संरक्षणको अभावले ‘आरन पेशा’ सङ्कटमा



प्रताप बानियाँ, म्याग्दी । परम्परागत सिप र प्रविधिको प्रयोगमा आधारित रहेर सञ्चालन हुँदै आएको बालीघरे प्रथा ‘आरन पेशा’ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ । पुरानै शैली र ढर्राका कारण आधुनिकतासँग प्रतिस्पर्धा गर्न नसक्दा आरन पेशा लोप हुने अवस्थामा पुगेको हो ।
संरक्षणको अभावका कारणले गर्दा विगत केही समयदेखि यता यो पेशा लोप हुने खतरामा पर्दै गएको छ । प्रविधिको विकास सँगसँगै बढ्दो आधुनिकताको प्रभावले च्याप्दै जान थालेपछि समाजमा बालीघरे प्रथाका रुपमा रहेको आरन पेशा सङ्कटमा पर्दै जान थालेको स्थानीयवासिन्दा बताउँछन् ।
विगतमा म्याग्दी जिल्लाको गाउँगाउँमा रहेको आरन हिँजोआज भने लोप हुने अवस्थामा पुगेका छन् । जिल्लाका कतिपय गाउँहरु आरन टोलका नामले समेत चिनिन्छन् । म्याग्दीको बेनी नगरपालिकासहित केही स्थानमा मात्रै सीमित मात्रामा आरन व्यवसाय चल्दै आएको छ । परम्परागत पेशाको रुपमा रहेको आरनको महत्व नबुझ्नु, नयाँ पुस्तामा सिप हस्तान्तरण हुन नसक्नु र वैदेशिक रोजगारीप्रतिको आकर्षणले आरन पेशाको अस्तित्व समाप्त हुने सम्भावना बढ्दै गएको देखिन्छ ।
खासगरी समाजमा बसोबास गर्दै आएका विश्वकर्मा समुदायको मुख्य पेशाको रुपमा चिनिएको आरन पेशा अहिले हराउँदै जान थालेको बुढापाकाको अनुभव छ । बढ्दो आधुनिकता, प्रविधिको विकास, समय परिवर्तन र संरक्षण नहुनु जस्ता कारणले आरन व्यवसाय नै सङ्कटमा परेको आरन व्यवसायीहरुको भनाई छ ।
आरनमा फलामको धातुबाट बन्ने सबै प्रकारका सामानहरु निर्माण गरिन्छ । घरेलु हातहतियारका साथै मानिसहरुले दैनिक रुपमा घरायसी प्रयोजनका लागि प्रयोग गर्ने सबै किसिमका सामानहरु आरनमा बन्ने गर्दछन् । नौमती पञ्चेबाजासहित मठमन्दिरमा आवश्यक पर्ने सामाग्रीहरु पनि आरनमा बनाउने गरिन्छ ।
आरन पेशा सञ्चालनका लागि मुख्य रुपमा गोलको आवश्यकता पर्ने गर्दछ । व्यवसायिक रुपमा आरन पेशा सञ्चालन गर्नेहरुले सामुदायिक वनजङ्गल तथा व्यक्तिगत रुपमा रुख तथा बुटा खरिद गरेर गोल बनाउने र त्यसको सहायतामा फलाम धातुबाट विभिन्न सामानहरु बनाउने गर्दछन् । पछिल्लो समय विद्युतको सहायताबाट फलामको सामानमा वल्डिङ गर्ने, प्वाल पार्ने, पुराना सामानलाई नयाँ बनाउने र मर्मत गर्ने प्रविधिको समेत विकास भएको छ ।
आफ्नो बाबुबाजेले गर्दै आएको पुख्र्यौली पेशा भए पनि यसलाई व्यावसायिक रुपमा रुपान्तरण गर्न नसक्नु, सरोकारवाला निकायको वेवास्ता र संरक्षणको अभावमा परम्परागत र पुख्र्यौली पेशाको अस्तित्व नै सङ्कटमा परेको आरन व्यवसायी ईन्द्रबहादुर विकले बताउनुभयो । कृषिप्रधान देशमा आरन पेशालाई विशेष जोड दिएर संरक्षणका लागि आवश्यक पहल गर्नुपर्ने उहाँको भनाई छ । आधुनिक प्रविधिको विकास सँगसँगै विदेशप्रतिको मोहका कारणले पनि मानिसले आरन पेशा गर्न छाडेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्