।

त्यसैगरी राष्ट्रियसभाका लागि परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालिबहादुर मल्लको नाम अनुमोदन भएको छ। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको ठीक ३ महिनापछि संसद् बैठक बसेको हो।

मंसिर १० र २१ गरी २ चरणमा प्रतिनिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो। राष्ट्रियसभाको निर्वाचन माघ २४ गते मात्र भएको थियो। निर्वाचन प्रणालीका विषयमा नेपाली कांग्रेस र एमालेबीच विवाद हुँदा निर्वाचन मिति पछाडि धकेलिएको थियो।

संसद् सचिवालयका प्रशासन शाखाका सह–सचिव सुरजकुमार दुराले मंगलबारको बैठकमा प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन मिति तोक्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। सचिवालयबाट प्रकाशित सोमबारको सम्भावित कार्यसूचीमा सोमबारको पहिलो बैठकबाट नै निर्वाचन मिति तोक्ने भनिएको थियो। दुराका अनुसार २६ गते सभामुखको निर्वाचन, २७ गते प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने र ३० गते राष्ट्रपतिको निर्वाचन गर्ने कार्यतालिका हुनेछ। राष्ट्रपतिको निर्वाचन २७ गते हुन सक्ने जनाइएको छ।

संविधानअनुसार संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको निर्वाचन गरिसक्नुपर्नेछ। राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका सांसद दीनानाथ शर्मा चुनिने सम्भावना रहेको जनाइएको छ। प्रतिनिधिसभाको कार्यव्यवस्थाको जिम्मेवारी डा. भरतराज गौतमले र राष्ट्रियसभाको कार्यव्यवस्थाको जिम्मेवारी मुरारी महतले पाउनुभएको छ।

यादवको शपथ
राष्ट्रिय जनता पार्टीका सांसद् महेन्द्र राय यादवले सोमबार सांसद पदको पद तथा गोपनीयताको शपथ खानुभएको छ। आइतबारको शपथग्रहणमा उहाँ अनुपस्थित हुनुहुन्थ्यो। नागरिकताअनुसार यादव जेष्ठ सदस्य देखिएकाले अप्ठेरो भएर उहाँ शपथमा आउनुभएको थिएन।

नागरिकताअनुसार यादव ८० वर्षको देखिनुभएको थियो। प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधिसभाको र तारादेवी भट्टले राष्ट्रियसभाको अध्यक्षता गर्नुभएको छ। राष्ट्रियसभाको बैठक भने निर्धारित समयभन्दा केही ढिलो शुरू भएको थियो। राष्ट्रियसभामा पनि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई उपस्थित हुने भएपछि उहाँ प्रतिनिधिसभाको बैठक सकेपछि मात्र राष्ट्रियसभा जानुभएको थियो।

राष्ट्रियसभामा यस्तो देखियो

राष्ट्रियसभाको सभाकक्ष नयाँ बनाइएको छ। प्रतिनिधिसभाको बैठक पुरानै संविधानसभा कक्षमा सञ्चालन गरिएको छ। राष्ट्रियसभामा ३ तहका संरचना छन्। सभाकक्षको उत्तरपछि सरकार पक्षलाई छुटइइएको छ।

सांसद सदस्यको पछाडि विशिष्ट व्यक्तिहरू बस्ने ठाउँ छुटइइएको छ। सोमबारको बैठकमा संसद् सचिवालयका कर्मचारी बसेका थिए। सबैभन्दा पछाडि पत्रकार र त्यसको दक्षिणपट्टि दर्शकका लागि स्थान व्यवस्थापन गरिएको छ। पारदर्शी बैठक कक्षमा बीचमा सिसाको बार लगाइएको छ।

सोमबारको बैठकमा अन्तरिम कार्यविधि पारित गर्न जेष्ठ सदस्य भट्टले हुन्छ भने हुन्छ भन्नेबित्तिकै सांसदले ठूलो स्वरमा हुन्छ भनेका थिए जबकि हुन्न भने हुन्न भन्नुहोस् भन्न बाँकी नै थियो।

भट्टले शहीदका नाममा मौनधारण गराएपछि ‘धन्यवाद’ नभनी बस्नुभएपछि सांसद, पत्रकार र दर्शकहरू छक्क परेका थिए। उहाँले आफू बसेको केही समयपछिमात्र चर्को स्वरमा धन्यवाद भन्नुभयो। चर्को र प्रस्ट स्वरकी भट्टले बैठक सञ्चालन गर्न खोज्दा उठ्नुभएको थियो भने सचिवालय कर्मचारीले उहाँलाई बस्न आग्रह गरेका थिए। भट्ट संसद्मा नयाँ हुनुहुन्छ। उता प्रतिनिधिसभाका जेष्ठ सदस्य ठाकुर सांसद र मन्त्रीसमेत भइसकेकाले उहाँलाई बैठक सञ्चालनमा खासै समस्या परेको थिएन। कर्मचारीले उहाँलाई पनि सघाउनुपरेको थियो।

प्रतिक्रिया दिनुहोस्