बाम गठबन्धनको दुई दिहाई कसरतः आजै फोरमसँग निर्णायक वार्ता



नेपाल समाचारपत्र, काठमाडौँ ।
संघीय समाजबादी फोरम र बाम गठबन्धनबीच बुधबार निणार्यक बार्ता हुने भनिएको छ र यसपछि वार्तापछि फोरम सरकारमा जाने अथवा नजाने भन्ने टुङगो लाग्ने बताइएको छ ।

बाम गठबन्धनको मात्रै बहुमत पुगेर सरकार बनाउन सकिने बेलामा प्रधामन्त्री केपि शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेसंघीय समाजवादी फोरमलाई समेत सरकारमा ल्याएर दुई तिहाइ बहुमतको सरकार बनाउने कसरतमा लागेका छन् ।

निर्वाचनपछि फोरमले सरकारमा आउने संकेत देखाएपछि बाम गठबन्धन र फोरम अध्यक्ष उपेन्द्र यादवबीच पटक–पटक छलफल हुँदै आएका छन् । छलफलमा फोरमले संविधान संशोधन , परराष्ट्र लगाएत अन्य दुई महत्वपूर्ण मन्त्रालयहरुको माग राख्दै आएको छ । फोरमको यस्तो मागमा बामगठबन्धन अलिक लचिलो बनेपछि गठबन्धन दुई तिहाई बहुमत नजिक पुगेको छ ।

एमालेसँग एक्लै संसदमा १ सय २१ सांसद छन् । माओवादी केन्द्रका ५३ थपिँदा यो संख्या बढेर १ सय ७४ हुन्छ । संसदमा कुल २ सय ७५ मध्ये १ सय ३८ भए सामान्य बहुमत पुग्छ । संसदमा दुई तिहाई पुर्याउँन थप ११ सांसद चाहिन्छ र फोरमलाई सरकारमा सामिल गराउँदा दुईतिहाई सजिलै पुग्ने देखिएको छ ।

तर, पटक पटक वार्ता हुँदा पनि फोरमसँगको सहमतिमा हस्ताक्षर भने अझैसम्म पनि हुन सकेको छैन् ।

बुधबार दिउँसो तीन बजेपछि बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम नेताहरुबीच निर्णायक छलफल हुने बताइएको छ । यदि उनीहरुसँग सहमति जुटेको खण्डमा आजै सहमति पत्रमा हस्ताक्षर गरिने एक नेताले बताए ।

यदि केन्द्र सरकारमा संघीय समाजवादी फोरम सहभागी भए प्रदेश २ को सरकारमा पनि वाम गठबन्धन सहभागी हुनेछ । यस्तो अवस्थामा प्रदेश सरकार बनाउन साथ दिएकोे राजपा भने बाहिरिन सक्ने संकेत पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्