बाढी पिडितको दर्दनाक बेथाः घरभित्रै उम्रियो धान



कुर्मीको घरभित्र उम्रिएको धान

नेपाल समाचारपत्र, बाँके । होलियाका सुकई कुर्मी घरभित्र खटियामा सुतिरहेका थिए । एक हुल सरकारी कर्मचारी पुगेपछि उनी खटियाबाट उठे ।
फुसको झुप्रो घरभित्र चार फुटजति अग्लो बनाएर तेर्साएको बलो (गोलो–लामो काठ) मा कुर्मीको लत्ताकपडा टंगिएका थिए । बाढी गएको १५ दिनपछि पनि घरभित्रै चिसै थियो । खटियाबाट उठेर कुर्मीले घरभित्र पसेको बाढीको चिन्ह देखाए । कुर्मीको घरको भित्तामा अहिले पनि तीन फुटमाथि  भित्तामा पानीको निसाना रहेको छ ।

‘घरमै थिए, बाढी पसेपछि भागेका हौं, कुर्मीले भन्नुभयो, भागेर परिवार त बाँचियो । तर, अनाज सबै बगायो ।’ कुर्मीको घरभित्र अहिले धान उम्रिएको छ । माटोको डेरीमा राखेको ६ क्वीन्टल धान यत्रतत्र छरिदै बगेको थियो । डेरी फुटेपछि धान बगे, केही त्यही छरपस्ट भए । घरभित्र छरपस्ट भएको धान उम्रिएको छ ।
‘भएको सबै धान बग्यो, पोखिएर घरभित्र उम्रियो, कुर्मीले देखाउदै भन्नुभयो, अब हामीले के खाने ?’
होलियाको पिप्रहवा गाउँमा पानी नपसेको घर नै छैन । बाढीले हिलाम्य भएका घरलाई यतिबेला स्थानीयले लिपिरहेका छन् । स्थानीय रामनवाज कोरीको घर पिलेर चिटिक्क बनाइदै थियो । स्थानीयले वर्षभरी खानाका लागि जोहो गरेर राखेको अनाज बगाएको मात्रै छैन, छिनछिनमा तनाव सिर्जना गर्न घरभित्र धान उम्रिएको छ ।

यतिबेला सरकारी र गैरसरकारी निकायले दिएको राहत थाप्ने र बाढीले फोहोर गरेको घरलाई सफा गर्नमै व्यस्त छन्, पिप्रहवावासी । बाढीले शौचालय भत्काएको छ । सबैजसोले नै खेतमा शौच गरिरहेका छन् । बाढीले डुबेको धाराको पानी खाइरहेका छन् । सरसफाईको कमीले महामारीको खतरा अर्कोतिर रहेको छ ।

बाढीको कहरबाट बाहिर निस्केका पिप्रहवाका कतिपय स्थानीय भने तास खेलेर बसिरहेका थिए । समूह–समूहमा रहेका स्थानीयहरु तास खेलिरहेका देखिन्थे । ‘टाउको दुख्ने, रुघाखोकी र छालाका संंक्रमण’ नदेखिएका भने कुनै घर बचेको छैन । सबै घरमा कोही न कोही बिरामी छन् ।  डुडुवा गाउँपालिकाको एक नम्बर वडामा पर्ने पिप्रहवागाउँ राप्ती नदीले वर्षेनी प्रत्यक्ष असर गर्ने ठाउँ हो । गाउँलाई बचाउन वर्षेनी तटबन्ध बनाइए पनि त्यसले नदीलाई छेक्न सक्दैन । गाउँलाई रोक्ने अग्लो सडकलाई समेत बाढीले काटेको छ ।

समयमा पानी नपरेर खेतमा धानको बिउ उमार्न नपाएका पिप्रहवावासीको बाढी पसेर घरभित्रको धान उमारेको छ । जिल्ला कृषि विकास कार्यालयको प्रारम्भिक रिपोर्टमा घरभित्र राखिएको २५ करोड बराबरको अनाथ बगेको छ । २३ करोडको खाना ठिक्क पारेको धान, चामल र गहुँ तथा २ करोड बराबरको बिउ रहेको छ ।  बाढी पीडितहरु गाउँमा नयाँ मान्छे देख्ने बित्तिकै चनाखो हुने गरेका छन् । कतैबाट राहत आयो कि भनेर उनीहरु चनाखो हुने गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्