पाँच सय विद्यालय पुनर्निर्माण नगरिने



काठमाडौं, (नेस)
सरकारले पाँच सय विद्यालय पुनः नबनाउने भएको छ। भूकम्पले क्षतिग्रस्त विद्यालय निर्माणका लागि गठित केन्द्रीय आयोजना इकाइ (पीआईयू)ले सम्पूर्ण सर्वेक्षण गरेपछि अन्य विद्यालयसँग सामायोजन (मर्ज) भएका, विद्यार्थी शून्य रहेका र भीरपाखामा रहेका विद्यालय नबनाउने निर्णय गरिएको हो।

सो आयोजना इकाइका प्रमुख सहसचिव इमनारायण श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कतै विद्यार्थी नै नभएको, कतिपय मर्ज भइसकेको र भौगोलिक विकटताका कारणले त्यस्ता विद्यालय पुनः बनाउने सम्भावना नै छैन। पुनर्निर्माण गर्नुको औचित्य पनि छैन।’ करिब २ सय विद्यालय मर्ज भइसकेका छन् भने सयभन्दा बढी विद्यालयमा विद्यार्थी नै नभएको उहाँले जानकारी दिनुभयो।

आयोजनाको सर्वेक्षणअनुसार सरकारले भूकम्पपछि ध्वस्त र क्षतिग्रस्त भएकामध्ये ७ हजार ५ सय ५३ वटा पुनर्निर्माण गर्नुपर्ने भएको थियो। हालसम्म २ हजार ८ सय ९१ वटा विद्यालय पुनर्निर्माण गरिसकिएको छ। १ हजार ४ सय ५८ वटा निर्माणाधीन छन् भने ८ सय ४३ वटा विद्यालयको सर्वेक्षण भइरहेको छ। सरकारले अब २ हजार ३ सय ३१ वटा विद्यालय पुनः बनाउन बाँकी देखिएको छ।

यस्तै गैरसरकारी संस्था (एनजीओ)ले पुनर्निर्माण थालेका मध्ये ९ सय ३६ वटाको निर्माण कार्य पूरा भएको छ भने २ सय ५० वटा निर्माणाधीन अवस्थामा रहेका छन्। विद्यालय व्यवस्थापन समितिमार्फत निर्माण गर्ने जिम्मा लिइएका मध्ये १ हजार ९ सय ६३ वटा सम्पन्न भइसकेका छन्, ५ सय ३६ निर्माणाधीन छन् भने ५ सय ६४ वटा विद्यालय भवन नाम छनौटको अवस्थामा रहेका छन्। क्षतिग्रस्त विद्यालय निर्माणका लागि गठित केन्द्रीय आयोजना इकाइका प्रमुख सहसचिव इमनारायण श्रेष्ठले हालसम्म ५ हजार १ सय ९२ विद्यालय पुनर्निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार २, ८ र १६ कोठेदेखि चारतलेसम्मका विद्यालय भवन बनाउन ९० किसिमका नक्सा प्रयोग गरिएको छ। पुनर्निर्माण गरिएका सबै विद्यालय भूकम्प प्रतिरोधी रहेको इकाइको दाबी छ।

प्रतिक्रिया दिनुहोस्