सडकमा तार भूमिगत योजना, सम्झौताको प्रतीक्षामा प्राधिकरण



मनोज रेग्मी, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले उपत्यकाका विद्युत् प्रसारणका तार जमिनमुनि बिछइउने (भूमिगत गर्ने) कार्य तीव्र बनाएको पाइएको छ। यस योजनाका सबै कार्यलाई अगाडि बढाउँदै सन् २०१८ मार्च अर्थात् अबको तीन महिनाभित्र ठेक्का सम्झौताको काम सक्ने योजना बनाएको विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो।

उहाँका अनुसार यस योजना एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा सम्पन्न गर्न लागिएको हो। अबको १५ देखि २० दिनभित्र एडीबीसँग आधिकारिक सम्झौता हुनेछ।

सुरक्षित र प्रभावकारी विद्युत् प्रसारण तथा ओभर हेड वितरण प्रणालीले शहर कुरूप र असुरक्षित बन्दै गएपछि प्राधिकरणले प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याएको हो। अहिलेको विद्युत् प्रणाली क्षमता अभिवृद्धि गर्नसमेत विद्युत् प्रसारण तारलाई भूमिगत गर्ने योजना ल्याइएको हो। अहिलेको विद्युत् आपूर्ति मागलाई तत्कालको ओभर हेड विद्युत् प्रसारण प्रणालीले थेग्न नसक्ने भएकाले तारहरूलाई भूमिगत गर्नुको कुनै विकल्प नरहेको अधिकारीले बताउनुभयो।

विद्युत् प्रसारणका तारहरूलाई भूमिगत गर्ने कार्य विभिन्न चरणमा सम्पन्न गरिने भएको छ। पहिलो चरणमा रत्नपार्कदेखि महाराजगन्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई भूमिगत गरिनेछ।
पहिलो चरणमा देखिएको सफलता र अनुभवको मूल्यांकनको आधारमा उपत्यकाका अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिनेछ।

यस्तै पहिलो चरणको सफल परीक्षणपछि नेपाल विद्युत् प्राधिकरणले दोस्रो चरणमा स्मार्ट मिटर पनि जडान गर्ने भएको छ। विद्युत् प्रसारणका ना·ो तारलाई इन्सुलेटेड केबलबाट प्रतिस्थापन गर्नुका साथै सब–स्टेसन टान्सफर्मरको समेत क्षमता अभिवृद्धि गरिनेछ। यो चरणमा ९० हजार ग्राहकको मिटर स्मार्ट मिटरबाट प्रतिस्थापन गरिने प्राधिकरणको योजना रहेको छ।

स्मार्ट मिटर प्रयोगमा आएपछि बिजुली चुहावट नियन्त्रण तथा एउटै कक्षबाट सम्पूर्ण स्मार्ट मिटर जडित ग्राहकको अनुगमन तथा नियन्त्रण गर्न सकिनेछ। भूमिगत प्रसारण सेवाले लाइनको सम्पूर्ण अवस्थिति पत्तासमेत लगाउनेछ। त्यति मात्रै नभई समयमा शुल्क नबुझाउनेलगायत ‘डिफल्ट’ ग्राहकको सेवा नियन्त्रण कक्षबाट नै बन्द गर्न सकिनेछ। स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत प्राधिकरणलाई उपलब्ध गराउनेछ, जसका आधारमा प्राधिकरणले उनीहरूलाई उचित कारबाही पनि गर्नेछ।
विद्युत्को पोलमा प्रसारणका लाइन मात्रै नभई अन्य तारहरू पनि जोडिएका हुन्छन्। त्यसैले भूमिगत हुने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गर्नुका साथै अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सीसमेत जडान गरिनेछ।

अहिले मेलम्ची खानेपानी योजनाले पानीको पाइप गाड्नका लागि खनिएको रत्नपार्क–महाराजगन्ज सडक क्षेत्रमा पिच भइसकेको अवस्था छ। प्राधिकरणको पहिलो चरणमा हुने भूमिगत कार्य त्यसै सडक खण्डमा शुरु हुने भनिएको छ।

त्यसैले तार भूमिगत गर्ने क्रममा सडक फेरि खन्नुपर्छ होला नि ? भन्ने प्रश्नमा अधिकारी भन्नुहुन्छ, ‘यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिनेछ। सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक खनिँदैन।’

यो योजना सम्पन्न भइसकेपछि उपत्यका पूर्ण रूपमा पोल र ताररहित हुनुका साथै हावाहुरी तथा विभिन्न दैवी प्रकोपको बेला विद्युत् आपूर्ति बन्द गर्नुपर्ने अवस्थाको अन्त्य हुने हुनाले थोरै अप्ठइरा उपत्यकका बासिन्दाले सहजै स्वीकार्ने विश्वास प्राधिकरणले राखेको छ।’

प्रतिक्रिया दिनुहोस्