नयाँ अनुहार खोज्दै जनता



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दोहोर्याउने गृहकार्य शुरू भएको छ। नयाँ सरकार गठनसँगै पद बाँडफाँडको विषयमा एमाले र माओवादीभित्र गृहकार्य शुरू
भएको हो।

अब बन्ने नयाँ राष्ट्रपति, उपराष्ट्रपति र सभामुखमा पुनः वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र निवर्तमान सभामुखमा ओनसरी घर्तीले लबिङ थाल्नुभएको छ। संविधानमा दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने प्रावधान भएपछि भण्डारी दोस्रो कार्यकाल राष्ट्रपति बन्नका लागि आफै लबिङमा जुट्नुभएको हो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः भण्डारीलाई नै राष्ट्रपति बनाउनुपर्ने अडान लिँदै आउनुभएको छ। तर एमालेभित्र वरिष्ठ नेता झलनाथ खनालले पनि चासो देखाउनुभएको छ। एमालेभित्र नयाँ जनादेशअनुसार भण्डारीलाई नै दोस्रोपटक राष्ट्रपति बनाउनुको सट्टा वरिष्ठ नेता खनाललाई बनाउनुपर्ने दबाब ओलीमाथि परेको छ।

राष्ट्रपति बनाउनका लागि ओली सकारात्मक भएपछि राष्ट्रपति भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रभावमा पार्ने खेलमा लागेको बताइएको छ। केही दिनअघि राष्ट्रपति भण्डारीले प्रचण्ड परिवारलाई डिनरसहितको भेटघाट गर्नुभएको थियो। प्रचण्ड परिवारलाई आफ्नै निवासमा दिएको डिनर पार्टीलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ। राष्ट्रपति भण्डारीले एमाले र माओवादी केन्द्रका प्रभावशाली नेताहरूलाई समेत दोस्रो कार्यालय पुनः राष्ट्रपति बनाउका लागि सहयोग गर्न लबिङ गरिरहेको राष्ट्रपति निवास स्रोतले बतायो।

एमालेभित्र महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, नेता शंकर पौडेललगायतलाई पार्टीभित्र वातावरण बनाउन भूमिका खेल्नसमेत राष्ट्रपतिले आग्रह गरेको बताइएको छ। एमालेका नेतासँगै माओवादी केन्द्रका प्रभावशाली नेताहरूसँग पनि दोस्रो कार्यकाल राष्ट्रपति बन्न सहयोग गर्न आग्रह गरेको स्रोतको दाबी छ।

राष्ट्रपति भण्डारी दोहोरिए माओवादी केन्द्रबाट उपराष्ट्रपति बन्नुभएका नन्दबहादुर पुन पनि दोहोरिने सम्भावना रहेको छ। तर, उपराष्ट्रपति बन्नका लागि माओवादी केन्द्रका नेता अमिक शेरचनले पनि पार्टीभित्र लबिङ शुरू गर्नुभएको छ। माओवादी केन्द्रका एक नेताले भने– ‘एउटै व्यक्ति दोहोर्याउने विषय राम्रो होइन, नयाँ अनुहारलाई नै उपराष्ट्रपति बनाउनुपर्छ।’

उपराष्ट्रपति पुनले पनि दोस्रो कार्यकाल लिने पक्षमा लबिङ शुरू गर्नुभएको छ। सभामुख बन्नका लागि वर्तमान सभामुख ओनसरी घर्तीले पनि गृहकार्य गर्नुभएको बताइएको छ। प्रतिनिधिसभामा समानुपातिक सूचीमा रहनुभएका घर्ती प्रतिनिसभा सदस्यमा सिफारिस हुने निश्चित छ। घर्तीले पनि दोस्रोपटक सभामुख बन्ने चाहना व्यक्त गरेको माओवादी केन्द्रका एक नेताले बताए। तर निर्वाचनको मत परिणामअनुसार एमालेले माओवादीलाई सभामुख दिन नहुने पक्षमा पनि छलफल शुरू भएको छ। वाम गठबन्धनभित्र एमालेले सभामुख लिए माओवादी केन्द्रले उपसभामुखमा चिन्त बुझाउनुपर्ने अवस्था रहेको माओवादी केन्द्रका ती नेताले बताए।

निर्वाचनको मत परिणामअनुसार एमालेले राष्ट्रपति, माओवादीले उपराष्ट्रपति र सभामुख पाउनुपर्ने दाबी गरेको छ। राष्ट्रपतिका लागि माओवादी केन्द्रका कुनै पनि नेताले अहिलेसम्म चासो देखाएका छैनन्। माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको चर्चा भए पनि उहाँलाई राष्ट्रियसभा सदस्य बनाउने गृहकार्य शुरू भएको छ।

यसअघि पनि एमालेबाट झलनाथ खनाल राष्ट्रपति बन्ने चर्चा भएको थियो। तर अध्यक्ष ओलीले उपाध्यक्ष र महिला भएको हैसियतमा पहिलो महिला राष्ट्रपति बनाउनुपर्ने अडान लिएपछि खनाल पछि हट्नुभएको थियो। खनालले आफू राष्ट्रपति बन्नका लागि तयार रहेको बताउँदै आउनुभएको छ। एमाले र माओवावादी केन्द्रबीच पार्टी एकताको प्रक्रिया अगाडि बढ्दा ओली र प्रचण्डको व्यवस्थापनसँग पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता खनाल र नेता माधवकुमार नेपालको व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। एमालेभित्र नेताहरूको व्यवस्थापन गर्न पनि खनाललाई यसपटक राष्ट्रपति बनाउनुपर्ने बहस शुरू भएको छ।

पार्टी एकीकरणको प्रक्रियामा रहेकाले एमाले र माओवादीले कुन–कुन पद पाउने भन्ने टुंगो लागिसकेको छैन। तर एमालेले राष्ट्रपति पाउनेमा आशंका भने छैन। उपराष्ट्रपति र सभामुखमा मात्र पद बाँडफाँडमा बढी बहस हुने देखिएको छ।

नेकपा एमालेका युवा नेता ठाकुर गैरेले परिवर्तित सन्दर्भमा राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने व्यक्तिलाई नै राष्ट्रपति बनाउनुपर्ने बताउनुभयो। उहाँले नयाँ जनमतअनुसार नयाँ व्यक्तिलाई नै राष्ट्रपति बनाउँदा परिवर्तनको सन्देश जाने बताउँदै पार्टीले नेताहरूको मूल्यांकन र आवश्यकता तय गरेर मापदण्ड बनाएर नै राष्ट्रपतिको उम्मेदवार छनोट गर्नुपर्नेमा जोड दिनुभयो।
नेता गैरेले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पूर्वप्रधानमन्त्री, पार्टीको पूर्वअध्यक्ष, पार्टीको वरिष्ठ नेताको हैसियतले राष्ट्रपति बन्न झलनाथ खनाल ओजनदार व्यक्तित्व हो।’ माओवादी केन्द्रभित्र पनि पुनः एउटै दोस्रो कार्यकाल दिन नहुने भन्दै अध्यक्ष प्रचण्डलाई नेताहरूले दबाब दिएका छन्। ‘निर्वाचनपछि स्वाभाविकरूपमा नागरिकहरूले नयाँ अनुहार खोज्ने गर्छन्, माओवादी केन्द्रका नेता एक नेताले भने– ‘एउटै व्यक्तिलाई पुनः दोहोर्याउने कदम गलत छ।’

प्रतिक्रिया दिनुहोस्