पुनर्निर्माणका लागि खोई अनुदान ?



‘पहिले कागजातहरू पुगेको छैन भनेर फर्काए, अहिले सबै कागजात पूरा गरेर ल्याउँदा पनि बजेट आएको छैन भन्छन्।’

चिरञ्जीवी मास्के, दोलखा
नयाँ आर्थिक वर्ष २०७४⁄७५ शुरू भएको केही समय भइसक्दा पनि बजेट निकासा नहुँदा अनुदान सम्झौताका लागि प्रक्रिया पुर्याएर आएका १ हजार ५ सयभन्दा बढी भूकम्पपीडितले पुनर्निर्माणका लागि सरकारी अनुदान पाउन सकेका छैनन्।

दोलखा कालिञ्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङकी शोभा कार्की अनुदान रकमको पहिलो किस्ता लिन पटकपटक जिल्ला समन्वय समिति र सम्बन्धित बैंकमा धाउँदा पनि रकम पाउन नसकेको गुनासो गर्छिन्। ‘पहिले कागजातहरू पुगेको छैन भनेर फर्काए, अहिले सबै कागजात पूरा गरेर ल्याउँदा पनि कहिले बजेट आएको छैन भन्छन्, कहिले अझै कागजात पूरा भएको छैन भनेर फर्काउँछन्’ –शोभाले भनिन्। नयाँ आर्थिक वर्षमा समयमै भूकम्पपीडितहरूका लागि अनुदान रकम निकासा भएन भने धेरैले टहरामै गुजारा गर्नुपर्ने र शुरू भएका पुनर्निर्माणको कामसमेत अलपत्र पर्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ। प्राविधिकको अभाव, तालिम प्राप्त डकर्मीको कमी, निरन्तरको वर्षालगायतका कारणले अप्ठेरो परेको छ।

आर्थिक वर्ष २०७३⁄०७४ मा भूकम्पपीडितले समयमै दोस्रो तथा तेस्रो किस्ता सम्झौता गर्न नसक्दा पुनर्निर्माणका लागि जिल्लामा प्राप्त भएको झण्डै ८५ करोड रुपियाँ फिर्ता भएको थियो। आर्थिक वर्ष २०७३⁄०७४ मा भूकम्पपीडितले अनुदान सम्झौताका लागि आवश्यक प्रक्रिया पूरा नगरेकाले ८५ करोड रुपियाँ फिर्ता भयो तर चालू आर्थिक वर्ष २०७४⁄०७५ शुरु भएको दुई साता बितिसक्दा पनि पुनर्निर्माणका लागि बजेट निकासा नहँुदा प्रक्रिया पुर्याएर आएका १ हजार ५ सयभन्दा बढी भूकम्पपीडितसँग अनुदान सम्झौता गर्न नसकिएको भूकम्पीय आवास पुनर्निर्माण जिल्ला आयोजना इकाइ कार्यालय दोलखाका टीका जोशी बताउँछन्।

इकाइ कार्यालयमा पहिलो किस्ताका लागि ७ सय ९९, दोस्रो किस्ताका लागि ६ सय ९९ र तेस्रो किस्ताका लागि २० जना भूकम्प पीडितले प्रक्रिया पूरा गरी निवेदन दिएको भए पनि बजेट निकासा नभएका कारण अनुदान सम्झौता हुन नसकेको जोशीको भनाइ छ। भूकम्पपीडितको प्राप्त निवेदनअनुसार अनुदान सम्झौताका लागि तत्काल १४ करोड ६८ लाख रुपियाँ आवश्यक हुन्छ।
दोलखा जिल्लामा शुरुमा पहिचान भएका लाभग्राही (भूकम्पपीडित) संख्या ५१ हजार ९ सय ४० रहेकोमा गुनासो सुनवाइपछि ३ सय २६ घरधुरी थप भएर ५२ हजार २ सय ६६ पुगेको छ। जसमा २०७४ असार मसान्तसम्ममा ४८ हजार ५ सय ६९ लाभग्राही (भूकम्पपीडित) सँग अनुदान सम्झौता भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले बताए। अनुदान सम्झौता भएका लाभग्राहीमध्ये ४७ हजार ४२ जनाले पहिलो किस्ता, ८ हजार ७ सय ९८ जनाले दोस्रो किस्ता र ५ सय ९१ जनाले तेस्रो किस्ता अनुदान रकम लगिसकेको भूकम्पीय आवास पुनर्निर्माण जिल्ला आयोजना इकाइ कार्यालय दोलखाका टीका जोशीले जानकारी दिए।

पुनर्निर्माण प्राधिकरण दोलखामा २१ हजार ८ सय १८ भूकम्पपीडितले लाभग्राहीको सूचीमा नाम नभएको भनी गुनासो फाराम भरेकोमा २१ हजार १ सय २९ जनाको गुनासो फारामउपर सुनवाइ भइसकेको पुनर्निर्माण प्राधिकरणले जनाएको छ। सुनवाइ भएका गुनासामा ३ सय २६ घरधुरी लाभग्राहीको सूचीमा परेका छन् भने झण्डै १० हजार घरधुरीले आवश्यक प्रमाण पेस गर्न सके लाभग्राहीको सूचीमा पर्नेछन्। त्यसै गरी करिब ५ हजार घरधुरीको पुनः सर्भेक्षण गर्नुपर्ने उल्लेख गरिएको छ।

विभिन्न कारणले आर्थिक वर्ष २०७३⁄०७४ मा दोलखाबाट पुनर्निर्माणका लागि प्राप्त रकममध्ये ८५ करोड फिर्ता गएको भए पनि भूकम्प प्रभावित १४ जिल्लामध्ये सबैभन्दा बढी पुनर्निर्माणको काम भएको जिल्ला दोलखा नै रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय दोलखाका प्रमुख सागर आचार्यले बताए। दोलखा जिल्लामा आर्थिक वर्ष २०७३⁄०७४ मा १३ हजार ४ सय ९६ वटा घर पुनर्निर्माण भएको पनि कार्यालयले जनाएको छ।

दैनिकजसो हुने अविरल वर्षाको कारण जिल्लामा पुनर्निर्माणको काममा समस्या भएको भूकम्पपीडितले गुनासो गरेका छन्। विनाशकारी भूकम्पलगत्तै भू–गर्भविद्हरूको सहभागितामा जिल्लाको जोखिम बस्ती पहिचान गरिएकोमा अधिकांश भूकम्पपीडित जोखिम भएकै ठाउँमा बस्न बाध्य भएकाले पनि पुनर्निर्माणको काम प्रभावित भएको स्थानीयको गुनासो छ। करिब एक महिनाअघि दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर–९ लाकुरीडाँडामा पहिरो जाँदा ४ जनाको मृत्यु भएको थियो भने स्थायी आवास निर्माण गरी बसेका झण्डै ९० घरधुरी परिवार विस्थापित बनेका थिए।

अहिले पनि जिल्लाको धेरै भू–भाग पहिरोको जोखिममा रहेकोले भू–क्षय रोक्न विशेष कार्यक्रम नल्याउने हो भने पुनर्निर्माणपछि पनि धेरै भूकम्पपीडित विस्थापित बन्नुपर्ने स्थानीयको गुनासो छ।

प्रतिक्रिया दिनुहोस्