एमाले–माओवादी पार्टी एकता, माओवादी केन्द्रभित्र विवाद



केन्द्रभित्र विवाद
मधुसूदन रायमाझी, काठमाडौं

नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न केही नेताले दबाब दिएका छन्। माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ।

तर पार्टीभित्रै एमालेसँग पार्टी एकता गर्न नहुने भन्दै नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमार्फत जनताले वाम गठबन्धनलाई अनुमोदन गरेकाले पार्टी एकीकरणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ।

दुई पार्टी एकीकरणका लागि यसअघि नै दुई पार्टीका शीर्ष नेता सहभागी एकता संयोजक समितिको गठन भइसकेको छ। पार्टी एकीकरणका लागि नेकपा एमालेका नेताहरूको अभिव्यक्तिलाई आधार बनाउँदै माओवादी केन्द्रका नेताहरूले अपमानित भएर पार्टी एकता गर्न नहुने दबाब नेतृत्वलाई दिँदै आएका छन्।

पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेका बेला माओवादी केन्द्रका नेता विश्वभक्त दुलाल आहुति, गोपाल किरातीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेका छन्। चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी र एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की दिएका थिए। तर प्रचण्डको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन्।

चुनावी तालमेलप्रति असहमति नरहे पनि नेताहरूले हतारमा पार्टी एकीकरण गर्न नहुने पक्षमा नेतृत्वलाई दबाब दिएका छन्।

नेकपा माओवादी केन्द्रका नेता मणि थापा अहिलेको आवश्यकता दुई पार्टीबीचको एकता नै भएको बताउनुहुन्छ। उहाँले भन्नुभयो– ‘पार्टी एकताका लागि केन्द्रदेखि गाउँ तहसम्म नै सकारात्मक सन्देश प्रवाह भएको छ, जनताको जनमतको सम्मान गर्दै अब पार्टी एकीकरण गर्नुको विकल्प छैन।’ विश्वभक्त दुलाल ‘आहुति’, गोपाल किरातीलगायतका नेताहरूले भने एकीकरण प्रक्रियामा नगई पार्टी पुनर्गठन गर्ने गृहकार्य थालेको बताइएको छ।

किरातीले माओवाद र पहिचानको मुद्दा छोडेर एमालेमा समाहित हुन नसकिने बताउँदै पहिचानको मुद्दामा एमाले सबैभन्दा विरोधी भएको बताउँदै आउनुभएको छ। किरातीले सोमबार पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकसमेत बहिष्कार गर्नुभएको थियो।

नेता विश्वभक्त दुलाल ‘आहुति’ले निश्चित दर्शन, विचारधारा, कार्यदिशा, कार्यनीति र संस्कृतिको आधारमा कम्युनिस्ट पार्टी निर्माण हुने भएकाले हतारोमा पार्टी एकीकरण हुन नसक्ने बताउनुहुन्छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी एकीकरणको विषयमा पार्टीभित्र औपचारिक रूपमा केही छलफल भएको छैन, पार्टी एकीकरणका लागि वैचारिक बहस नै भएको छैन, बीस वर्षदेखि एकले अर्कोलाई लगाएको आरोपको बारेमा केही छलफल नै नगरी दुई⁄चार जना नेताले मात्र पार्टी एकताको कुरा गर्दा ठीक हुँदैन।’ वामपन्थी मिलेर सरकार गठन गर्दा कुनै आपत्ति नभएको बताउँदै पार्टी एकताका लागि वैचारिक छलफल गर्न पनि नपाउने विषय हुन नसक्ने बताउनुभयो।

‘लेबी तिरेर पनि कार्यकर्ताले पार्टी एकताका बारेमा बहस नै गर्न नपाउने हुन्छ?’, उहाँले भन्नुभयो– ‘पार्टी निर्माणका लागि बलिदानी दिएका छन्, समय खर्चिएका छन्, के कार्यकर्ता बहसका लागि अंशियार पनि हुँदैनन् र?’

प्रतिक्रिया दिनुहोस्