विमानस्थलमा भीआईपी सुविधा कटौती



टीका बन्धन, काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशी विशिष्ट अधिकारीलाई विमानस्थलमा नेपालले प्रदान गर्ने विशिष्ट (भीआईपी) कक्ष र कक्षमा उपलब्ध गराइने सुविधा कटौती गरेको छ।

मन्त्रीभन्दा तल्लो तहका विशिष्ट कर्मचारीलाई भीआईपी कक्ष प्रयोगको सुविधा नेपालले हटाएको हो। अन्तर्राष्ट्रिय कूटनीतिक प्रचलनलाई ख्याल गर्दै संयुक्त राष्ट्र संघका नेपालस्थित आवासीय प्रतिनिधिबाहेक मन्त्रीभन्दा तल्लो तहका अन्य विदेशी अधिकारीलाई त्यस्तो सुविधा कटौती गरिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए।

‘विदेशमा नेपाली अधिकारीलाई जस्तो सुविधा उपलब्ध गराइन्छ, त्यहीअनुसारको कूटनीतिक आतिथ्यता नेपालले पनि प्रदान गर्नुपर्छ, सोहीअनुसारको प्रक्रिया अघि बढाइएको हो।’ –ती अधिकारीले भने। परराष्ट्रको शिष्टाचार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई विशिष्ट अतिथि आउने फ्लाइट, मिति, समय, अतिथि संख्या औपचारिक रूपमा जानकारी गराएपछि सो कार्यालयले अतिथिको स्वागत र तयारी अघि बढाउने गर्छ।

स्वदेशी⁄विदेशी राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूले भने विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग गर्दै आएका छन्। मन्त्री, मन्त्रीस्तरका व्यक्तिले विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्छन्। परराष्ट्र मन्त्रालयको पूर्वस्वीकृति लिएर कुनै पनि मुलुकका विशिष्ट अधिकारीले सर्वसाधारणले प्रयोग गर्नेबाहेकको विशिष्ट कक्ष प्रयोग गर्ने गर्छन्। भीआईपी कक्षमा स्वागत र सहयोगका लागि खटिने जनशक्ति, चिया, कफी, अन्य पेयसहित केही समय आराम गर्ने सुविधा लिने गर्छन्।

राजनीतिक पहुँचका आधारमा मन्त्रीभन्दा तल्लो तहका विशिष्ट कर्मचारीले निर्धक्क भीआईपी कक्षको सुविधा लिने गरेकाले सो कक्षको गरिमा र मर्यादा खस्किएको विगतमा पनि पटक–पटक चर्चामा आएको थियो। त्यस्तो सुविधालाई कडाइ गरिएको खण्डमा मात्र नेपालको कूटनीतिक उचाइ बढ्ने कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। अन्य मुलुकहरूमा राष्ट्र संघका आवासीय प्रतिनिधिलाई समेत त्यस्तो सुविधा नभएको बताइन्छ।

कुनै पनि मुलुकका राजदूत नियुक्त भएर पहिलो पटक नेपाल आएको खण्डमा भने त्रिभुवन विमानस्थलले भीआईपीको सुविधा प्रदान गर्छ।

परराष्ट्रले विशिष्ट श्रेणीका अधिकारीहरूको सेवा कटौती शुरु भइसकेको जनाएपनि सो मन्त्रालयले अहिलेसम्म औपचारिक खवर नपठाएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। ‘अहिलेसम्म हामीलाई त्यस्तो औपचारिक खवर आएको छैन, सो कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले भन्नुभयो–‘मन्त्रालयले जस्तो खवर गर्छ त्यहि अनुसारको कार्वाही अघि बढाउँछौ।’

दुई छिमेकी मुलुक र नेपालका ठूला दात्तृ मुलुकका विशिष्ट कर्मचारी नेपाल आएको खण्डमा पनि भीआईपी कक्षको सुविधा लिने गर्छन्। कतिपय अवस्थामा पूर्व मन्त्री र मन्त्री स्तरको पृष्ठभूमिका व्यक्तिले पनि सोही किसिमको सुविधा लिने गर्छन्। यस्तै कारणले गर्दा भीआइपी कक्षको गरिमा खस्किने गरेको चर्चा हुने गर्छ। त्यस्ता व्यक्ति के कस्तो प्रयोजनका लागि नेपाल आउन लागेका हुन् सो अनुसार नेपालले आतिथ्यता प्रदान गर्नुपर्ने कतिपयको तर्क छ।

भीआईपीको बदलामा सीआईपी
त्रिभुवन विमानस्थल हुँदै नेपाल आउने वा बाहिरिने सरकारी अधिकारीबाहेककाले सीआईपी कक्ष प्रयोग गर्न सक्ने प्रावधान छ। औद्योगिक प्रतिष्ठानका विशिष्ट अधिकारी, ख्याति प्राप्त कलाकारलगायतले पूर्व जानकारीसहित ५ सय रुपियाँ शुल्क तिरेपछि त्यस्तो कक्ष प्रयोग गर्न सक्ने विमानस्थलका प्रवक्ता ठाकुरले जानकारी दिनुभयो। ‘केही वर्ष अघिदेखि अन्य क्षेत्रका कमर्सियल इम्पोर्टेन्ट पर्सनका लागि विमानस्थलमा भीआईपीसरहको सीआईपी कक्ष उपलब्ध छ, तर भीआईपी कक्षजस्तो यो कक्ष नियमित प्रयोगमा छैन।’ –उहाँले भन्नुभयो।
त्यस्तो कक्षको सुविधा विगत ४ वर्षदेखि एक निजी कम्पनीले सम्हाल्दै आएको छ। निजी कम्पनीसँगको पूर्व सम्झौताअनुसारको सम्झौता अवधि सकिएकाले सरकार आफैले सो सेवा सम्हाल्न चाहेको बताइएको छ। तर कम्पनीले सेवा निरन्तरताको दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्