१६ जना डाक्टरको दरबन्दीमा ५ जना डाक्टर मात्र



अनिल खत्री । गुल्मीको जिल्लामा रहेको अस्पताललाई १५ शैयाकोलाई सरकारले स्तरबृद्धि गरेर ५० शैयाको बनाएको छ । तम्घास अस्पताललाई सरकारले तीन बर्ष स्तरवृद्धि ग¥यो । सरकाको त्यो घोषणा अहिले घोषणामा सिमित भएको छ । जसका कारण अरुको उपचार गर्ने जिल्ला अस्पताल आफै थला परिरहेको छ । जिल्ला अस्पतालमा १६ जना डाक्टरहरुको दरबन्दी छ,तर ११ जनाको दरबन्दी खाली छ । विरामीको चाप बढ्दै जाने तर डाक्टरहरुको दरबन्दी नबढ्दा अस्पताल र सेवाग्राहि समस्यामा परेको अस्पताल विकास समितिका अध्यक्ष बिनोद प्रसाद पाण्डेयले बताए ।

‘दरबन्दी र भौतिक पुर्वाधार सुविधा १५ शैयाकै भयो, तर सरकारले ५० शैया बनायो,’ उनले भने,‘ अस्पताल विकास समितिले आन्तरिक श्रोतबाट ३० शैयाको बनाएको छ ।’ अस्पतालका मेडिकल सुपरिटेण्डन डाक्टर श्यामकिशोर चौधरीका अनुसार १६ जना डाक्टरहरुको दरवन्दी रहेकोमा ११ जना डाक्टर सरकारले पठाएको छैन । विशेषज्ञ डाक्टरको दरबन्दी पनि खाली छ । सरकारले जम्मा चार जना मेडिकल अधिकृत स्तरका डाक्टर र एक जना डेन्टल सर्जक डाक्टर पठाएको चौधरीले बताए ।

लामो सयमदेखि निक साईमन ईन्टिच्युट काठमाण्डौले पठाएका एक जना विशेषज्ञ डाक्टर प्रकाश पुन मगरले सेवा दिइरहेका थिए । तर उनको पनि सरुवा भएको छ । तीन वर्ष अघि ५० शैयाको अस्पताल घोषणा भए पनि औषधी उपचारका लागि न कुनै रकम, न भौतिक पुर्वधार र जनशक्ति सरकाले पठाएको मेडिकल सुपरिटेण्डन चौधरीले बताए ।

जिल्ला अस्पताल तम्घासलाई राम्रो बनाउन धेरै प्रयास भैरहेको भएपनि सोचे जस्तो सफलता प्राप्त नभएको पुर्व अस्पताल विकास समितिका अध्यक्ष शेर बहादुर थापाले बताए । ‘जिल्ला अस्पताल तम्घासमा केन्द्रबाट डाक्टरहरु आउनै मान्दैनन, आएपनि धेरै समय बस्दैनन,’उनले भने,‘ उनीहरुका लागि अरु अवसरहरु पनि कम छन् ।’ जिल्ला अस्पताल तम्घासलाई राम्रो बनाउनुपर्ने सरोकारवालालाई अन्य अस्पताल र मेडिकलहरुको धन्दामा लागेका कारण समस्या भएको कतिपयको गुनासो छ ।

जिल्ला अस्पताल तम्घासलाई थप सुविधा सम्पन्न गराउँदै विशेषज्ञ सेवा प्रदान गर्ने गरि योजना बनाइएको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । ‘मैले पहिलेदेखि नै अस्पतालको समस्या बुझेको छुु, अहिले काम गर्ने मौका जनताले दिए,‘उनले भने,‘ जनताकै उपचार गर्ने अस्पताल बिग्रिन दिने छैन् ।’ साथै हरेक वार्डमा गर्भवती महिलाका लागि बर्थिङ सेन्टर स्थापना गर्दै भएका स्वास्थ्य चौकीको स्तरोन्नती गर्ने पनि भुसालले बताए ।

जिल्ला अस्पतालमा छिमेकी जिल्ला वाग्लुङ्ग, अर्घाखाँची र प्युठानका समेत बिरामी उपचारका लागि आउँछन् । जसका कारण अस्पतालमा सेवाग्राहीको चाप निकै हुने गर्दछ । दैनिक दुई सय जना सम्म विरामीको स्वास्थ्य चेकजाँच हुने अस्पतालको रेकर्ड छ । गाउँबाट सामान्य चेकजाँच गर्न जिल्ला अस्पताल तम्घास आएपनि एक रात होटलमै बस्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ । ‘१० बजे आएपछि दुई घण्टा लाइनमा कुर्नुपर्छ, चेक गर्दागर्दै दुई बज्छ,’ इस्मा गाउँपालिका ३ का केयरसिंह खड्काले भने,‘ जिल्ला अस्पताल नामको मात्रै भयो ।’

जम्मा वार्षिक तिन लाखको भरमा चलेको त्यस अस्पतालमा गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ आएको र त्यसबाट औषधी पु¥याइएको डाक्टर चौधरीले जानकारी दिए । विरामी मात्र होईन त्यस अस्पतालमा प्रशुति सेवा लिन आउने महिलाहरुको संख्या पनि बढ्दो छ । गएको आर्थिक बर्षमा महिला पुरुष गरि करिव २५ हजार जनाले ओपिडी सेवा लिएका छन् । भने पाचँ हजारले इमरजेन्सी तथा दुई हजारले इन्डोर सेवा लिएको अस्पतालको रेकर्डमा उल्लेख छ । त्यस्तै सामान्य, जटिलयुक्त र शल्यक्रिया करिव आठ सय जनाले प्रसुति सेवा लिएका छन् । तीन सय जनाले नियमित गर्भवति परिक्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्