ठूलो मन्त्रीमण्डलको असर ‘स्कटिङ’मा, नेपालगञ्जमा दिनमा सात जनासम्म भिआइपी



कुमार श्रेष्ठ, बाँके । ‘यहाँ मन्त्रीज्यू हुनुहुन्छ ?’ प्रहरीका एकजना असई हतार–हतारमा होटल सिटी प्यालेसमा सोधीखोजी गर्दै हुनुहुन्थ्यो । होटलको ढोकामा रहेका व्यक्तिबाट आफ्नो प्रश्नको उत्तर नपाएपछि ती असईले काउन्टरमा गएर जवाफ लिए ।

नेपालगञ्जमा एकै दिन धेरै मन्त्रीको आगमन हुँदा प्रहरीलाई स्कटिङका लागि दौडादौड नै हुने गरेको छ । मध्य र सुदूरपश्चिमको केन्द्रविन्दु भएकाले नेपालगञ्जमा दैनिक दुईबढी भिआइपी आएको पाइन्छ । आइतबार एकै दिन तीन जना मन्त्रीको नेपालगञ्जमा आगमन हुँदा प्रहरीलाई दौडादौड नै भएको थियो । त्यसअघि पूर्वप्रधानमन्त्री प्रचण्ड र सोमबार युवा तथा खेलकुदमन्त्रीको जिल्ला भ्रमण रहेको छ । आ–आफ्ना दल र मन्त्रालय मातहतका कार्यालयहरुको कार्यक्रममा आएका मन्त्रीलाई प्रहरीले आफै खोजेर सुरक्षा दिनु पर्छ ।

शेरबहादुर देउवाकै मन्त्रीमण्डलका एकजना मन्त्रीले हालै बाँकेको छिमेकी जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गाडी नपठाएको भन्दै धम्क्याएपछि त झन् प्रहरी–प्रशासन सतर्क बनेर मन्त्री जिल्ला झर्ने बित्तिकै अगाडि पर्ने या स्कटिङ लगाउने गरेका छन् ।

बाँकेमा एकै दिन सात जनासम्म भिआइपी आएको जिल्ला प्रहरी कार्यालयको कार्य शाखामा रेकर्ड रहेको छ । पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र बहालवाला मन्त्रीलाई प्रहरीले खोजी–खोजी स्कटिङ लगाउने गर्दछ । स्थानीय निकायको चुनावका बेला जिल्लामा सात जना यस्ता भिआइपी आउदा प्रहरीलाई गाडीको ठूलो समस्या भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, नेपालगञ्जमा घुमाउने दुई वटा गाडी छन् । वडा प्रहरी कार्यालयमा दुई वटा छन् । घटना हुँदा पुग्ने पनि यही गाडी हुन् । भिआइपी आउदा पछि लाग्ने पनि यही गाडी हुन् । ‘घटना भइहालेमा त्यसलाई प्राथमिकता दिनु प¥यो, यता भिआइपीहरुलाई छोड्नु पनि भएन, जिप्रकाका कार्य शाखाका इन्चार्ज प्रहरी निरीक्षक लक्ष्मण शाही भन्नुहुन्छ, डिउटी त हामीले १८÷२० घण्टा नै दिन सक्छौं । तर, गाडीको अभाव रहेको छ ।’
भिआइपीलाई प्रहरीले राँझा विमानस्थलबाट नेपालगञ्ज ल्याउने, कार्यक्रमस्थलमा पु¥याउने, सुर्खेत, बर्दिया र दाङका सीमानामा पु¥याउनु पर्छ । भिआइपी जिल्ला झर्दा प्रहरी प्रधान कार्यालयको सुरक्षा निर्देशनालयले पहिला नै जिल्लाको प्रहरीलाई सुरक्षाको व्यवस्था गर्न खबरदारी गर्ने गर्दछ ।  मध्य र सुदूरपश्चिम जाने–आउने भिआइपीको नेपालगञ्ज केन्द्र विन्दु भएकाले यहाँको प्रहरीलाई कम्तीमा दुई वटा गाडी भिआइपीका लागि आवश्यक रहेको सम्बद्धहरु बताउँछन् । भिआइपीका लागि गाडी र तेलको व्यवस्थापन गर्न प्रहरीलाई गाह्रो भएको छ ।

सामान्य प्रशासन, उर्जा र पशुपंक्षी राज्यमन्त्रीलाई स्कटिङ गरेर गन्तब्यतिर पु¥याएको प्रहरीले फर्किदा एयरपोर्टबाट सोमबार युवा तथा खेलकुद मन्त्रीलाई लिएर आएको छ । फेरि दुई मन्त्री जिल्लामा आउने सूचना आइसकेको छ । देउवाको मन्त्रीमण्डल ठूलो भएको असर स्कटिङमा पनि परेको छ । ५० जनामा दुईबढी मन्त्री त दैनिक नेपालगञ्ज आइरहेकै हुन्छन् । ९ गते साँझा र १० गते विहान पूर्वप्रधानमन्त्री प्रचण्डको पछाडी एसपी नै कुदेका थिए ।

बाँकेको जनसंख्या चार लाख ९१ हजार ३ सय १३ रहेको छ । प्रहरीका ६९ इकाई छन् । जिल्लामा प्रहरी दरबन्दी ९ सय ५ रहेको छ । यो हिसावले हेर्दा एकजना प्रहरीले ५ सय ४० जनालाई सुरक्षा दिनु पर्छ । सबै इकाईमा गाडी छैनन् । गाडीको अभाव र तेलको सीमितताले गर्दा प्रहरीलाई भिआइपी स्कटिङमा समस्या परेको छ । ‘नेपालगञ्जजस्तो ठाउँमा त भिआइपीका लागि छुट्टै गाडी र तेलको व्यवस्था हुनुपर्छ, कार्य शाखाका इन्चार्ज शाही भन्नुहुन्छ, नियमित बजेटमा धान्न साहै्र गाह्रो हुने गरेको छ ।’

बाँके जिल्ला अनि त्यसमा पनि नेपालगञ्ज विविधता एकताको शहर हो । पहाडी, मधेसी–मुस्लिम र थारु समुदायको बसोबास रहेको छ । साना गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्नु पर्छ । यो कुरा विगतका घटनाले देखाइसकेको छ । घटनास्थलमा समयमा प्रहरी पुग्नु अत्यावश्यक नै मानिन्छ । लागु पदार्थ प्रयोगकर्ताको बिगबिगी भएकाले चोरी, लुटपाट, गुण्डागर्दी त यहाँ भइरहेका हुन्छन् । यस्ता घटनामा पनि समयमा प्रहरी पुग्नु पर्छ । प्रहरीलाई यीसँगै भिआइपीको स्कटिङमा गाडी पठाउनु चुनौती नै बनेको छ । जिल्लामा प्रहरीलाई गाडीको अभाव रहेको र भिआइपीको चापले गर्दा नियमित काममा असर परेको छ ।

प्रतिक्रिया दिनुहोस्