औषधिको मनपरी बिक्री



 

प्रशान्त वली, काठमाडौं
बजारमा औषधिजन्य पदार्थको अवैधानिक तबरबाट बिक्रीवितरण हुने गरेको पाइएको छ। सरकारले अनुगमनलाई औपचारिक बनाउँदा र नियमनकारी निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा अवैध रूपमा औषधि बिक्रीवितरण भएको हो।

औषधि व्यवस्था विभागले विनादर्ता औषधि बिक्रीवितरण नगर्न लिखित तथा मौखिक निर्देशन दिए पनि औषधि व्यवसायीहरूले विभागको निर्देशन अवज्ञा गर्ने गरेका छन्।

पछिल्लो १० दिनमा औषधि व्यवस्था विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त विशेष अनुगमनका क्रममा ८० वटा औषधि पसलमध्ये २० वटालाई सिलबन्दी गरिएको थियो। ती पसलहरू दर्ता नगरी सञ्चालनमा आएको, प्रतिबन्धित औषधि बिक्रीवितरणका लागि राखेको, औषधि पसल नै दर्ता नभएको, लामो समयदेखि नवीकरण नगरिएको र वैदेशिक रोजगारीमा जानेहरूका लागि शारीरिक परीक्षण एउटै देखाइने गरी ल्याब सञ्चालनमा आएको भेटिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बताएको छ।

बजारमा विशेष गरी खाद्यपूरक औषधि दर्ता नगरीकनै बिक्री भइरहेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘औषधि ऐन संशोधनका लागि पेस भएको छ। ऐनमा विभाग स्वयम्ले जरिवाना लगाउने कुरा उल्लेख छ। यति भएपछि कारबाही गर्न सहज होला।’
भन्सार तिरेर नेपाल भित्रिएका कैयौं औषधि नेपालमा दर्ता नभएको विभागले बताएको छ। प्रतिबन्धित औषधिका साथै अन्य दर्ता नभएका औषधिको बिक्रीवितरण रोक लगाइएको विभागले गत वैशाख २७ गते सूचना जारी गरेको थियो। सूचनामा प्रतिबन्धित औषधि बिक्रीवितरण गर्नेलाई कारबाही भइरहेको उल्लेख गरिएको भए पनि यस्तै औषधि बजारमा बिक्रीवितरण भइरहेका छन्।

विभागले दिएको जानकारीअनुसार २०४९ सालमा नै प्रतिबन्ध लगाइएका औषधिहरू हालसम्म पनि बजारमा बिक्रीवितरण भएका छैनन्। २०४९ फागुन १८ गते राजपत्रमा सूचना निकाल्दै केही औषधि प्रतिबन्ध गरेको सूचना निकालेको भए पनि यस्ता प्रतिबन्धित तथा दर्ता नभएका औषधिहरू अहिलेसम्म पनि बजारमा खुलेआम बिक्री भएका छन्।
विभागले बताएअनुसार स्टेप अप, सान्धी सुधा, स्मार्ट पी, भीमसेन पी, स्लिम प्लस, बायो प्लस, हेयर बिल्डिङ फाइबर, अनाही बेम्बो, ब्रेस्ट सिमिलर, ब्रेस्ट फार्मिङ स्ट्रेज मार्कजस्ता औषधिहरू हालसम्म औषधि व्यवस्था विभागमा दर्ता भएका छैनन्।

अहिले बजारमा उचाइ बढाउनका लागि स्टेप अप, हार्डजोर्नीको दुखाइ कम गर्न सान्धी सुधा, जाँडरक्सी छुट्याउने स्मार्ट पी, मोटोपन बढाउने भीमसेन पी, मोटोपन घटाउने स्लिम प्लस, चाया पोतो हटाउने बायो प्लस, कपाल उमार्ने हेयर बिल्डिङ फाइबर, अनुहार गोरो बनाउने अनाही बेम्बो, स्तनको आकार घटाउन ब्रेस्ट सिमिलर, स्तन ठूलो बनाउन ब्रेस्ट फार्मिङ र पेट तथा शरीरमा रहेका धर्सा हटाउन स्ट्रेज मार्कजस्ता औषधिहरूको बिक्रीवितरण भएको छ। यद्यपि तुलनात्मक रूपमा यस्ता औषधिहरू बिक्रीवितरणमा कमी आएको छ।

त्यस्तै, मल्टिभिटामिन, एन्टिअक्सिडान्ट, कस्मेटिक्स, आइरन, फ्लोरिक एसिड क्याल्सियम, ट्रेसर मिनरल इलिमेन्ट न्युट्रासिउटिकल कम्पोनेन्ट, एन्टिबायोटिक्स, स्टेरोइड्स आदी समूहअन्तर्गतका तत्त्वहरू समावेश भएका ट्याब्लेट, क्याप्सुल, सिरप, पाउडर, क्रिम र लोसनको उत्पादन तथा बिक्री–वितरणमा सरकारले रोक लगाएको छ।

औषधि ऐन २०३५ को परिच्छेद ७ को दफा २५ मा प्रतिबन्धित औषधि बेचेमा ३ वर्ष कैद र २५ हजार जरिवाना वा दुवै हुने व्यवस्था गरिएको छ। त्यस्तै, दर्ता नभएका औषधिहरू बिक्री–वितरण गरेमा भने एक वर्ष कैद वा ५ हजार जरिवाना वा दुवै हुने व्यवस्था कायम गरिएको छ। यद्यपि ऐन आएको लामो समय भए पनि बजारमा अवैध औषधिहरू छ्यापछ्याप्ती भेटिँदासमेत जिम्मेबार निकाय कानमा तेल हालेर बस्ने गरेको आम उपभोक्ताको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्