बैतडीको पाटन विमानस्थल कालोपत्रे हँुदै



 

नेपाल समाचारपत्र
बैतडी
बैतडीको पाटन विमानस्थल कालोपत्रे तथा अर्थात स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित कटिङको काम तीव्र गतिमा भइरहेको हो।

गत वर्षको बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी पुनः सुचारु गर्ने गरी बजेट विनियोजन गरेको थियो। सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनको लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो। सोही डीपीआर अनुसार विमानस्थललाई स्तरोन्नति गरी पुनः सुचारु गर्न ठेक्का आह्वान गरेर निर्माण कार्य शुरू गरिएको हो। करिब १३ करोडको लागतमा ५८० मिटर लम्बाई २० मिटर चौडाई क्षेत्रफलमा कालोपत्रे गरिने नागरिक उडड्यन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिनुभयो। यस विमानस्थलमा टुवीनेटर विमान अवतरण गर्ने सक्ने र दुई विमान पाकिङ गर्न सकिने उहाँले बताउनुभयो।

गाल्वा च्याङमिला जगदम्बा जेभी निर्माण कम्पनीले विमानस्थललाई कालोपत्रेका साथै घेरबार गर्ने कम्पनीका प्रतिनिधि दानसिंह रावलले जानकारी दिनुभयो। उहाले भन्नुभयो–‘अहिले कटिङको काम भइरहेको छ, यसपछि फिलिङ गरेर विमानस्थललाई कालोपत्रे गरिनेछ।’ लगातारको वर्षाका कारण स्तरोन्नतिको काम २ महिना ढिला भएको छ, समयमै सम्पन्न गर्न तीव्र गतिमा काम भइरहेको कम्पनीका प्राविधिक पुरनदेव रावलले जानकारी दिनुभयो।

लामो समयदेखि बन्द रहेको विमानस्थल सुचारु गर्ने हिसाबले काम शुरू भएपछि स्थानीय बासिन्दा खुशी भएका छन्। बन्द रहेको विमानस्थल सञ्चालनका लागि काम शुरू भएपछि आफूहरू खुशी भएको स्थानीय उत्तम भण्डारीले बताए। विमानस्थल सञ्चालनमा आए यस क्षेत्रको विकासले फड्को मार्ने उहाँको भनाइ छ।

पाटन विमानस्थल सञ्चालनमा आए यो क्षेत्रमा पर्यटकको आगमन हुने स्थानीय लवदेव जोशीले बताउनुभयो। पाटन देशका १० नमूना शहरमध्ये एक शहर पनि हो, ७ नम्बर प्रदेश पर्यटन सम्भावना बोकेको क्षेत्र हो, पाटन विमानस्थल सञ्चालनमा आए भारतको उत्तराखण्डबाट नेपाल आउने पर्यटक बैतडी भएर आउने उहाँको भनाइ छ।

पाटन विमानस्थल सुचारु भएमा पत्तालभूमेश्वर लगायत बैतडीका धार्मिक पर्यटकीय क्षेत्र, दार्चुलाको अपी हिमाल, बझाङको सैपाल हिमाल र डडेल्धुराका धार्मिक पर्यटकीय क्षेत्रमा पर्यटकहरू भित्र्त्याउन सजिलो हुने विश्वास लिइएको छ। यस्तै मध्यपहाडी लोकमार्गअन्तर्गतको पाटन नमूना शहर भएकाले पनि विमानस्थल सुचारु हुनुपर्ने धेरैको भनाइ छ।

वि.स. २०६९ सालमा तत्कालीन पर्यटन तथा नागरिक उडड्यन मन्त्री लोकेन्द्र बिष्ट मगरले पनि विमानस्थल सुचारु गर्ने प्रतिबद्धता जनाएका थिए। तर त्यो प्रतिबद्धता मात्रै सीमित भयो।

२०७२ सालमा तत्कालीन अर्थराज्यमन्त्री दामोदर भण्डारीको पहलमा गतसालको बजेट भाषणमा पाटन विमानस्थलका लागि बजेट छुट्टयाइए पछि स्तरोन्नतिको काम शुरू भएको छ, अब विमानस्थल सुचारु हुन्छ कि भन्ने आश गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्