मापदण्डविपरीत ग्यास उद्योग



मोतीराम तिमल्सिना, काभ्रे
नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीनवटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ। विभागले शुक्रबार ग्यास उद्योग अनुगमनपछि मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्न निर्देशन दिएको हो।

बनेपा–१० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग ‘सगर ग्यास’, सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योग ‘चण्डी ग्यास’को उत्पादन र बिक्रीवितरण गर्न रोक लगाइएको विभागका निर्देशक मनोजकुमार उपाध्यायले नेपाल समाचारपत्रलार्ई जानकारी दिनुभयो।

सरकारको गुणस्तर चिहरन एनएस र सरकारी मापदण्डलाई मिच्दै बिग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको भेटिएको छ। निर्देशक उपाध्यायले भन्नुभयो– ‘नेपाल गुणस्तर चिहरनसमेत छैन, कसरी सञ्चालन हुन्छन् र कसरी चल्छन्?’ तर नाप तौल विभाग नै व्यवसायीको चंगुलमा रहेको स्थानीयको गुनासो छ। सरकारले मापदण्ड विपरीत ग्यास उद्योगको अनुमति दिएसँगै सर्वसाधारण जोखिममा परेका छन्। गत वर्ष आएको ठूलो वर्षात्कै कारण उद्योगका सिलिन्डरहरू बगाउँदा दुई जनाको मृत्यु भएको थियो।

सञ्चालनमा रहेका ग्यास उद्योगको मापदण्ड नपुगेको बताइरहँदा पुनः उग्रचण्डी नालामा अर्काे ग्यास उद्योग सञ्चालनमा आएको छ। नेपाल आयल निगमको मापदण्डअनुसार एक ग्यास उद्योगदेखि दोस्रो उद्योगको न्यूनतम दूरी २ किलोमिटर हुनुपर्नेछ। जिल्लामा सञ्चालनमा आएको सगर, चण्डी र सूर्य ग्यासको पर्खालसमेत एउटै छ। चण्डी र सूर्यले त एउटै उद्योगबाट दुई उद्योगको काम गरिरहेका छन्।

सूर्य र चण्डेश्वरी ग्यास उद्योग एउटै कम्पाउन्डमा रहेका छन् भने सगर ग्यास उद्योगको दूरी पनि करिब १५ मिटरको दूरीमा छ। तीनवटै उद्योगले नक्कली कर्मचारी खडा गरी तलब चार्टसमेत तयार गरेको स्रोतले बतायो। कम्पनीको भ्याट बिल वितरकलाई दिई मूल्य अभिवृद्धि कर छली गरी आर्थिक अपराध गर्ने गरिएको कम्पनीका कर्मचारीले जानकारी दिएका छन्। कम तौलको ग्यास बिक्री गर्ने, वर्षाैं पुराना सिलिन्डरहरू पठाउने, नयाँ सिलिन्डरको अभावको मौका छोपी मनलाग्दी तरिकाले मूल्य असुल्ने र सिलिन्डरभित्र रहेको लेदो समेतलाई ग्यासकै भाउमा बिक्री गरी पठाउने गरिएको कर्मचारीले बताए।

सगर ग्यास उद्योगका सञ्चालक सावरमल अग्रवाल हुन्। यस्तै, सूर्य र चण्डेश्वरी ग्यास उद्योगका सञ्चालक विष्णुहरि कक्षपति हुन्। ‘एउटै व्यक्तिले दुई उद्योग अनुमति लिई सञ्चालन गरेकाले एउटै कम्पाउन्डभित्र राख्दासमेत निगम चुपचाप बसेको हो’, स्रोतले भन्यो– ‘यसमा आयल निगमका कर्मचारीको समेत मिलेमतो रहेछ।’

निगमको कम्पनी ऐनअनुसार ग्यास उद्योग परिसर वा कम्पाउन्डभित्र पूरै पिच (कालोपत्रे) वा ढलान गर्नुपर्ने प्रावधान छ। निगमको मापदण्डविपरीत यी कम्पनीले कम्पाउन्डभित्र आलु, तोरी, धान, गहुँजस्ता बालीहरू लगाउँदै आएका थिए।

ग्यास कम्पनीको लापरबाहीका कारण जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने स्थानीयले बताएका छन्। दुर्घटना भएमा उग्रतारा जनागाल, उग्रचण्डी, टुकुचा, नसिका साँगा र बनेपा नगरपालिकाका सर्वसाधारणहरू प्रभावित हुनेछन्।

नियम विपरीत स्थापित सगर ग्यास उद्योगले ४० टन उत्पादन क्षमता भएको उत्पादन क्षमता बढाएर २ सय टन बनाउन लागेको छ। उग्रतारा गाविसमा रहेको ग्यास उद्योगले क्षमता अभिवृद्धिका लागि उग्रचण्डी गाविसको जग्गा खरिद गरेको छ। तीनवटै ग्यास कम्पनी एकै ठाउँमा सञ्चालनमा आएकाले दुर्घटना हुन गएको स्थितिमा आसपासको क्षेत्र मात्रै नभई बनेपामा पनि ठूलो क्षति हुने स्थानीय बताउँछन्।

नेपाल आयल निगमको मापदण्डअनुसार एक ग्यास उद्योगदेखि दोस्रो उद्योगको न्यूनतम दूरी २ किलोमिटर हुनुपर्नेछ। जिल्लामा सञ्चालनमा आएको सगर, चण्डी र सूर्य ग्यासको पर्खालसमेत एउटै छ। चण्डी र सूर्यले त एउटै उद्योगबाट दुई उद्योगको काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्