देउवा र सिंहको फरक–फरक उम्मेदवारी



रामकृष्ण चापागाईं, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज सोमबार निर्वाचन हँदै छ। संसदीय दलको कार्यालय सिंहदरबारमा हुने निर्वाचनमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको छ।

दुवै पक्षबाट सर्वसम्मतिमा नेता छनोटको गृहकार्य सफल नभएपछि निर्वाचन समितिको कार्यतालिकाअनुसार आइतबार सभापति देउवा र सिंहले उम्मेदवारी दर्ता गराउनुभएको हो। सोमबार बिहान सवा आठ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय भए पनि दुवै नेताले उम्मेदवारी फिर्ता नलिने बताउनुभएको छ। प्रतिनिधिसभामा कांग्रेसका ६३ सदस्य छन्। पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनका सदस्यहरू संसदीय दलको सदस्य हुने भए पनि दलको नेता छनोट निर्वाचनमा प्रतिनिधसभाका सदस्यहरूले भाग लिन पाउँछन्। राष्ट्रियसभामा कांग्रेसको १३ जना सदस्य छन्।

कार्यव्यस्तताका कारण जनाउँदै सभापति देउवाले वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको थियो। सभापति देउवाको उम्मेदवारी बालकृष्ण खाँणले दर्ता गराउनुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभएको छ। देउवाको प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा बस्नुभएको छ। देउवाको उम्मेदवारी दर्ता भएलगत्तै पूर्वमहामन्त्री सिंहले दलको नेताका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो। सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम बस्नुभएको छ।

‘कार्यव्यस्तताका कारण सभापति देउवाले वारेसमार्फत उम्मेदवारी दर्ता गर्न मलाई पठाउनुभएको हो’, देउवाको उम्मेदवारी दर्ता गर्दै नेता खाँणले भन्नुभयो– ‘अहिलेको अवस्थामा संसदीय दलको नेतामा सभापति नै चाहिने भएकाले अझै पनि सर्वसम्मत गर्ने प्रयास गर्नेछौं।’

‘सदनमा कम्युनिस्टको बाहुल्यता छ, त्यहाँ कांग्रेसले सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिका निभाउन मेरो नेतृत्व आवश्यक छ’, दलको नेताका लागि उम्मेदवारी दर्ता गर्दै सिंहले भन्नुभयो– ‘सभापति देउवाको कमजोरीका कारण हालै सम्पन्न तीन चरणको निर्वाचनमा पार्टीले नराम्रो हार बेहोर्नुपरेको छ। पार्टीलाई संसदीय दलको विधान र कार्यविधिअनुसार अघि बढाउन मेरो उम्मेदवारी आवश्यक छ।’

प्रतिनिधिसभामा रहेका कांग्रेसका ६३ जना सदस्यमध्ये ४० भन्दा बढी सदस्य सभापति देउवाको पक्षमा रहेको बताइँदै आएको छ।

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गुट सक्रिय रहेको कांग्रेसभित्र सिटौला प्यानलले देउवालाई नै संसदीय दलको नेतामा सहयोग गर्ने बताइएको छ। संसदीय दलको नेता बन्न सभापति स्वयंले इच्छा देखाएपछि अरूको दाबी फिक्का हुने संसदीय दलका सदस्य भीमसेनदास प्रधान बताउनुहुन्छ। उहाँका अनुसार सिटौलाले आफूपक्षका सांसदलाई स्वविवेक प्रयोग गर्न आग्रह गर्नुभएको छ। कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेतामा निर्वाचित हुन सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशतभन्दा बढी सदस्यको मत प्राप्त गर्नुपर्नेछ। निर्वाचन भएमा नेता बन्न ३२ मत ल्याउनुपर्नेछ।

देउवाकै कारण कांग्रेसले स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचनमा पराजय भोग्नुपरेको पौडेलपक्षका नेताहरूको आरोप छ। उहाँहरूले १३औं महाधिवेशनपछि पार्टीलाई क्रियाशील बनाउन नसकेको आरोप लगाउँदै सिहंलाई मत दिन आफू निकट सदस्यहरूलाई आग्रह गरिरहेका छन्।

कुल १३ जना सदस्य रहेको राष्ट्रियसभामा संसदीय दलको नेताले ती सदस्य मनोनित गर्ने कुरा विधानमा उल्लेख छ। राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरू संसदीय दलको सदस्य हुने भए पनि प्रतिनिधिसभाका सदस्यहरूमध्येबाट मात्र दलको नेता निर्वाचित गरिने विधानमा व्यवस्था गरिएको छ। उपनेता तथा प्रमुख सचेतक र सचेतक भने दलको नेताले नै मनोनित गर्ने प्रावधान छ।

कार्यसमितिको निर्वाचन भने केही दिनपछि मात्र हुने निर्वाचन समितिले छ। विधानअनुसार संसदीय दलको नेताले प्रतिनिधिसभा संसदीय दलको कुनै एक सदस्यलाई मुख्य सचेतकमा मनोनयन गर्ने व्यवस्था छ। मुख्य सचेतकको सिफारिसमा नेताले प्रतिनिधिसभा र राष्ट्रियसभामा सचेतक मनोनयन गर्नेछन्। कार्यसमितिमा मुख्यसचेतक, सचेतक र पार्टीका महामन्त्री पदेन सदस्य रहने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्