एडीबीको सहयोग डेढ गुणाले वृद्धि, हालसम्मको सहायता तथा लगानी अढाई खर्ब रुपियाँ



रोविन पौडेल, काठमाडौं
एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई गरेको आर्थिक सहयोग करिब डेढ गुणाले बढेको छ। अघिल्लो ३ वर्ष वार्षिक औसत ३० करोड डलर ऋण तथा आर्थिक सहयोग गर्ने गरेको एडीबीले सन् २०१७ मा ४३ करोड ६० लाख अमेरिकी डलर ऋण तथा सहयोग उपलब्ध गराएको हो।

एडीबीको लगानी पोर्टफोलियोमा नेपालले इतिहासकै उच्च सहयोग हासिल गरेको हो। नेपालले पाएको यो सहयोग दक्षिण एसियामा भारत र बंगलादेशभन्दा मात्र तल रहेको छ। एडीबीको गौतम वुद्ध विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेलम्ची खानेपानी आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनामा मुख्य लगानी गरेको छ।

एडीबीको पोर्टफोलियोको कार्यान्वयनसँगै नेपालले गरेको प्रगतिको आधारमा बैंकले नेपाललाई अघिल्लो वर्षभन्दा बढी आर्थिक सहयोगको प्रतिबद्धता गरेको हो। एडीबीको अनुसार बैंकको नेपाललाई इतिहासकै सबैभन्दा धेरै अर्थात् ४३ करोड ५९ लाख डलरको सहयोग ऋण सम्झौता तथा २७ करोड ५४ लाख डलर ऋणको उपलब्धि हासिल भएको छ। बैंकले नेपालमा नयाँ आयोजना सञ्चालनको तत्परता तथा ती आयोजनाको प्रगति सफलताको आधारमा सहयोग बढाएको उल्लेख गरेको छ।

‘एडीबीको नेपालमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौं।’ शंकरप्रसाद अधिकारी (अर्थसचिव)

सन् २०१६ मा एडीबीको ऋण तथा सहयोग ३५ करोड ८८ लाख डलर रहेकामा सन् २०१४ र २०१५ मा ऋण सहयोग क्रमशः २१ करोड ६० लाख डलर र १४ करोड ४० लाख डलर मात्र रहेको थियो। एडीबीले २०१७ मा कूल ५३ करोड ३० लाख रुपियाँको ऋण लगानी सम्झौता गर्ने लक्ष्य लिएको भए पनि लक्ष्यको ८२ प्रतिशत मात्र प्राप्त गर्न सकेको हो।

त्यसैगरी प्राप्त रकम लक्ष्यको ८८ प्रतिशत रहेको छ। ऋण लगानी सम्झौता अघिल्लो वर्षभन्दा ३० प्रतिशत बढी हो। एडीबीले शुक्रबार सार्वजनिक गरेको ‘नेपाल पोर्टफोलियो पर्फमेन्स रिभ्यु–२०१७’ अनुसार सन् २०१७ को अन्त्यसम्म एडीबीको नेपालमा २ अर्ब ४३ करोड अमेरिकी डलर (करिब २ खर्ब ५० अर्ब रुपियाँ) खुद ऋण लगानी तथा सहायता रहेको छ। रिभ्युअनुसार हाल एडीबीको लगानी तथा सहयोगमा नेपालमा ३५ आयोजना सञ्चालनमा छन्। बैंकको यो लगानी शहरी पूर्वाधार, सेवा, ऊर्जा, यातायात, कृषि, प्राकृतिक सम्पदा, शिक्षा तथा पुनर्निर्माण क्षेत्रमा गरिएको हो।

उक्त कार्यक्रममा एडीबीको सहयोगबारे जानकारी गराउँदै एडीबीका नेपालका लागि कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोभले आगामी वर्ष पनि सहयोग बढाउन एडीबी तत्पर भएको जनाकारी गराउनुभयो। अबका लगानी स्थानीयस्तरको विकासका लागि लगानी गर्ने उहाँको दाबी छ। उहाँले भन्नुभयो–‘नेपालमा स्थानीय सरकारको निर्माणसँगै एडीबीले उनीहरूसँग सहकार्य गरी उनीहरूको क्षमता तथा प्राथमिकताका आधारमा लगानी गर्नेछ। यसको बारेमा यही वर्षको अन्त्यसम्म ‘कन्ट्री पार्टनरसिप स्ट्रयाटेजी’ तयार पारी अघि बढ्ने छौं।’

संघीयताको कार्यान्वयनसँगै एडीबी सबै तहका सरकारसँग समन्वय गरेर नेपालको विकासमा सहकार्य गर्ने उहाँको दाबी छ। उहाँले थप्नुभयो–‘नेपालमा काम गर्न हामीले विशेष चुनौति सामना गर्नुपर्छ। तर पनि सरकारसँग सहजीकरण गर्दै परियोजना अघि बढाइरहेका छौं।’

‘अहिले प्राथमिकतामा रहेका आयोजनामध्ये मेलम्ची खानेपानी आयोजनालाई सन् २०१८ भित्र कसरी काठमाडौं ल्याउने तथा गौतम वुद्ध विमानस्थल आयोजनालाई कसरी ट्रयाकमा ल्याउने भन्नेबारे हामी चिन्तित छौं,’ उहाँले भन्नुभयो। उहाँका अनुसार नेपालको पोर्टफोलियो चुनौतीमा ढिलो बजेट रिलिज, संघीयता तथा आयोजना कार्यान्वयन व्यवस्था, वित्तीय विवरण तथा रकम सम्झौता व्यवस्थापन आदि रहेका छन्।

यसैबीच सरकारले एडीबीको नेपालमा सञ्चालित परियोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले एडीबीको नेपालमा सञ्चालित परियोजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो। शुक्रबार सोही कार्यक्रममा बोल्दै अधिकारीले सरकार एडीबीसँगको सहकार्यलाई अझै बलियो बनाउन तयार रहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो– ‘राज्य तथा सरकार पुनर्संरचना प्रक्रिया, पर्याप्त बजेटको अभाव तथा प्रणालीमा रहेका सम्झौता व्यवस्थापन तथा कर्मचारी नियुक्तिमा रहेका केही कमजोरीका बाबजुद एडीबीले यत्तिका सहयोग गरेको छ।’

 

प्रतिक्रिया दिनुहोस्