हारपछि कांग्रेसभित्र विभिन्न प्रतिक्रिया, “नेतृत्वको आलोचना गरेर मात्र हुँदैन ”



नेपाल समाचारपत्र
काठमाडौं
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेपाली कांग्रेसभित्र नेतृत्वको चर्को आलोचना भइरहेको छ। नेतृत्वको कमजोरीका कारण निर्वाचनमा हार बेहोर्नुपरेको भन्दै केही केन्द्रीय नेताहरूले सभापति देउवाको आलोचना गरिरहेका बेला कांग्रेसका शीर्ष नेताहरूले भने नेतृत्वको आलोचना गरेर मात्र समस्याको समाधान नहुने बताएका छन्।

केन्द्रदेखि वडा तहसम्म निर्वाचन हार्नुको समीक्षा गर्दै कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा सबै नेताहरू एकमत देखिए पनि नेतृत्वको आलोचना गर्नेमा भने कांग्रेस नेताहरू विभाजित भएका छन्। कांग्रेस नेता गगन थापा, धनराज गुरुङलगायतले विशेष महाधिवेशन बोलाउन र कांग्रेस सभापतिले राजीनामा दिनुपर्ने माग गरिरहेका छन् भने डा. शेखर कोइरालाले तत्काल महासमिति बैठक बोलाएर निर्वाचनको समीक्षा गर्नुपर्ने र महासमितिको निर्णयअनुसार अघि बढ्नुपर्ने बताइरहेका छन्।

चुनाव हारेपछि नेतृत्वको आलोचना गर्दै विभिन्न प्रतिक्रिया आएपछि बुधबार कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले नेतृत्वको राजीनामाले मात्र समस्याको समाधान नहुने बताउनुभएको छ। ‘निर्वाचनको समीक्षा गरी हार बेहोर्नुपर्ने कारण पत्ता लगाएपछि मात्र अन्य कुरा गर्नुपर्छ।’ –महामन्त्री कोइरालाको भनाइ थियो। कांग्रेसको संगठन चुस्त दुरुस्त नहुनु हारको एक कारण भएको औंल्याउँदै उहाँले कांग्रेसभित्र गुटको अन्त्य गर्नुपर्ने पनि बताउनुभएको थियो।

‘केन्द्रदेखि गाउँ तथा वडा तहसम्म हारको समीक्षा हुनुपर्छ’, कांग्रेसले चुनाव हारेपछि केन्द्रीय सदस्य डा. शेखर कोइराला भन्नुहुन्छ– ‘तत्काल केन्द्रीय समिति बैठक बसेर महासमिति बैठक आह्वान गर्नुपर्छ।’ महासमिति बैठकको निर्णयअनुसार अघि बढ्नुपर्ने धारणा राख्दै उहाँले अब कांग्रेसको संगठन सुदृढ गरी अघि बढाउनुपर्ने बताउनुभयो। ‘नेतृत्व भनेको सभापति एक जना मात्र होइन, सिंगो केन्द्रीय कार्यसमिति हो’, कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी भन्नुहुन्छ– ‘हारको जिम्मेवारी सबैले लिनुपर्छ र अत्यन्त सूक्ष्म तरिकाले हारको समीक्षा गर्दै कमीकमजोरी सुधार्नुपर्छ।’

निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि कांग्रेस नेताहरूले नेतृत्वको आलोचना गर्दै दिएको टिप्पणीलाई निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले असान्दर्भिक प्रतिक्रिया भन्दै निर्वाचनमा हारको जिम्मेवारी सबै नेताले लिनुपर्ने बताउनुभएको छ। नेतृत्व परिवर्तनको कुरा उठाइरहेका गगन थापालाई नेता खाँणले प्रचार समितिको संयोजकको जिम्मेवारीमा रहेकोले थापाले पनि हारको जिम्मेवारी लिनुपर्ने बताउनुभएको थियो। नेतृत्वको आलोचना गरेर मात्र नहुने भन्दै समीक्षा गर्दै कमीकमजोरी सच्चाएर अघि बढ्नुपर्ने नेता खाँण बताउनुहुन्छ।
नेता धनराज गुरुङ नेतृत्वले टिकट वितरणमा राम्रोलाई भन्दा पनि हाम्रोलाई प्राथमिकता दिएको मात्र होइन राष्ट्रिय मुद्दाहरूमा सही निर्णय लिन नसक्नुले पनि कांग्रेसले अनपेक्षित हार बेहोर्नुपरेको बताउनुहुन्छ। प्रधानन्यायाधीशमाथिको महाअभयोग, आईजीपी प्रकरण जस्ता मुद्दामा नेतृत्वले गम्भीर गल्ती गरेकाले पनि जनताले मत नदिएको उहाँको भनाइ थियो। नेपाली कांग्रेस केन्द्रदेखि गाउँसम्म पुनर्गठन नगरे पार्टी नै नरहने स्थितिमा पुगेको नेता गुरुङको बताउनुहुन्छ।

कांग्रेसले निर्वाचन हार्नुका कारणमा प्रमुख वाम घटक दलहरू एक भएर चुनावी मैदानमा होमिनु, आफ्नो संगठन चुस्त दुरुस्त नहुनु तथा विगतमा कांग्रेसले अलोकप्रिय निर्णयहरू गर्नु रहेको बताइँदै आएको छ।

तत्कालीन प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउनु, प्रहरी प्रमुख नियुक्तिमा अनावश्यक अडान राख्नु तथा तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउँदा स्पष्ट अडान नलिनुजस्ता विषय पनि हारको कारण बनेको चर्चा चलिरहेको छ। साथै नाकाबन्दीका बेला कांग्रेसले स्पष्ट दृष्टिकोण नराखेको कारणले पनि मतदाता कांग्रेसप्रति आकर्षित हुन नसकेको बताइएको छ। साथै, निर्वाचनमा नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघलगायतका भ्रातृ संघसंस्थाहरूलाई परिचालन गर्न नसक्नु पनि हारको एउटा कारण औंल्याइएको छ।

कांग्रेसभित्र निर्वाचनमा हार बेहोरेपछि तत्काल समीक्षा गर्न केन्द्रीय समिति बैठक बस्नुपर्ने माग भइरहे पनि तत्काल केन्द्रीय समिति बैठक बस्ने संकेत छैन। कांग्रेसका शीर्ष नेताहरू राजधानीबाहिर भएको र समानुपातिकसहित निर्वाचनको सम्पूर्ण मतपरिणाम आइनसकेका कारणले पनि तत्काल केन्द्रीय समिति बैठक बस्ने सम्भावना नरहेको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको छ।

गुट उपगुटका कारण स्थानीय निर्वाचनमा अनपेक्षित हार बेहोरेको कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने आन्तरिक रूपमा एकजुट भएरै निर्वाचनमा होमिएको थियो। प्रमुख वाम घटक दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने उद्देश्यका साथ चुनावी तालमेल गरी निर्वाचनमा होमिएपछि कांग्रेसले अहिलेसम्मकै ठूलो संकट आइपरेको महसुस गरी निर्वाचनमा होमिएको थियो। कांग्रेसले यो निर्वाचनमा नयाँ शक्ति, राप्रपा, राप्रपा (प्रजातान्त्रिक)लगायत साना दलहरूसँग सहकार्य गरे पनि अपेक्षित नतिजा निकाल्न भने सकेन।

प्रतिक्रिया दिनुहोस्