राष्ट्रपति निर्वाचनको प्रक्रिया शुरू



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि आज मतदाताहरूको नामावली प्रकाशन गर्ने भएको छ।

फागुन २९ गते तय गरिएको निर्वाचनका लागि मतदाता नामावली प्रकाशनसँगै निर्वाचन कार्यक्रम औपचारिक शुरुआत हुने आयोगले जनाएको छ। यसअघि निर्वाचनको प्रक्रिया अघि बढाउन नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरभित्र राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार आज सोमबार निर्वाचन अधिकृतको कार्यालयमा मतदाताहरूको नाम सार्वजनिक गर्नेछ।

‘नाम सार्वजनिक गर्न सबै तयारी पूरा भएको छ। मतदाता नामावली पनि क्रमबद्ध रूपमा मिलाएर प्रकाशन गर्न तयारी अवस्थामा राखेका छौं।’ –निर्वाचन अधिकृत तीलप्रसाद श्रेष्ठले भन्नुभयो।

राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ। सोहीअनुरूप आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्ने प्रवक्ता ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। संघीय संसद्मा राष्ट्रियसभाका ५९ र प्रतिनिधिसभाका २ सय ७५ सदस्य रहेका छन्। त्यस्तै प्रदेशसभामा ५ सय ५० सदस्य रहेको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि कुल मतदाताहरू ८ सय ८४ रहेका छन्।

मतदाता नामावली प्रकाशनसँगै सोमबार नै मतदाता नामावलीमा छूट नाम समावेश गर्न तथा विवरण सच्याउन दरखास्त दिने एवम् मतदाता नामावलीउपर दाबी विरोधको उजुरी दिने कार्यक्रम तय गरिएको छ। दाबी विरोध वा नाम सच्याउन उजुरी परेमा त्यसको छानविन गरी मंगलबार अन्तिम नामावली प्रकाशन गर्नेछ।

त्यसै गरी २३ गते उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यपत्र तय गरिएको छ। उम्मेदवारको दाबी विरोधमा उजुरी दिने पनि सोही दिन गरिनेछ।। फागुन २४ गते उम्मेदवारको मनोनयपत्र उपर जाँचबुझ गर्ने र मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

२४ गते नै उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। २९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म संघीय संसद् भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ। त्यसपछि तत्काल मतगणना हुनेछ। मतगणनामा संघीय संसद्प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसद्को प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ।

राष्ट्रपति निर्वाचनका लागि कायम ५२ हजार ७ सय ८६ मतभारमध्ये पहिलो चरणमै निर्वाचित हुन उम्मेदवारले २६ हजार ४ सय मत ल्याउनुपर्ने हुन्छ। अहिले कायम नेकपा एमाले–माओवादी केन्द्र गठबन्धनमा मात्र २८ हजारभन्दा बढी मत रहेकाले पहिलो चरणमै राष्ट्रपति निर्वाचित हुने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्