सडकमै जन्मियो बच्चा



नेपाल समाचारपत्र, बाँके । कैलाली भल्काकी २७ वर्षीया तुलीदेवी जोशीले मंगलबार भेरी अञ्चल अस्पताल, नेपालगञ्जको नजिकै सडकमै बच्चा जन्माएकी छन् ।
अस्पतालमा पु¥याइएकी जोशीलाई नर्सले अस्वभाविक व्यवहार देखाउदै ‘अहिले बेला भएको छैन, अल्ट्रासाउन्ड गरेर ल्याऊ’ भनेर पठाएकी थिइन् । अल्ट्रासाउन्ड गराउन अस्पतालबाट बाहिर निस्केको केही समयमै सडकमै बच्चा जन्मियो ।
सोमबार बिहान सुत्केरी बेथा लागेपछि जोशीलाई दिउँसो दुई बजेतिर नजिकको बलिया स्वास्थ्यचौकीमा लगिएको थियो । स्वास्थ्य चौकीले ‘बच्चाको धड्कन कम छ । यहाँ जोखिम हुनसक्छ’ भनेर टीकापुर अस्पतालमा रिफर ग¥यो । टीकापुर अस्पतालले अप्रेसन गर्दा रगत चाहिने र त्यो नभएको बताएयो । त्यसपछि मंगलबार बिहानै जोशीलाई नेपालगञ्ज ल्याइयो ।
मध्य र सुदूरपश्चिमको रिफरल सेन्टर मानिने भेरी अञ्चल अस्पतालमा जोशीलाई लगियो । डिउटीमा खटिएका नर्सले शुरुमै व्यवहार राम्रो गरेनन् । ह्वीलचियरसम्म उपलब्ध गराएनन् । पाठेघर तीन सेन्टिमिटरमात्रै खुलेको बताएर नर्सले अहिले नै बच्चा नजन्मिने बताए । जबकी बलिया स्वास्थ्य चौकीले एक दिनअघि नै पाठेघरको मुख सात सेन्टिमिटर खुलेको बताएको थियो । सुत्केरी हुनलाई पाठेघरको मुख दश सेन्टिमिटर खुल्नु पर्ने बताइन्छ ।
माइजुलाई वार्डमा राखेर राम्ररी हेरिदिन किरण जैसी बजगाईले नर्ससँग रोइकराई गरे । पाँच पटकसम्म रोएर हात जोड्न गए । तर, काम लागेन । अल्ट्रासाउन्ड गर्न अस्पताल बाहिर पठाउदा ह्वीलचियरको व्यवस्था गरिदिन आग्रह गर्दा पनि बेवास्ता गरियो ।
हिड्नै नसक्दिन भन्ने जोशीलाई बोकेर, बिस्तारै रोकी–रोकी हिडाएर अस्पतालको गेटबाहिर रहेको अल्ट्रासाउण्ड गर्ने ठाउँमा पु¥याइयो । किरणले भन्नुभयो, हिड्न एकदमै अप्ठेरो हुँदाहुँदै पनि त्यहाँसम्म ल्याइयो । अल्ट्रासाउण्ड नगर्दै बच्चा बाटोमै जन्मियो ।’
बच्चा जन्मिएपछि नजिकको पसलबाट कपडा ल्याएर छोपियो । सुत्केरीलाई फेरि रगत चुहाउदै हिडाएर अस्पतालको वार्डतिर हिडाइयो । अति नै भयो भनेर फेरि किरण दौडेर गए । त्यतिबेलासम्म आधा बाटो सुत्केरी हिडिसकेकी थिइन् । अस्पतालले ह्वीलचियर पठाइदियो । अहिले अस्पतालले नर्मल वार्डमा आमा र बच्चीलाई राखेके छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अस्पतालले बुधबार डिस्चार्ज गरिदिन्छौं भनेको छ ।
भेरीको सुत्केरी कक्षमा नर्सले तुच्छ व्यवहार गर्ने समाचार बेलाबेलामा आउने गर्दछ । वर्षौदेखिको समस्या समाधान हुन सकेको छैन । झर्किने, राम्रो सल्लाह नदिने, बेथा लागेर चिच्याउदा गालामा हान्ने, अपशब्द बोल्ने गरेको भुक्तभोगीहरु बताउँछन् । वर्षमा एक लाख बढीको सेवा गर्ने भेरी अञ्चल अस्पतालले मुस्कानसहितको सेवा दिन सकेको छैन । चिकित्सकले हाँसेर बोलिदिंदा मात्रै आधा बिमार निको हुन्छ भनिएपनि भेरीको गाइनेवार्डमा त्यस्तो हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्