राजधानीमा उठ्नै छोड्यो फोहोर



लतिलपुर महानगरपालिकाको कार्यालयनजिकै थुपारिएको फोहोर र नाक थुन्दै हिँडेकी एक महिला। तस्वीरः रवि महर्जन⁄काठमाडौं

 

ईश्वरराज ढकाल, काठमाडौं
स्थानीय जनताको अवरोधका कारण पाँच दिनदेखि उपत्यकालगायतका १८ स्थानीय निकायको फोहोर व्यवस्थापन हुन सकेको छैन।

सिसडोलबासीले ठूलोखोलादेखि सिसडोल ल्यान्डफिल साइटसम्मको बाटो बनाउनुपर्ने, २०५८ सालमादेखि थाती रहेको एक घर एक रोजगारीको व्यवस्थापन हुनुपर्ने, फोहोर फाल्नुअघि औषधि छर्कने कामलाई निरन्तरता दिनुपर्ने, फोहोर फाल्ने क्षेत्रमा ग्याबिन गर्नुपर्नेलगायतका माग राखी आन्दोलनमा उत्रिएपछि राजधानीलगायतका स्थानको फोहोर व्यवस्थापन ठप्प भएको हो।

स्थानीय सर्वसाधारणले आफूहरूको माग पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न नदिने अडान राखेका छन्। उनीहरूको तर्क छ– ‘१३ वर्षअघिदेखिको माग लिएर अघि बढेका छौं, पूरा नभएसम्म फोहोर व्यवस्थापन गर्न दिँदैनौं।’ गत बिहीबारदेखि काठमाडौंलगायतका १८ वटा स्थानीय निकायको फोहोर सिसडोलमा पुर्याउन सकिएको छैन। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले स्थानीयबासीको कारण फोहोर व्यवस्थापनमा समस्या परेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘शनिबार सहमति भएको थियो, फेरि आइतबारदेखि फोहोर व्यवस्थापनमा अवरोध पुर्याइयो।’

शनिबार सहमतिलगत्तै आइतबार बिहान विभिन्न स्थानीय निकायबाट संकलन गरी सिसडोल पुर्याइएको फोहोर बाटोमै अलपत्र परेको छ। फोहोर संकलन हुन छाडेपछि काठमाडौं र ललितपुरको फोहोर बाटौमै थुप्रिन शुरू भएको छ।

 

ललितपुर महानगरपालिका फोहोरमैला संकलन केन्द्रका प्रमुख सुरेन्द्र अवालेले सिसडोलबासीले अवरोध गरेपछि फोहोर व्यवस्थापनमा समस्या परेको बताउनुभयो।

उहाले भन्नुभयो– ‘फोहोरले गर्दा ललितपुर महानगरपालिकाको फोहोर ५ दिनदेखि उठ्न नसकेको हो। सिसडोलमा फोहोर पुर्याउन नसकेका कारण ललितपुर महानगर क्षेत्रको फोहोर बालकुमारीस्थित संकलन केन्द्र दुर्गन्धित हुनपुगेको छ। सिसडोलमा अवरोध भएपछि बाटोको फोहोरसमेत संकलन गर्न छाडेको ललितपुर महानगरपालिकाले समस्या समाधान गर्न सबै निकायलाई आग्रह गरेको छ।
हाल काठमाडौं, ललितपुरलगायतका १८ वटा स्थानीय निकायबाट दैनिक करिब ८ सय टन फोहोर सिसडोन पुग्ने गरेको छ। करिब एक वर्षयता फोहोर व्यवस्थापनमा अवरोध हुन छाडेको थियो। तर, अचानक स्थानीय जनताले विभिन्न समयमा सहमति गरेको माग पूरा नगरेको आरोप लगाउँदै फोहोर व्यवस्थापनमा अवरोध पुर्याएका छन्। स्थानीय जनताले भने– ‘हाम्रो माग पूरा नगरेसम्म सिसडोलमा फोहोर व्यवस्थापन गर्न दिँदैनौं।’

उनीहरूले महानगरपालिकाको कमजोरीकै कारण समस्या भएको बताएका छन्। कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख श्रेष्ठले पटक–पटक सहमति भए पनि स्थानीयले फोहोर व्यवस्थापन गर्न नदिएको बताउनुभयो।

‘स्थानीयको माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ। हामी छलफलकै क्रममा छौं, समस्या समाधान हुनासाथ फोहोर व्यवस्थापन गर्नेछौं’ –उहाँले बताउनुभयो। फोहोर संकलन हुन छाडेपछि काठमाडौं र ललितपुरको सडक गल्लीमा फोहोर थुप्रन थालेको छ। काठमाडौं महानगरपालिका क्षेत्रको फोहोर टेकु ट्रान्सफर स्टेसनमा थुप्रिएको छ।

प्रतिक्रिया दिनुहोस्