राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक



काठमाडौं, (नेस)
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले कार्यतालिका स्वीकृति गरेको थियो।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको निर्वाचन २०७४ साल माघ २४ गते बुधबार गर्ने निर्णय गरेको थियो। सो निर्णय गृह मन्त्रालयमार्फत आयोगलाई सोही दिन जानकारी गराइएको थियो।
राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ६ को उपदफा (१) र (२) मा निर्वाचनको मिति तोकिएको सूचना प्रकाशित भएपछि आयोगले निर्वाचनको तयारी अघि बढाएको थियो। यस क्रममा आयोगले कार्यतालिका सार्वजनिक गरेको प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

कार्यतालिकाअनुसार आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्नेछ।

सोही दिन प्रकाशित नामावलीमा दाबी विरोधको समय दिएको छ। आयोगका अनुसार उजुरीउपर छानविन गर्दै माघ ७ गते मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ।

आयोग प्रवक्ता नवराज ढकालका अनुसार माघ १० गते उम्मेदवारको सूची प्रकाशन गरिनेछ। मनोनयनपत्र दर्ता भएको उम्मेदवारको मनोनयन सूची सोही दिन प्रकाशन गरिने आयोगले जनाएको छ।

त्यसैगरी उम्मेदवारको सूचीमाथि दाबी विरोधका लागि आयोगले माघ ११ र १२ गते तोकेको छ। उम्मेदवारको मनोनयनपत्र र उजुरी निवेदनमाथि जाँचबुझ गर्दै निर्णय माघ १३ गते गरिनेछ।
आयोगले त्यसको भोलिपल्ट अर्थात् माघ १४ गते मनोनयनका लागि उम्मेदवारी दिएका उम्मेद्वारको नामावली प्रकाशन गर्नेछ। आयोगले १ दिन माघ १५ गतेको समय नाम फिर्ताका लागि छुट्याएको छ। त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण माघ १५ गते गरिने भएको छ।

७ प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान गरिनेछ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख एवं प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ। यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा १ हजार ५ सय ६ जना तथा प्रदेशसभाका ५ सय ५० सदस्य गरी कूल २ हजार ५६ जना मतदाता रहेका छन्। प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ रहेको छ।

संविधानअनुसार, स्थानीय तह र प्रदेशसभा सदस्यबाट राष्ट्रियसभा सदस्यका लागि ५६ जना निर्वाचित हुने व्यवस्था छ। संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (क) बमोजिम निर्वाचित हुने सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलले दिएको मतका आधारमा एकल सङ्क्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट ८ जना निर्वाचित हुनेछन्।

निर्वाचित हुनेमा महिला ३ जना, दलित १ जना, अपा·ता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट १ जना र अन्य ३ जना निर्वाचित गर्नुपर्ने व्यवस्था रहेको छ। ५९ सदस्यीय राष्ट्रियसभाका लागि ५६ जना निर्वाचनबाट चुनिएर आउनेछन्। राष्ट्रपतिले ३ जना मनोनयन गर्ने संवैधानिक व्यवस्था छ। जसमा एक जना महिला अनिवार्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्