कांग्रेस शीर्ष नेता पराजित हुनुको कारण “कमजोरी र अन्तरघात”



रामकृष्ण चापागाईं, काठमाडौं

हालै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका धेरै शीर्ष र चर्चित नेताहरूले पराजय भोग्नुपरेको छ। निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस दोस्रो ठूलो दलको रूपमा स्थापित भए पनि पार्टीको आन्तरिक सर्वेक्षणमा विजय उन्मुख देखिएको नेताहरूको पराजयसँगै राष्ट्रिय राजनीति र प्रतिपक्षको भूमिकामा समेत कांग्रेस कमजोर भएको अनुमान गरिएको छ।
कांग्रेसले चुनाव जित्ने लिस्टमा राखेका नेताहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधी, अर्जुननरसिंह केसी, डा. रामशरण महत, महेश आचार्य, डा. प्रकाशशरण महत, बलबहादुर केसी, पूर्णबहादुर खड्का, नवीन्द्रराज जोशी, रामहरि खतिवडा, मोहनबहादुर बस्नेतलगायत चर्चित नेताहरू हालै सम्पन्न निर्वाचनमा पराजित भएपछि कांग्रेस प्रतिपक्षको भूमिकामा पनि कमजोर भएको अनुमान गरिएको छ।

पार्टीको आन्तरिक रिपोर्टमा जित्ने अनुमान गरिएका नेताहरूको पराजय भएपछि निर्वाचन हार्नुको विषय खोजी भइरहेको बताइएको छ। आन्तरिक कमजोरीका कारण स्थानीय निर्वाचनमा अनपेक्षित हार बेहोरेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने आन्तरिक रूपमा एकजुट भएरै निर्वाचनमा होमिएको थियो। प्रमुख वाम घटक दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने उद्देश्यका साथ चुनावी तालमेल गरी निर्वाचनमा होमिएपछि कांग्रेसले अहिलेसम्मकै ठूलो संकट आइपरेको भन्दै संघीय संसद्को निर्वाचनमा होमिएको थियो। कांग्रेसले यो निर्वाचनमा नयाँ शक्ति, राप्रपा, राप्रपा (प्रजातान्त्रिक)लगायत साना दलसँग सहकार्य गरे पनि अपेक्षित नतिजा निकाल्न भने सकेन।

निर्वाचन जित्ने अनुमान गरिएका नेताहरूले निर्वाचनमा पराजित भएपछि चुनाव हार्नुको कारणबारे फरक–फरक प्रतिक्रिया दिएका छन्। निर्वाचनमा पराजित भएका चर्चित नेताहरूको एउटै प्रतिक्रिया रहेको छ, आन्तरिक कमजोरीले चुनाव हारियो। अहिलेसम्म लगातार चुनाव जित्दै आउनुभएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नं १ बाट एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग पराजित हुनुभयो। मतदातालाई धन्यवाद दिन तनहुँमा रहनुभएका नेता पौडेलले हारबाट आफू विचलित नभएको भन्दै निर्वाचनमा पराजय भोग्नुपरेको बारेमा आन्तरिक समीक्षा हुने बताउनुभएको छ। नेता पौडेलले निर्वाचनको समीक्षा गर्दै कमीकमजोरी सच्चाएर कांग्रेस अघि बढ्ने दाबी गर्नुभयो। धनुषा ३ मा अर्का नेता विमलेन्द्र निधी पनि राजपाका नेता राजेन्द्र महतोसँग फराकिलो मतान्तरले पराजित हुनुभएको छ। झापामा कृष्णप्रसाद सिटौला राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको छ। सिटौलालाई समानुपातिकमा बस्न र झापा ३ मा लिङ्देनलाई छोड्न गरिएको प्रयास असफल भएसँगै झापाको अन्य क्षेत्रमा समेत कांग्रेसले हार बेोहोर्नुपरेको छ। चर्चित युवा नेता विश्वप्रकाश शर्मा समेत पराजित हुनुभएको छ।

निर्वाचनमा पराजय भोगेपछि नेता सिटौलाले प्रतिक्रिया दिँदै भन्नुभएको छ– ‘हाम्रो नीतिगत, रणनीतिगत र व्यावहारिक कमीकमजोरीको कारण निर्वाचनमा पराजय भोग्नुपर्यो। उम्मेदवार छनोट प्रक्रियामा कमजोरी हुँदा थेरै ठाउँमा पराजय भोग्नुपर्यो।’

स्याङ्जा क्षेत्र नं २ बाट निर्वाचनमा पराजित भएका अर्का नेता गोपालमान श्रेष्ठले भने अन्तर्घातको कारण आफूले निर्वाचन हारेको प्रतिक्रिया दिनुभएको छ। ‘मलाई कांग्रेसकै एउटा समूहले निर्वाचन हराएका हुन्’, नेपाल समाचारपत्रसँग कुरा गर्दै नेता श्रेष्ठले भन्नुभयो– ‘कांग्रेसको उन्नति र प्रगति नचाहने एकथरी कांग्रेसको कारण मैले निर्वाचन हारें।’ केन्द्रीय समितिको बैठकमा यसको समीक्षा हुने उहाँको भनाइ थियो।

थोरै मतान्तरले पराजित हुनुभएका अर्का नेता डा. शेखर कोइरालाले निर्वाचन हार्नुको कारणबारे प्रतिक्रिया दिँदै भन्नुभयो– ‘पार्टीभित्रको आन्तरिक द्वन्द्व, प्रदेशसभाको उम्मेदवार छनोटमा कमजोरी र फोरम लोकतान्त्रिकसँगको पार्टी एकताको अपेक्षा पूरा भएन।’ उहाँले निर्वाचनको समीक्षा गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन आह्वान गर्नुभएको छ।

कांग्रेसले काठमाडौंमा आशा गरेको क्षेत्रमध्ये क्षेत्र नम्बर ८ मा नवीन्द्रराज जोशी पनि हुनुहुन्थ्यो। यसअघि लगातार निर्वाचन जित्दै आउनुभएका जोशीलाई एमालेका जीवनराम श्रेष्ठले पराजित गर्नुभएको थियो। काठमाडौं क्षेत्र नम्बर ३ मा अम्बिका बस्नेतलाई पनि कांग्रेसले जित्ने लिस्टमा राखेको थियो। उहाँलाई पनि एमालेका कृष्णबहादुर राईले पराजित गर्नुभयो। कांग्रेसले चुनाव जित्ने लिस्टमा मोरङ ४ का महेश आचार्य र सोलुखुम्बुका बलबहादुर केसीको नाम पनि थियो। यी दुवै नेताले हारेका छन्। कांग्रेस नेता आचार्य कांग्रेस घोषणापत्र मस्यौदा समितिका संयोजक पनि हुनुहुन्थ्यो। नीति निर्माणमा पोख्त आचार्यको पराजयले कांग्रेसलाई ठूलो नोक्सान पुगेको बताइएको छ।

मत परिणामलगत्तै आन्तरिक समीक्षाका साथ अब कसरी अघि बढ्ने भन्ने बारेमा कांग्रेसले रणनीति बनाउने बताइएको छ। साथै, तत्काल समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउनुपर्ने माग तीव्ररूपमा उठे पनि तत्कालै बैठक बस्ने अवस्था देखिँदैन।

एक नेताका अनुसार अझै एक साताअघि केन्द्रीय समिति बैठक बस्ने सम्भावना छैन। निर्वाचनमा पराजय भोगेसँगै कांग्रेस नेतृत्वको कमजोरीका साथै निर्वाचनमा वाम गठबन्धनको सामना गर्न आन्तरिक तयारी नपुगेको, भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णरूपमा परिचालन गर्न नसकेको जस्ता आवाजहरू उठिरहेका छन्। यस बारेमा मतगणनाको रिजल्ट आएपछि समीक्षा गरिने कांग्रेसका एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रलाई जानकारी दिए।

निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि कांग्रेस नेतृत्वको आलोचना भइरहेको छ। कतिपय नेताहरूले भने हारको जिम्मेवारी सबैले लिनुपर्ने प्रतिक्रिया दिइरहेका छन्। ‘नेतृत्व भनेको सभापति एक जना मात्र हैन, सिंगो केन्द्रीय कार्य समिति हो’, कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी भन्नुहुन्छ– ‘हारको जिम्मेवारी सबैले लिनुपर्छ र अत्यन्त सूक्ष्म तरिकाले हारको समीक्षा गर्दै कमीकमजोरी सुधार्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्