सुकुम्बासी अशक्त जोडि सरकारी सहयोगको प्रतिक्षामा



चिरञ्जीवी मास्के, दोलखा । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा बस्दै आएका ४० बर्षिया दृष्टिविहिन मिठु मिजार र बोल्न नसक्ने ४५ बर्षिया श्रीमती माया खड्का मिजार सुकुम्वासी छन् । एक छोरा र एक छोरी भएका मिठुको परिवार अहिले बैतेश्वर गाउँपालिका वडा नम्बर ६ बुस्तिको सार्वजनिक जग्गामा टहरा हालेर बसेका छन् ।

मिठु मिजार जग्गा जमिन र धन सम्पत्ति केहि नभएकोले समस्यामा परेको बताउछन् । बर्षाको बेला पानी चुहिएर ओछ्यान भिज्छ, बालेको चुल्हो निभ्छ, हिउँदमा शीत चुहिएर चिसोले विरामी परिन्छ तर गरिखाने केहि उपाए छैन – मिठुले गुनासो गर्दै भने । अन्तरजातिय विवाह गरेका मिठु दम्पतीले जेनतेन मजदुरी गरेर गुजारा गर्दै आएका थिए तर अहिले दुबै अशक्त बनेकोेले समस्यामा परेका छन् ।

हामी जस्ता अशक्त सुकुम्वासीको लागि सरकाले केहि गरिदिए हुनेथियो – मिठुले भने । अहिले सिंहदरवारको अधिकार गाँउमै आएको छ भन्ने सुनेका मिठु गाँउपालिकाले जग्गा उपलब्ध गराईदिए पुर्ननिर्माण प्राधिकरणसंग स्थाई आवास निर्माणको लागि सहयोग माग्न जानसकिने अपेक्षा गर्छन । बुवा आमाले अधिया कमाएर गुजारा गरिरहनु भएको थियो । आमा बुवाको मृत्यु पछि म पनि मागेर गुजरा चलाउदै छु मिठुले भने– एउटा सानो घर बनाउन सके दुखजेलो गरेर दुई छोरालाई पढाउन सकिने थियो की । सरकारले दिने अशक्त भत्ता मासिक दुई हजारले खाननै धौ धौ पर्ने मिठु बताउछन् ।

बैतेश्वर गाँउपालिकाका उपप्रमुख रविचन्द्र आचार्यका अनुसार बैतेश्वर वडा नम्बर ६ मामात्र ३ परिवार सुकुम्बासी छन् । गाविसको सबै वडामा गरेर सुकुम्वासीको संख्या १५÷२० परिवार हुनसक्ने उपप्रमुख आचार्य बताउछन् । गाँउपालिका भरी कति सुकुम्वासी छन् भन्नेबारे हामी अध्यन गरिरहेका छौ उपप्रमुख आचार्यले भने – उनीहरुको तथ्याङ्क संकलन पछि कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा निर्णय गर्नुपर्छ ।

गाँउपालिका उपप्रमुख आचार्य गाँउपालिका भित्र भएका सुकुम्वासीहरुलाई स्थाई आवास बनाएर बस्ने वातावरण निर्माण गर्न कानुनले मिल्नेसम्म कतैको जग्गा उपलब्ध गराउने र पुर्ननिर्माण प्राधिकरणलाई भनेर स्थाई आवास निर्माणको लागि रकम उपलब्ध गराउन पहल गर्ने बताउछन् ।

 

प्रतिक्रिया दिनुहोस्