प्रदेश–२ मा कसका एजेन्डा के ?



मधुसूदन रायमाझी, काठमाडौं
प्रमुख राजनीतिक दलहरूले आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा पुरानै एजेन्डा लिएर निर्वाचनमा भाग लिने भएका छन्।

स्थानीय तहको दुई चरणको निर्वाचनमा अगाडि सारेकै एजेन्डा लिएर दल निर्वाचनमा भाग लिने भएका हुन्। राजनीतिक दलले संविधान संशोधन विधेयकको विषयलाई नै २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनको एजेन्डा बनाउने भएका छन्।

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहुमत नहुँदा संविधान संशोधन विधेयक पारित गर्न नसकिएकाले दुई तिहाइ बहुमत पुर्याएर आगामी दिनमा संविधान संशोधन विधेयक पारित गर्ने मुख्य एजेन्डा बनाउने देखिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियता विरोधी संविधान संशोधन विधेयक मधेसी जनताको हितमा नभएको र आफू विपक्षमा उभिएको विषयलाई नै एजेन्डा बनाउने तयारी गरेको छ।

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै सबै मुख्य राजनीतिक दलले २ नम्बर प्रदेशमा राजनीतिक गतिविधि ह्वात्तै बढाएका छन्। नेकपा माओवादी केन्द्रले निर्वाचन अवधिभर पार्टी हेडक्वार्टर मधेसमा नै स्थापना गर्ने निर्णय गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २ नम्बर प्रदेशको निर्वाचन अभियानमा जुट्नुभएको छ।

नेपाली कांग्रेसले पनि चुनावी अभियान अगाडि बढाउने तयारी गरेको छ। एमालेले भने पार्टी अध्यक्ष केपी शर्मा ओली विदेशबाट फर्किएलगत्तै बैठक बसेर चुनावी रणनीति तय गर्दै २ नम्बर प्रदेशमा झर्ने तयारी गरेको एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बताउनुभयो।

प्रमुख तीन दलले नै २ नम्बर प्रदेशमा पहिलो शक्ति हुने दाबी गरेका छन्। राजपाले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्तिका रूपमा आउने बताउँदै आएको छ।
यसअघि स्थानीय तहको दुई चरणमा अगाडि सारेको एजेन्डालाई नै पार्टीले अगाडि सार्ने बताउँदै ढकालले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि क्षेत्र निर्धारण आयोगको प्रतिवेदनअनुसार तयार गरिने बताउनुभयो। एमालेले निर्वाचन क्षेत्रको संख्याको आधारमा आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि घोषणापत्र तयार गर्न तत्काल कमिटी बनाउने तयारी गरेको छ।

नेकपा माओवादी केन्द्रले भने निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन आएलगत्तै त्यसको आधारमा आगामी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि घोषणापत्र तयार गर्नका लागि नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा नौ सदस्यीय कमिटी गठन गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले निर्वाचन अभियानका लागि पार्टी अध्यक्ष २ नम्बर प्रदेशमा पुग्नुभएको बताउँदै केही समयभित्र पार्टीले निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्ने बताउनुभयो।
कांग्रेसले पनि प्रदेश नम्बर २ मा पहिलो पार्टी बन्ने दाबी गरेको छ।

कांग्रेसले यसअघि दुई चरणमा ल्याएको घोषणापत्रकै आधारमा निर्वाचनमा जाने तयारी गरेको पार्टीका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘यो भगवान् भरोसामा चलेको पार्टी हो, घोषणापत्र त बन्छ तर कहिले बन्छ ठेगान छैन।’ संविधान संशोधन विधेयक पास हुन नसकेपछि राष्ट्रिय जनता पार्टीले संविधान संशोधनविरोधी शक्तिको रूपमा एमालेलाई औंल्याएको छ। राजपाले स्थानीय तहको निर्वाचनमा संविधान संशोधन विधेयक पारित गराउनका लागि दुई तिहाइ बहुमत पाउनुपर्ने विषयलाई नै एजेन्डा बनाउने भएको छ।

राजपाका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जनताको मतको सम्मान गर्न असहमतिको बावजुद पनि निर्वाचनमा भाग लिने निर्णय गरेको बताउँदै भन्नुभयो– ‘हामीले लामो समयसम्म संविधान संशोधनको विधेयक पारित गराउन संघर्ष गर्यौं तर एमालेका कारण पास हुन सकेन, यो विषयलाई पनि एजेन्डा बनाउछौं।’
उहाँले समग्र मधेसको हितलाई ध्यानमा राखेर चुनावी एजेन्डा बनाउने बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्