प्रचारप्रसार नहुँदा भुमेश्वर क्षेत्र ओझेलमा



विनोद सिंह विष्ट, बैतडी ।
प्रचारप्रसार तथा उचित संरक्षण र प्रर्बद्धन हुन नसक्दा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र पत्ताल भुमेश्वर ओझेलमा पर्दै गएको छ ।

सुर्नया गाउँपालिका २ बाशुलिङ्गमा अवस्थित धार्मिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना बोकेकोे गुफा, तलाउ र मन्दिर रहेको पत्ताल भुमेश्वरको आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । यसका साथै सोही क्षेत्रमा अवस्थितनेपालकै गहिरो पतालभुमेश्वर गुफा समेत सम्वन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानिय भजन विष्टको भनाई रहेको छ ।
पत्ताल भुमेश्वरको महिमा

करिब तीन सय बर्ष पहिला देखि पत्ताल भुमेश्वरमा देबी देवताको महिमा सुरु भएको स्थानिय बुढापाकाहरु बताउछन् । हिन्दुधर्मालम्बीहरुका आराध्यदेव शिव भगवान आफ्नी आर्धाङ्नी पार्वती संगको बिछोडका बेला संसारका बिभिन्न ठाउँ घुम्दै पत्ताल भुमेश्वरमा पनि पाईला टेकेका भन्ने जनविश्वास रहेको पत्ताल भुमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो “ महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किम्बदन्ती छ ” पत्तालभुमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन् । पत्ताल भुमेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास रहेको छ । धुम्दै आएका शिब थाकेपछि पत्ताल भुमेश्वरमा बिश्राम लिदाखेरी त्रिशुल गाडेको ठाउँमा गुफा भएका हुन् ।

यसका साथै परापुर्वकालमा स्थानिय विष्ट परिवारले गोठाला गएका बेला दिनहुँ एउटा गाई एक स्थान गएर आफै दुहिने गरेको र सो ठाउँमा गएर हेर्दा शिवलिङ्ग भेट्टिएको र सोही स्थानमा महादेवको मन्दिर बनाइएको हो ।

मन्दिर र तलाउको चारैतर्फ चारओटा गुफा भएको यस ठाउँमा शिब भगवानले लामो समय बिश्राम लिएको यो भुमी पवित्र रहेको र यहाँ दर्शन गर्न आउने भक्तजनहरुको मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।

धार्मिक महत्व बोकेको यस पत्तालभुमेश्वरमा महादेव भगवान को मन्दिर रहेको छ । मन्दिरको छेउमा तलाऊ पनि छ । यस क्षेत्रको मुख्य हेर्नलायक पत्तालभुमेश्वर गुफा हो । प्राकृतिक सौन्दर्यले भरिपुर्ण, पत्ताल भुमेश्वर चारैतिर डाँडाकाँडा, मनमोहक दृष्य रहेका छन् । हरेक पर्वहरुमा पुजाआजा गरिने पत्ताल भुमेश्वर मन्दिरमा महाशिवरात्री र रामनवमीमा विशाल मेला लाग्ने गर्दछ । यो क्षेत्र बिवाह बन्धनमा बाँधिने गन्तब्यका रुपमा समेत चिनिने गर्दछ । पत्तालभुमेश्वरको दर्शन गरेका मनोकामना पुर्ण हुने जनविश्वास रहेको छ ।

स्थानिय मन्धिरे नामका महात्मा दुई दशक अगाडीदेखि पत्ताल भुमेश्वर मन्दिरमा बस्दै आएका थिए र उनकै पहलमा शिब मन्दिर निर्माण गरिएको हो । यस क्षेत्रको रेखदेख गर्दै आएका महात्माको एक दशक अगाडी मृत्यु भएपछि पत्ताल भुमेश्वर गुफा, तलाउ र मन्दिरको रेखदेख गर्ने कोही नभएपछि अलपत्र परेको छ ।

पर्यटन भित्र्याउन सरकारी तथा गैरसरकारी संघ संस्था, व्यक्ति तथा समाजवाट सहयोग याचना गरिरेहेका छौ पत्ताल भुमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्टले भन्नुभयो“यसको प्रचारप्रसार गर्न सक्यो भने विश्व सम्पदा सुचीमा पर्न सक्छ”
पत्ताल भुमेश्वर ४ सय हेक्टरमा बन क्षेत्रमा फैलिएर रहेको छ ।

नेपालकै गहिरो गुफा
यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ । जुन गुफाको अन्तिमम बिन्दुमा दुधको धारा रहेको जन विश्वास रहेको छ । बैतडीस्थित पत्ताल भुमेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताहरुको दाबी रहेको छ । केही बर्ष अगाडी इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पत्ताल भुमेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको जानकारी दिइयो ।

आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियोे ।
यस अघि तनहुँको बन्दिपुर स्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रुपमा मानिदै आएको थियो । दुसेनको अध्ययन टोलीले पत्ताल भमेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्रि स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताएको थियो ।

संसारका एक हजार तीन सय गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा पत्ताल भुमेश्वरको अध्ययन सुरु गर्नुभएको हो । पत्ताल भुमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरु रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ । गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछिमात्र भित्र प्रवेश गर्न पाइने परम्परा रहेको छ । गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृष्यावलोकन समेत गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् ।

गुफाको मुख्यद्वारबाट भित्र पसेपछि केही ओरालो हिड्नुपर्छ । त्यसपछि फराकिलो ठाउँमा गुफा–चौराहा(चारओटा बाटो) आउछ । जसमध्ये पुर्व तर्फको फराकीले बाटो हिडेर पानीको धारा हेर्न सकिन्छ । भित्र पस्दै चट्टानले बनेका बिभिन्न आकर्षक बस्तुहरुको अवलोकन गर्न सकिन्छ ।

गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरु रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ ।
पत्ताल भुमेश्वरको मुख्य आकर्षण भनेको सदाबहार जंगलको बिचमा रहेको कहिल्यै नसुक्ने तलाउ र गुफा हो । बैतडीकै उच्च स्थानमा अवस्थीत पत्ताल भुमेश्वर एक तिर्थस्थल पनि हो । यस ठाउँमा रहेको तलाउँको पानी एकचोटी शिरमा चढाउनै पर्ने र यसो गरेमा पबित्र भईन्छ भन्ने जनविश्वास रहिआएको छ ।

यस क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मीक महिमा देशभर फैलाउन सके पर्यटनको राम्रो गन्तव्यस्थल हुन सक्ने भएपनि प्रचारप्रसार हुन सकेको छैन् ।

पत्ताल भुमेश्वर वरवरको वन क्षेत्रमा बेवारिसे अवस्थामा छोडिने चौपायाहरु जथाभाबी तलाउमा पस्ता पानी फोहोर हुदै गएको स्थानिय तिलक विष्टको भनाई रहेको छ । उहाँले भन्नुभयो“ भक्तजनहरुले लगेका प्लाष्टिकका पोलिथिनहरु जताततै फाल्ने गर्नाले वातावरण फोहोर बन्दै गएको छ”

केही समय अगाडी तत्कालिन जिल्ला विकास समिति बैतडीले पत्ताल भुमेश्वर गुफा भित्र ७५ मिटरसम्म बिद्युतीकरण गरेको भएपनिसंरक्षण र संबद्र्धन गर्ने कोही नभएर बिद्युतीकरण गरिएको तार चोरी हुनका साथै जीर्ण बन्द गएका छन् ।

पर्यटनको सम्भावना धेरै
उत्तरपट्टि लहरै मिलेको अपि सैपाल हिमश्रृङखलाको नजिकबाट अवलोकन गर्न सकिने पात्ताल भुमेश्वरमा लालिगुँरासको घना जंगल समेत रहेकाले फागुन, चैतमा राताम्मे दृष्य मनमोहक बन्ने गर्दछ । त्यस्तै स्थानिय प्राकृतिक फलका रुपमा पाईने काफल बैशाख जेठ देखि असार सम्म रुखबाट ताजै टिपेर खान मिल्ने यो क्षेत्रलाई प्रचार प्रशारमा ल्याउन सके आन्तरिक र बाह्य पर्यटनको ठुलो सम्भावना रहेको स्थानिय युवा कपिल के सीको भनाई छ ।

दशरथचन्द राजमार्गको सतबाँझ–पाटन सडकखण्डमा पर्ने उच्च भुभागमा रहेका पत्ताल भुमेश्वरको प्राकृतिक सुन्दरता, नेपालकै गहिरो गुफा, तलाउ र शिव मन्दिरका लागि प्रसिद्ध मानिन्छ । बैतडी सदरमुकामबाट १८ किलोमिटर पुर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पत्ताल भुमेश्वर पुगिन्छ ।

सिमावर्ती झुलाघाट नाकाबाट यातायात सञ्चालन र पाटन बिमानस्थललाई सुचारु गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिने देखिन्छ । यहाँको धार्मिक महत्वका साथै यस क्षेत्रको प्राकृतिक आकर्षणबारे प्रचारप्रसारमा जोड दिने हो र त्यसै अनुरुप भौतिक पूर्वाधारको विकास गर्दै लाने हो भने बैतडीको पत्ताल भुमेश्वर र यसै वरपर रहेका ग्वाल्लेक केदार, रौलेश्वर, त्रिपुरासुन्दरी , निङ्गलाशैनी, सिगास धुरा , दोगडा धाम,मेलौली भगवतीलगायतका स्थल पर्यटकीय गन्तव्यस्थल हुनेमा दुईमत छैन ।

शान्त वातावरणमा कोईली, न्याउली, कुक्कु जस्ता चराहरुको आवाजले शहरको कोलाहलमा बस्ने जो कोही पनि रमाउन सक्छन । प्राकृतिक सुन्दरता संगै धार्मीक महत्व बोकेको यस ठाउँमा पाईला टेक्ने हरेकले आध्यात्मिक र प्राकृतिक सन्तुष्टि प्राप्त गर्न सकिने स्थानिय युवक राजेन्द्र विष्टको भनाई रहेको छ ।

पत्ताल भुमेश्वर विकासका लागी प्रवासी युवा जुटे
प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल पत्ताल भुमेश्वरको विकासका लागी प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको शिलशिलामा देशबाहिर रहेका बैतडीका युवाहरुले प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा सम्वर्धनका लागी सामाजिक सञ्जालवाट मार्फत रु ३ लाख बढी रकम समेत संकलन गरेका छन् ।

मलेसिया,कतार तथा भारतमा रहेका युवाहरुले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाईन अभियान नाम दिएर उक्त रकम संकलन गरेको उक्त अभियानका सह कोषाध्यक्ष बिर वहादुर विष्टले बताउनुुभयो । उक्त संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मुलगेट र अन्य विकासका लागी लागी खर्च गरिने छ उहाँले भन्नुभयो“ धार्मिक तथा पर्यटकिय क्षेत्रको कुनै पक्षवाट पहल नहँुदा हामी प्रवासमा रहेका युवा जुटेका हौं ”

पत्ताल भुमेश्वर क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटकिय हव बनाउन हामी जुटेका छौ उहाँले भन्नुभयो “रोजगारीको लागी प्रवासमा रहेको भएपनि आफ्नो गाउँठाउँको विकासका लागी तथा सामाजिक कार्य गर्न हाम्रो अनलाईन अभियान जारी रहनेछ ”

प्रतिक्रिया दिनुहोस्