आर्थिक वृद्धिको लक्ष्य पुरा हुने



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल राष्ट्र बैंकले केही कठीनाइका वावजुद सरकारले लिएको ७ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पुरा हुने जनाएको। केन्द्रीय बैंकले चालू आवको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै समष्टिगत मागको महत्वपूर्ण पक्ष खुद निर्यात थप खस्केका कारण आर्थिक वृद्धिमा तदनुरूपको प्रभाव परेको देखिएपनि कुल पुँजी निर्माणमा केही विस्तार आएकोले आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पर्ने जनाएको हो।

राष्ट्र बैकले समिक्षामा आर्थिक वृद्धि दर मध्यमस्तरको रहने देखिएको उल्लेख गरेको छ। आर्थिक वर्ष २०७४⁄७५ को बजेट वक्तव्यमा उल्लिखित ७ दशमलव २ प्रतिशतको लक्षित आर्थिक वृद्धिदरका सम्बन्धमा समष्टिगत मागको अवस्थालाई विश्लेषण गर्दा कुल उपभोग खर्च विस्तारले निरन्तरता पाएको देखिएको हो।
त्यस्तै चालू आर्थिक वर्षको लागि औसत उपभोक्ता मुद्रास्फीतिको लक्षित सीमा ७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको ६ महिनाको औसत मुद्रास्फीति दर ३ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

आन्तरिक उत्पादन तथा आपूर्ति व्यवस्थामा भएको सुधार, तरलता व्यवस्थापनमा अपनाइएको सजगता र छिमेकी मुलुकमा समेत मुद्रास्फीति नियन्त्रित रहेका कारण मुद्रास्फीति न्यून रहेको हो। तर, पछिल्लो समय पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिका कारण आगामी दिनमा मुद्रास्फीतिमा चाप पर्ने जोखिम रहेको राष्ट्र बैंको शंका छ। राष्ट्र बैंककाअनुसार चालू आर्थिक वर्षको ६ महिनामा मुलुकको शोधनान्तर स्थिति ६ अर्ब ६६ करोड रुपियाँले घाटामा छ। वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा आएको कमी र आयातको उच्च वृद्धिका कारण चालु खाता घाटा ७५ अर्ब ७१ करोड रुपियाँ पुगेकोले समग्र शोधनान्तर घाटामा गएको हो।

तथापि, पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६७ अर्ब ३४ करोड रुपियाँ रहेको राष्ट्र बैंकले जनाएको छ। चालू आवको अन्त्यसम्ममा कम्तिमा ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०७४ पुस मसान्तमा रहेको सञ्चितिलेकरिब १०.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने समिक्षामा उल्लेख गरिएको छ। चालू आवमा मुद्रास्फीति दरलाई ७ प्रतिशतको सीमा भित्र राख्ने लक्ष्य रहेकोमा ६ प्रतिशतको सीमाभित्र रहने संशोधित अनुमान राष्ट्र बैंकको छ। तथापि, हालै पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिमा दबाब पर्ने जोखिम भने बढेको छ।

अर्थतन्त्रको क्षेत्रगत विश्लेषण गर्दा कृषि क्षेत्रको उत्पादन विस्तार सामान्य रहने देखिएको राष्ट्र बैंकको दावी छ। त्यसैगरी औद्योगिक क्षमता उपयोगमा विस्तार, कच्चा पदार्थ आयातमा वृद्धि तथा पर्यटक आगमनमा देखिएको सुधारले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने देखिन्छ। समिक्षामा उल्लेख छ, ‘पर्याप्त वर्षाका कारण मकैको उत्पादनमा उल्लेख्य वृद्धि भएको छ भने बाढीले भूःक्षेत्र कटान गरेका कारण धानको उत्पादन अपेक्षित नहुने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्