वनमाराबाट तयार हुन्छ अगरबत्ती

282
Shares

टीका बन्धन, काठमाडौं

शुभ कार्य, मठमन्दिर र घरघरमा गरिने पूजापाठका लागि धूपको प्रयोग अनिवार्य हुने गर्छ। धूपको मुख्य कच्चा पदार्थ भने मुलुककै वनपाखामा फैलिने मिचाहा प्रजातिका झाडी, बुट्यान र वनमारा हुन्।

मुलुकका अधिकांश अगरबत्ती उद्योगले मिचाहा प्रजातिका झार र बुटइनलाई प्रशोधन गरेर तयार गरिएको ‘चारकोल’लाई मुख्य कच्चा पदार्थका रूपमा प्रयोग गर्दै आएका छन्। विगतमा भारतीय कच्चा पदार्थमा निर्भर रहेका नेपाली अगरबत्ती उद्योगले केही वर्षयता स्वदेशी कच्चा पदार्थलाई प्राथमिकता दिएका छन्। प्रायः मुलुकका ठूला धूप उद्योग वीरगन्ज केन्द्रित छन्, अन्य केही ठूला उद्योग हेटौंडा, सिमरा र भैरहवामा समेत सञ्चालनमा छन््।

वीरगन्जका हिमाल, नारायणी, सावित्री, बालाजी, श्रीजस्ता ठूला धूप उद्योगले बारा र मकवानपुरका सामुदायिक वनमा उत्पादित चारकोल प्रयोग गर्न थालेका छन्। गुणस्तर तुलनात्मकरूपमा राम्रो रहेको र भन्सार शुल्कसमेत नलाग्ने भएपछि मुलुकका व्यवसायी नेपाली चारकोलप्रति आकर्षित बनेका वीरगन्जको हिमाल धूप उद्योगका सञ्चालक प्रकाश खेतानले बताउनुभयो। ‘अहिले नेपालका धेरै धूप उद्योगले नेपालकै कच्चा पदार्थ प्रयोग गर्न थालेका छन्’, उहाँले भन्नुभयो– ‘जंगलमा फैलिएको मिचाहा प्रजातिका झार बुटइन उद्योगको मुख्य कच्चा पदार्थ भएको छ, धेरै स्थानीयले रोजगारसमेत पाएका छन्।’

३ वर्ष अघिसम्म करिब ६० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात गर्दै आएका अधिकांश नेपाली व्यवसायी अहिले भने मुलुककै चारकोलमा निर्भर भइसकेका खेतानको दाबी छ। मुलुकमा अहिले ५ दर्जनका हाराहारीमा ठूला र मझइैला धूप उद्योग नियमित सञ्चालनमा रहेको उहाँको अनुमान छ। अन्यत्रका सामुदायिक र राष्ट्रिय वनमा समेत चारकोल उत्पादन अभ्यास अघि बढाइएको खण्डमा स्वदेशी उद्योग सबल र सक्षम बन्ने खेतानको भनाइ छ।

बाराको कुशल सप्लायर्सले ठूला अगरबत्ती उद्योगलाई चारकोल निर्यात गर्दै आएको छ। ‘बारा र मकवानपुरका विभिन्न ४३ वटा सामुदायिक वनबाट मात्रै विगत ३ वर्षमा ३ हजार ४ सय ६५ मेट्रिकटन चारकोल उत्पादन भएको छ, यहाँको चारकोलको ठूलो हिस्सा धूप उद्योगमा खपत हुँदै आएको छ।’ –सो सप्लायर्सका कार्यकारी निर्देशक सरोज कोइरालाले भन्नुभयो। हेटौंडाको प्रभात एन्ड सन्स धूप उद्योगले पनि बारा र मकवानपुरकै चारकोल प्रयोगमा ल्याएको उहाँले बताउनुभयो।

व्यवसायीहरूका अनुसार धुपलाई सुगन्धित, कसिलो र बलियो बनाउन प्रयोग हुने ‘जिकेट पाउडर’ भारतबाट नेपाल आयात हुन्छ। त्यस्तो पाउडर बनाउन प्रयोग हुने काउलोको बोक्रा अवैध ढंगले भारत पुर्याएर वैधानिक बाटोबाट फेरि नेपाल भित्रिने गरेको उनीहरू बताउँछन्। त्यस्तो अवैधकार्य रोकथामका लागि सरकारले गम्भीर कदम चाल्नुपर्ने व्यवसायी खेतानले बताउनुभयो।

जानकारहरूका अनुसार ठूलो मात्रामा तयारी धुप र धुपमा प्रयोग हुने सिन्का र अन्य पदार्थ भियतनाम र केही मात्रामा भारतबाट नेपाल भित्रिन्छ र नेपाली उत्पादन झल्काउने गरी ‘ब्रान्डिङ’ गरिन्छ। तयारी धुप र यसका लागि प्रयोग हुने कच्चा पदार्थको भन्सार कोड ‘एसएच ३३०७४१००’ तोकिएको छ। तर भन्सार शुल्क व्यावहारिकरूपमा तय नगरिएकाले नेपाली व्यवसायीमाथि विभेद भएको उद्योग सञ्चालकहरूको तर्क छ।

नेपालबाट भारत निर्यात हुने धुपको कच्चा पदार्थलाई १० प्रतिशत र भारतबाट नेपाल आयात हुने तयारी धुपलाई समेत सोही दरको भन्सार शुल्क तोकिनु व्यावहारिक नभएको वीरगञ्जका अर्का एक व्यवसायीले बताए। ‘अगरबत्तीमा प्रयोग हुने कागजको प्याकेट आयात गर्दा १५ र धुप प्याक गर्ने प्लास्टिकमा ३० प्रतिशत भन्सार शुल्क तोकिएको छ’, उनले भने– ‘त्यति मात्र होइन, नेपाली व्यवसायीलाई प्रत्यक्ष मारमा पार्ने गरी तयारी धुप १० प्रतिशत भन्सार शुल्कका साथ नेपाल भित्रिन्छ।’