आगलागी घटना बढ्यो, दुई सातामा आठ स्थानमा आगलागी



नेपाल समाचारपत्र
काठमाडौं
गर्मीयाम शुरू भएसँगै राजधानीका विभिन्न स्थानमा आगलागीका घटना बढ्न थालेका छन्। पछिल्लो दुई सातामा राजधानीका विभिन्न ८ स्थानमा आगलागी भएको छ।

गर्मी लागेसँगै आगलागीका घटना बढेपछि काठमाडौं महानगरपालिका वारुणयन्त्रले सावधानी अपनाउन थालेको छ। आगलागीका घटना बढ्न थालेको बताउँदै वारुणयन्त्र प्रमुख बद्रीमान नगरकोटीले आगलागीका घटना हुन नदिन जनचेतनाका कार्यक्रम सञ्चालन गर्न थालेको बताउनुभयो।

हिजो सोमबार पुतली सडकस्थित शेयर मार्केटको भवनको पाँचौं तलामा रहेको एनआईसी एजुकेसन कन्सल्टेन्सीमा आगलागी हुँदा सो कन्सल्टेन्सी पूर्णरूपमा क्षति भएको थियो। बिहान करिब १० बजेबाट आगलागी शुरू भएको थियो। वारुणयन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आइतबार राति सामाखुसीस्थित दीपशिखा स्कुलको होस्टलमा आगलागी भएको थियो।

सो आगलागीमा होस्टलका सामग्री जलेर नष्ट भएको थियो। कामपा, नेपाली सेना र प्रहरीको वारुण यन्त्रले आगलागी नियन्त्रण गरेको थियो। बिजुली सर्ट भएर सो आगलागी भएको थियो। यो महिनामा मात्रै ८ वटा आगलागीका घटना भएका छन्। माघ महिनाको तुलनामा फागुनमा बढी आगलागीका घटना भएको वारुणयन्त्र कार्यालयले जनाएको छ। अधिकांश आगलागी बिजुली सर्टका कारण भएको वारुणयन्त्र प्रमुख नगरकोटीले बताउनुभयो।

आगलागीका घटना बढ्न थालेपछि वारुण यन्त्र कार्यालयले धुपबत्ती बाल्दा, चुरोट सल्काउँदा, विद्युतीय सामग्री चलाउँदा, घरमा अति प्रज्वलनशील पदार्थ भण्डारण गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। ‘अब महानगरक्षेत्रका वडा कार्यालयमार्फत जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौं।’ –नगरकोटीले भन्नुभयो।

विशेष गरी पानी तान्ने मोटर सर्ट भएर, ग्यास लिक भएर बढी आगलागीका घटना हुने गरेका छन्। गर्मीयाममा बढीजसो आगलागी बस्तीनजिकैको जंगलमा हुने गरेको छ। जंगल जाने व्यक्तिले जानेर वा अन्जानमा आगो लगाउँदा बस्ती सखाप हुने गरेको छ।

यस्ता किसिमका आगलागीका घटना हुन नदिन चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको वारुण यन्त्रले वडास्तरमै कार्यक्रम सञ्चाालन गर्ने तयारी गरेको छ। गर्मीमा बढी आगलागी हुनुको कारण र समाधानको उपाय पत्ता लगाउन कामपाले वडास्तरमै कार्यक्रम सञ्चालन गर्न थालेको हो।

उता आगलागीका बेला वारुणयन्त्र सञ्चालन गर्ने निकायबीच समन्वय नहँुदा समस्या पर्ने गरेको कामपा वारुणयन्त्र कार्यालयले जनाएको छ। वारुणयन्त्र प्रमुख नगरकोटीले आगलागी हँुदा कस्ले के काम गर्ने भन्ने विषयमा स्पष्ट निर्देशन नहुँदा समस्या परेको बताउनुभयो।

कुन ठाउँमा कस्तो किसिमको आगलागी भएको छ। सो आगलागी कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन नै नगरी आगलागी नियन्त्रण गर्दा झन् बढी धनजनको क्षति हुने दाबी गर्नुभयो। आपसी समन्वय गरी आगलागी नियन्त्रण गर्दा क्षति कम गर्न सकिने उहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्