देशविकासका फाइल मात्रै मेरामा आऊन्ः प्रम



गंगा बराल, काठमाडौं

‘बेलायतको संसद्मा सांसदभन्दा थोरै संख्यामा कुर्सी हुन्छ तर पनि संसदीय काम कारबाही रोकिँदैन तर हाम्रोमा भने गणपूरक सांसद उपस्थित नभएकाले विधेयक पास नहुने अवस्था आउनु दुःखद् पक्ष हो।’ –एमाले नेता सुवासचन्द्र नेम्वाङले तीतो यथार्थ व्यक्त गर्नुभएको छ।

शनिबार एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त संसदीय दलको बैठकमा नेता नेम्वाङले भन्नुभयो– ‘मन्त्री नभएर पनि संसद् बैठक रोकिएको छ, अब यस्तो अवस्था नआओस् भन्ने चाहन्छौं।’

संसद् भवन नयाँ बानेश्वरमा संघीय संसद्का सदस्यका लागि आयोजित संसदीय अभिमुखीकरण कार्यक्रममा नेम्वाङले संसद्मा सहभागी हुने र आफ्नो दायित्व निर्वाह गर्ने परिपार्टी कमजोर बन्दै गएकामा चिन्तासमेत व्यक्त गर्नुभएको थियो। उहाँले बेलायतमा सांसदहरू समितिका वा अन्य कार्यमा संलग्न हुने र आवश्यक पर्दा तत्काल आइहाल्ने भएकाले कुनै पनि काम कारबाही नरोकिएकाले त्यस्ता कुरामा ध्यान दिन सांसदहरूलाई सचेत र ध्यानाकर्षण गराउनुभएको थियो।

नेपालमा सांसदहरू हाजिर गरेर भाग्ने गरेकाले संसद्का प्रायजसो कुर्सीहरू खाली हुने गरेका छन्। संसद्मा हाजिर गरेबापत सांसद्ले यसअघि दैनिक १ हजार ५ सय रुपिँया भत्ता पाउने गरेका थिए।

संसद्मा कायम रहेको संख्याको कम्तीमा एक चौथाइभन्दा कम सदस्य अनुपस्थित भएमा कुनै पनि विधेयक वा प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सक्दैन। एमाले र माओवादी केन्द्रका सांसदका लागि आयोजित कार्यक्रममा नेम्वाङले कतिपय कुरा नियममा उल्लेख भए पनि धेरैजसो व्यवहार अभ्यासमा आधारित भएकाले त्यसको मर्मलाई बुझेर कर्तव्य पूरा गर्न सांसदलाई आग्रह गर्नुभयो।

संसद्ले बनाएको अन्तरिम कार्यविधि अध्ययन गर्नसमेत दलले सांसदलाई अनुरोध गरेको छ। संसदीय नियम विपरीत सदनमा काम कारबाही भए बुझेर मात्र नियमापत्ति गर्न नेम्वाङको सल्लाह थियो। संसद्लाई प्रभावकारी बनाउन सांसदको भूमिका प्रभावकारी हुने भएकाले उहाँले सांसदलाई जिम्मेवारी वहन गर्नसमेत आग्रह गर्नुभयो।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा संसद्मा भएका गलत अभ्यासलाई छोडेर नयाँ ढंगले अघि बढ्न सांसदहरूलाई आग्रह गर्नुभयो।

‘हिजो अनुहार हेर्न नचाहनेहरू आज एउटै खाटमा सुत्ने र सँगै बसेर खाने भएका छौं, यो पनि निरन्तरताको क्रमभंगता हो’, दाहालले भन्नुभयो– ‘एउटा संविधानसभा असफल भएपछि फेरि अर्को पनि त्यस्तै हुने हो कि भन्ने खतरा थियो, हामी एउटा परिवर्तन गरेर आएका छौं, यो यात्रा अब अघि बढ्छ।’ प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदलाई नजाने ठाउँमा नजान, नखाने कुरा नखान र नगर्ने कुरा नगर्न अनुरोध गर्नुभयो।

आफू नैतिकवान् भएर भ्रष्टाचारमुक्त समाज बनाउन उहाँले संसदहरूलाई आग्रह गर्नुभयो। ‘बाहिर हेर्दा राम्रो र इमानदार तर भित्री आचरण भ्रष्टाचारयुक्त र दाग लागेको नहोस् भन्ने मेरो अपेक्षा हो’, ओलीले भन्नुभयो– ‘हामीले केही गर्छौं भनेर जनताले मतदान गरेका हुन्, केही आशा नगरेका भए अरू पार्टीलाई नै भोट दिन्थे त्यसैले केही गरेर देखाउनु छ।’ एमालेमा प्रतिनिधिसभामा ८० जना प्रत्यक्ष र ४१ जना समानुपातिक सांसद रहेका छन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट ३६ प्रत्यक्ष र १७ समानुपातिक गरी ५३ सांसद छन्, दुवै पार्टीका गरी १ सय ७४ सांसद छन्। प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई सरुवा र बढुवाको फाइल बोकेर नकुद्न, बरु त्यसको साटो देश विकासको फाइल बोक्न आग्रह गर्नुभयो। अघिल्लो सरकारले देशको ढुकुटी रित्याएको र थुप्रै अनियमितता गरेको आरोप लगाउनुभयो। संविधानले ३ वर्षभित्र धेरैवटा कानुन निर्माण गरी संविधान कार्यान्वयन गर्न निर्देशन गरेकाले चुनौती र अवसर पनि आफूमा आएको ओलीले बताउनुभयो।अघिल्लो सरकारले कानुन निर्माण नगरेको उहाँको आरोप थियो। चैत १० गतेसम्म उपराष्ट्रपतिको निर्वाचन भइसक्ने भएकाले संविधानले निर्दिष्ट गरेको लक्ष्यअनुसारका काम भइसक्ने पनि बताउनुभयो। प्रधानमन्त्री ओलीले फागुन २३ गतेबाट राष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरू हुने, २९ गते निर्वाचन हुने, २७ गते प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिने कार्यक्रम रहेको जनाउनुभयो।

१० भाषामा शपथग्रहण आज
संघीय संसद्का सदस्यले आज शपथ ग्रहण गर्दै छन्। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रतिनिधिसभाका सदस्यलाई र ५ बजे राष्ट्रियसभाका सदस्यलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ।
संविधानको धारा ८८ मा ‘संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने छ’ लेखिएको छ। संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले शपथग्रहणका साथै बैठक सञ्चालनका लागि पनि सचिवालयले तयारी गरिसकेको बताउनुभयो।

उहाँले लामो समयको प्रयासमा कुनै पनि कमजोरी नहुने गरी संसद् बैठक कक्ष र अन्य व्यवस्थापन गरिएको दाबी गर्नुभयो। प्रतिनिधिसभाको बैठक पुरानै कक्षमा र राष्ट्रियसभाको बैठक नुप्से हलमा बस्दै छ। संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले शनिबार दिँउसोसम्म १० भाषामा शपथ ग्रहणका लागि आवेदन आएको बताउनुभयो। गौतमका अनुसार प्रतिनिधिसभामा ३८ र राष्ट्रियसभामा १२ जना सांसदले नेपालीबाहेक अरू भाषामा शपथ ग्रहण गर्ने भएका छन्। सांसदहरूले नेवारी, मगर, मैथिली, हिन्दी, अवधि, भोजपुरी, थारू, तामाङ, उर्दु र बज्जिका भाषामा शपथ ग्रहण गर्ने गरी सचिवालयमा फारम भरेका छन्।

संसद् सचिवालयको आयोजनामा बुधबार बसेको सर्वदलीय बैठकले कुनै सांसदले आफ्नो मातृभाषामा शपथ लिन चाहे संसद् सचिवालयमा सम्पर्क राख्न आग्रह गरेको थियो। सर्वदलीय बैठक आज बिहान १० बजे पनि बोलाइएको कांग्रेसकी सांसद डा. डिला संग्रौलाले बताउनुभयो। संसद् सचिवालयले तयार पारेको अन्तरिम कार्यविधिमा सुझाव पनि मागिएको छ।

संग्रौलाले निर्वाचनसहित अन्य प्रक्रियाका सम्बन्धमा छलफल हुने जनाउनुभयो। अन्तरिम कार्यविधिलाई सोमबार बस्ने संसद्को पहिलो बैठकले पारित गर्नेछ।

प्रतिनिधिसभाका जेष्ठ सदस्य राष्ट्रिय जनता पार्टी (राजपा)का महिन्द्र राय यादवले र राष्ट्रियसभाकी जेष्ठ सदस्य तारादेवी भट्टले आज आइतबार दिउँसो १ बजे राष्ट्रपति कार्यालयमा राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सोमबार ४ बजे दुवै सदनको बैठक बोलाइएको छ। यादव जेष्ठ सदस्य नभए पनि नागरिकताका आधारमा उहाँ जेष्ठ देखिनुभएको हो। यादवले आफ्नो नागरिकतामा उमेर बढी भएको स्वीकार्नुभएको छ। राजपाकै अध्यक्ष मण्डलका संयोजक ७५ वर्षीय महन्थ ठाकुर साँच्चै नै उमेरले जेष्ठ सदस्य हुनुहुन्छ। प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको अध्यक्ष चयन नहुन्जेल यादव र भट्टले बैठकको अध्यक्षता गर्नुहुने भएको छ।

सांसद सिलवाल आकर्षणको केन्द्र

काठमाडौं, (नेस)
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संसदीय दलद्वारा नयाँ सांसदका लागि शनिबार संयुक्तरूपमा आयोजित प्रशिक्षण कार्यक्रममा सांसद नवराज सिलवाल अरू सांसदभन्दा आकर्षणको केन्द्र बन्नुभयो।
आईजीपी बढुवासम्बन्धी मुद्दामा कार्य सम्पादन मूल्याङ्कन फारममा कीर्ते गरेको आरोप लागेका सिलवाल खासै सार्वजनिक नभए पनि शनिबार उक्त बैठकमा देखिएपछि आकर्षणको पात्र बन्नुभएको हो।
प्रहरीका पूर्वडीआईजीसमेत रहेका सिलवाल यसअघि नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ कार्यक्रममा बालुवाटारमा देखिनुभएको थियो।

स्मरणीय छ, संघीय संसद् एमाले र माओवादीका गरी कुल २ सय १४ सदस्य छन्। यसैबीच नयाँ सांसदहरूलाई ओरेन्टेसन दिन आयोजित उक्त संयुक्त सभामा एमाले अध्यक्षसमेत हरेका प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता र मुलुकको समृद्धिको भावना बुझेर प्रभावकारीरूपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिनुभयो। उहाँहरूले पार्टी एकता छिट्टै हुने र केही दिनमा संसदीय दल पनि एउटै बन्ने जानकारी दिनुभयो। एमाले नेता एवम् पूर्वसभामुख सुवास नेम्वाङले संसदीय नियममा ध्यान दिएर प्रभावकारी भूमिका खेल्न सांसदहरूलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्