![](https://newsofnepal.com/wp-content/uploads/2017/12/under-construction-Rani-Pokhari.jpg)
ईश्वरराज ढकाल, काठमाडौं
राजधानीको ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिएको रानीपोखरी पुनर्निर्माणको विषयलाई लिएर अहिले चर्को बहस शुरू भएको छ।
२०७२ सालको भूकम्पले ध्वस्त भएको रानीपोखरी पुनर्निर्माणको क्रममा विवाद आएपछि केही समय बन्द भएर पुनः निर्माणको चरणमा पुगेको थियो। काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागबीच पुनर्निर्माण गर्ने सहमति भएपछि ठेकेदारले रानीपोखरी पुनर्निर्माणको कामलाई अगाडि बढाएपछि फेरि विवादले उग्ररूप लिएको छ।
ठेकेदार कम्पनीले रानीपोखरी पुनर्निर्माणमा सिमेन्टको प्रयोग गर्दै ऐतिहासिक स्थललाई व्यापारीकरण गर्न खोजेको भन्दै काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले निर्माणाधीन अवस्थामा रहेको रानीपोखरीको मूल गेटमा ताला लगाएपछि यसले उग्ररूप लिन पुगेको थियो। उपमेयर खड्गीले ताला लगाएको केहीबेरमै मेयर विद्यासुन्दर शाक्य दलबलसहित रानीपोखरी पुगेर ताला फुटाउन निर्देशन दिनुभएको थियो।
काठमाडौं महानगरपालिका २८ का वडाध्यक्षसहित रानीपोखरी पुग्नुभएकी खड्गीले मेयरले एकलौटी रूपमा काम गरेको भन्दै रानीपोखरीजस्तो ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा सबैको सल्लाहअनुसार गर्नुपर्ने जिकिर गर्नुभएको थियो। उपमेयर खड्गीले रानीपोखरीलाई कंक्रिटको पर्खाल लगाएर आर्टिफिसियल पोखरी बनाउन आफूले कुनै हालतमा नदिने र यसका लागि जहाँ जहाँ जानुपर्छ त्यहाँ जान तयार रहेको बताउनुभयो।
उपमेयर खड्गीले पुनर्निर्माणको काममा अवरोध पुर्याएपछि स्थानीयबासी र केही अभियन्ता जम्मा भएर विश्वज्योति हल अगाडिको गेटमा तालाबन्दी गरेका थिए। मूल गेटमा तालाबन्दी गरे पनि पुनर्निर्माण भने सुचारु रहेको थियो। उपमेयर खड्कीले तालाबन्दी गरेको खबर पाएपछि रानीपोखरी पुग्नुभएका मेयर शाक्यले ताला खोल्न आग्रह गर्दा गेटमा ताला लगाएर बसेका २८ वडाका अध्यक्ष भाइराम खड्गीले कुनै हालतमा ताला नखोल्ने अडान लिएपछि मेयर शाक्यले सुरक्षाकर्मीलाई ताला फोड्न निर्देशन दिनुभएको थियो।
केही बेरको भनाभनपछि ताला खोलिएको थियो। ताला खोलेपछि मेयरसहितको टोलीले पुनर्निर्माणको अवस्थाका बारेमा अवलोकनसमेत गरेको थियो।
स्थानीय निकाय निर्वाचन हुनुअघि नै ड्रइङ डिजाइन तयार गरेर पुरातत्त्व विभागले पुनर्निर्माणको जिम्मा ठेकेदार कम्पनीलाई दिएको थियो। रानीपोखरी पुनर्निर्माणका बारेमा विवाद उत्पन्न भएपछि मेयर शाक्यले अब पुनर्निर्माण गर्दा सबै सरोकारवाला निकायको सहमति लिएर अघि बढ्ने घोषणा गर्नुभएको छ।
अहिले जुन विवाद आएको छ यसको समाधान गरेर मात्रै काम अगाडि बढाउने मेयर शाक्यले बताइरहेका बेला पुरातत्त्व विभागले पनि महानगरपालिकालाई यस विषयमा छलफल गर्न बोलाउने तयारी गरेको छ।
पुरातत्त्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले पुनर्निर्माणका बारेमा छलफल गर्न महानगरपालिकालाई बोलाउने तयारी गरेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘पुनर्निर्माणको ड्रइङ डिजाइन मगाएका छौं। त्यसपछि छलफल गरेर मात्रै निर्णय गर्नेछौं।’ स्थानीय सुसन वैद्यले पुरातत्त्व विभागसँग सहमति नलिई रानीपोखरी पुनर्निर्माण गरे प्रतिवाद गर्नुको विकल्प नभएको बताउनुभयो।
पुरातात्त्विक सम्पदा पुनर्निर्माण गर्दा विभागले तय गरेको सामग्री प्रयोग गर्नुपर्नेमा अहिले कंक्रिटको पर्खाल लगाइएकोले त्यसलाई रोकेर ठेक्का सम्झौतमा उल्लेख भएको सामग्री प्रयोग गरेर निर्माण गर्नुपर्ने वैद्यले बताउनुभयो। सरोकारवाला र स्थानीयको चौतर्फी विरोध हुँदा पनि महानगरले रानीपोखरीमा कंक्रिट पर्खाल लगाउने कामलाई निरन्तरता दिएको छ।
केही महिना अघि कामपाले मापदण्डविपरीत रानीपोखरीको बीचमा रहेको वालगोपालेश्वर मन्दिर पुनर्निर्माणको तयारी ठेकेदार कम्पनीले गरेपछि हस्तक्षेप गरी कामपा आफैंले पुनर्निर्माण शुरु गरेको थियो।
वरिपरि सिमेन्टको वालसहित पोखरी तयारी भए लगत्तै मन्दिरबाहेकका अन्य स्थानमा सःशुल्क घुम्ने व्यवस्था गरी पुनर्निर्माण गर्ने घोषणा यस अघि नै महानगरले गरेको थियो।
राजधानीमा घुम्न जाने महत्त्वपूर्ण ठाउँको अभाव हटाउन महानगरपालिकाले रानीपोखरीलाई पार्कमा परिणत गर्न लागेको थियो। कामपाले पोखरीको संरक्षणका लागि चारैतिर रेलिङ निर्माण गर्ने, बोटबिरुवा रोप्ने, हरियालीसँगै संगीतमय फोहरा बनाउने र पोखरी अवलोकन गर्ने प्रयोजनका २ स्थानमा बाटो बनाउने तयारी गरेको थियो। कामपाले ६ करोड २९ लाखमा पुनर्निर्माण गर्ने ठेक्का दिएको थियो।
राजा प्रताप मल्लले आफ्नो माहिला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्यलाई शान्त पार्न सन १६६५मा निर्माण गरिएको रानी पोखरीको दक्षिण किनारमा हात्तीको मूर्तिमाथि आफू र आफ्ना दुई छोरा मोहिपतेन्द्र र चक्रवर्तेन्द्रको स बनाउन लगाउनुभएको थियो। सो पोखरी ६२ रोपनी १३ आना क्षेत्रफलमा छ। विसं. १९९० को भूकम्पमा मन्दिरको गजुर भत्केपछि जुद्ध शमशेरले रानीपोखरी मन्दिरलाई अहिलेको स्वरूप पुनर्निर्माण गर्नुभएको थियो।