‘डबल ह्याट्रिक’ मा देउवा र गच्छदार मात्रै



टीका बन्धन, काठमाडौं
अवश्य पनि निर्वाचनमा उम्मेदवार भएपछि जित्ने दाबी धेरैले गर्छन्, त्यहीअनुसारको दौडधुप पनि गर्छन् तर सफलता कोही एकले मात्रै पाउँछ। लोकतन्त्रको यथार्थ यही हो।

पटक–पटकको चुनावी दौडमा निरन्तरको सफलता भने बिरलैले मात्र पाउँछन्। ‘डबल ह्याट्रिक’ गर्ने दुर्लभ अवसर यसपटकको निर्वाचनमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र सोही दलका नेता विजयकुमार गच्छदारलाई मात्र प्राप्त भएको छ। २०४८ यताका हरेक निर्वाचनमा निरन्तर सफलता पाउनेहरूमा उहाँहरू मात्रै हुनुहुन्छ।

२०४८, २०५१, २०५६, २०६४, २०७० र यसपटकको चुनावी परीक्षामा समेत देउवा र गच्छदार फेल हुनु परेन। पार्टीले अहिलेको चुनावमा लज्जास्पद हार बेहोरिरहेका बेला राष्ट्रिय राजनीतिका चर्चित पात्र उहाँहरूले भने ‘व्यक्तिगत राजनीतिक स्कोर’ बढाइरहनुभएको छ। ‘देउवा नै डडेल्धुरा, डडेल्धुरा नै देउवा’ भन्ने कुनै बेलाको राजनीतिक व्यङ्ग्यलाई व्यवहारमा पुष्टि गर्दै देउवाले अहिले सुदूरपश्चिमबाट कांग्रेस ‘क्लिन स्विप’ हुनबाट जोगाउनुभएको छ।

२०४८ देखि २०५६ सम्मका तीनवटा निर्वाचन नेपाली कांग्रेसबाट वियजी हुनुभएका गच्छदारले २०६४ को संविधानसभा निर्वाचन मधेसी जनाधिकार फोरमबाट जित्नुभएको थियो। २०७० दोस्रो संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकबाट विजयी बन्नुभएका उहाँ चुनावभन्दा एक महिनाअघि मात्रै पुरानै दल कांग्रेस प्रवेश गरेर अहिले फेरि चुनावी सफलता हासिल गर्नुभएको छ।

सुनसरी क्षेत्र नं ३ बाट निकटतम प्रतिद्वन्द्वी एमाले नेतृ भगवती चौधरीलाई ३ सय २१ मत अन्तरले पराजित गर्दै गच्छदार यो निर्वाचनमा प्रत्यक्षतर्फका अन्तिम निर्वाचित सांसद बन्नुभएको छ।

राष्ट्रिय राजनीतिका अन्य चर्चित नेताहरूको संसदीय यात्रामा यसपटक धेरैलाई ब्रेक लागे पनि केही सांसदले पाँचौं पटक संसदीय यात्रा गर्ने मौका पाएका छन्। नेकपा एमालेका एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का वरिष्ठ नेता झलनाथ खनालले पाँचौंपटक यो अवसर पाउनुभएको हो। २०४८ यताको हरेक संसदीय निर्वाचनमा उहाँहरू चुनावमा लडे पनि एक⁄एक पटकको निर्वाचनमा असफल बन्नुभएको थियो।

खनाल २०५६ को निर्वाचनमा इलाम क्षेत्र नं १ बाट कांग्रेसका नेता बेनुप प्रसाईंसँग पराजित हुनुभएको थियो भने ओलीलाई २०६४ को निर्वाचनमा झापाको तत्कालीन क्षेत्र नं ७ मा माओवादी नेता विश्वदीप लिङ्देनले पराजित गर्नुभएको थियो। यसअघि पाँचौंपटक संसद्मा प्रतिनिधित्व गरिसक्नुभएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने यो निर्वाचनमा असफल बन्नुभएको छ।

त्यसै गरी नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे पनि पाँचौंपटकसम्मका निरन्तर निर्वाचित सांसद हुनुहुन्छ। छैटौं निर्वाचित हुने उच्च सम्भावना भए पनि यसपटकको निर्वाचनमा उम्मेदवारी नदिएकाले उहाँ तत्कालका लागि छैंटौ सूचीमा सामेल बन्नुभएन।
एमाले नेता सुवासचन्द्र नेम्वाङ चौथोपटक संसद्मा प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने सोही पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल यसपटकसहित प्रत्यक्ष निर्वाचनमा तेस्रोपटक मात्रै निर्वाचित हुनुभएको छ।

नेपाल २०६४ को निर्वाचनमा काठमाडौं र रौतहट दुई स्थानबाट पराजित हुनुभएको थियो। नेम्वाङ २०५६ यता इलामबाट निरन्तर निर्वाचित हुँदै आउनुभएको छ। प्रतिनिधिसभाको चुनावमा उम्मेदवार हुनुअघि नेपाल र नेम्वाङ विगतमा राष्ट्रियसभाका समेत सांसद हुनुहुन्थ्यो।

२०५१ साल यता प्रायः हरेक निर्वाचनमा दल परिवर्तन गरेर प्रत्यक्ष निर्वाचन उम्मेदवारी दिएर सफलता हासिल गर्दै आउनुभएका नेता हृदयेश त्रिपाठीको संसदीय यात्रा पनि यसपटकसहित पाँचौं हो।पटकपटक सरकार र संसद्मा प्रतिनिधित्व गर्नुभएका भण्डारीले यसपटकको निर्वाचनमा सूर्य चिह्न लिएर नवलपरासीबाट चुनावी सफलता हासिल गर्नुभएको छ। त्यसै गरी राष्ट्रिय जनता पार्टीका नेता शरदसिंह भण्डारी धेरैपटक संसद्मा प्रतिनिधित्व गर्नेमध्येका एक हुनुहुन्छ। पञ्चायत, बहुदल र गणत्रान्त्रिक संसदमा पटकपटक प्रतिनिधित्व गर्नुभएका उहाँ बहुदलयता पाँचौ पटक प्रत्यक्ष निर्वाचित सांसद बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्