यसरी हुन्छ गोरखा दरबारको पुनर्निर्माण



सन्तोष अधिकारी, गोरखा । भूकम्पले भत्काएको ऐतिहासिक गोरखा दरबार पुननिर्माण गर्नका लागि स्थानीय कामदारलाई नै तालीम दिइएको छ । पुरातत्व विभागले गोरखा दरबार हेरचाह अड्डा सँगको समन्वयमा आवश्यक तालीम दिई कामदारलाई दक्ष बनाउन लागेको हो । पुरातत्व विभागले ऐतिहासिक महत्व रहेका दरबार, भवनहरु ऐतिहासिक तबरबाटै बनाउनुपर्ने भन्दै त्यही ५४ जना गोरखालीहरुलाई तालिम दिएको गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जु सिंह भण्डारीले जानकारी दिइन् ।
गोरखाका ११ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी उनीहरुलाई १५ दिनको तालिम प्रदान गरिएको भण्डारीले जानकारी दिइन् । ‘गोरखा दरबारको ऐतिहासिकता बचाइराख्न कामदारलाई तालीम दिइएको हो’ उनले भनिन् ‘पुरानो खालको इट्टाको गाह्रो कसरी लगाउने, झिँगटीले कसरी छाना छाउने, कुना कसरी मिलाउने, भनेर तालीममा सिकाइएको छ ।’ विभिन्न क्षेत्र निर्धारण गरी तीन÷तीन जनाको समुहमा १५ दिने तालीम दिइएको हो । परम्परागत संरचनाहरु बनाउन भूकम्प अघि नै जनशक्ति अभाव भएको र भूकम्प पछि झन अभाव भएको उनको भनाई छ ।
गोरखा दरबार पुननिर्माणको लागि भत्काउन थालिएको र त्यहाँका ऐतिहासिक सामग्रीहरु सुरक्षित गरेर राखिएको भण्डारीले बताइन् । अहिले गोरखा दरबारको छाना र गाह्रो भत्काउने काम चलिरहेको छ । ‘भत्काउने काम सकिए लगत्तै मन्दिरको निर्माणको काम थाल्नु पर्ने र कामदार अभाव रहेकोले यसखाले काम गरिरहेकाहरुलाई नै थप दक्ष बनाउन तालीम दिइयो’ उनले भनिन् ।
अहिले परम्परागत संरचना बनाउन तालीम लिएकाहरुलाई देशभर जहाँ पनि पुरातत्व विभाग मार्फत लैजान सकिने भण्डारीले जानकारी दिइन् । ‘उहाँहरु पनि काममा पोख्त हुँदै हुनुहुन्छ’ उनले भनिन् ‘तालीम लिएजस्तो काम सधैँ उपयोग हुँदैन भन्दै कामदारहरुले चिन्ता पनि ब्यक्त गर्नुहुन्छ । हामीले उहाँहरुको सिपको प्रयोग गर्न देशका अन्य ऐतिहासिक ठाउँहरुमा पनि प्रयोग गर्न सक्ने वातावरण तयार गरेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्