गोरखाको मान्बुमा पहिरो गयो, ६५ घर जोखिममा, गाउँलेहरु घर छोडेर हिँड्न थाले



केरौँजा गाउँमाथीबाट झरेको पहिरो

सन्तोष अधिकारी, गोरखा ।

भूकम्प पछि स्थानान्तरण हुनुपर्ने बस्थीको पहिलो नम्बर सूचीमा रहेको गोरखाको केरौँजा गाउँ पहिरोको जोखिममा परेको छ । भूकम्पले ध्वस्त दुर्गम गाउँ केरौँजाको ६० घर उच्च जोखिममा परेको स्थानीय एलिजा गुरुङले जानकारी दिइन् । ‘बर्खाको बेला पानी आएको छ’ उनले भनिन् ‘गाउँको माथीबाट पनि पहिरो झर्न थालेको छ । तलबाट पनि उत्तिकै पहिरो आएको छ । पहिरो अब गाउँ नै पस्न थालिसक्यो ।’ पहिरोकै कारणले जोखिम बढेपनि पाँच घर परिवारले यस अघि नै घर छोडेर नजिकैको पारी डाँडामा टहरो बनाएर बसिसकेका छन् । अहिले करिब ६० घर उच्चजोखिममा परेको भएपनि केरौँजाको करिब ३०० घरधुरी स्थानान्तरण गर्नुपर्ने सूचीमा रहेको पुननिर्माण प्राधिकरण गोरखाले जनाएको छ ।

‘पानी परेपछि त गाउँको कसैको केहि गर्ने उपाए चल्दैन’ उनले भनिन् ‘गोरेटो, पिन र फेज नेपालले गाउँमुनीको पहिरोमा ग्याबिन तार भर्ने भनेका थिए त्यहिँ ठुलो पहिरो जान थाल्यो केहि गर्नै पाएन ।’ केरौँजाका कान्छा गुरुङ्ग, मायाँ गुरुङ्ग, राममाया गुरुङ, यत्ना गुरुङ्ग, धनबहादुर गुरुङ पहिरोले घर नै जोखिममा परेर छोडेको महिना दिन भइसकेको स्थानीयले टेलिफोनमा जानकारी दिए ।

घर छोड्नेहरु आफन्तको जग्गामा टहरो बनाएर शरण लिएका छन् । अहिले जोखिममा रहेको कामी गाउँभन्दा तल्लो गाउँका मानिसहरु पनि सरसामानहरु सुरक्षित ठाउँमा सार्न थालेको उनले टेलिफोनमा जानकारी दिइन् । गत वर्षको बर्खायाममा पनि केरौँजागाउँ पहिरोको उच्च जोखिममा परेको थियो । पहिरो गएकोबेला विभिन्न गैह्रसरकारी संस्था सरकारी निकायहरु त्यहाँ जाने भएपनि दिर्घकालिन रुपमा कसैले काम नगरेको गुरुङ्गले गुनासो गरिन् । गतबर्ष पनि पहिरोले केरौंजागाउँको ९० घर र केरौंजाबेशीको २३ घर पुरेको थियो भने चार जनाको ज्यानै गएको थियो ।

केरौँजा गाउँ भूकम्प पछि बस्नै नहुने भएको गाउँ हो । भूगर्व विद्हरुले समेत केरौँजा गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताएपनि त्यसो हुन सकेको छैन । ‘गाउँलाई कहाँ स्थानान्तरण गर्ने भन्नेबारे अध्ययन गर्न असारको पहिलो साता भूगर्भ विद्हरुको सहितको टोली केरौँजा गएर अध्ययन गरी काठमाडौँ फर्केको छ’ जिल्ला दैवी प्रकोप उद्धार समितीका संयोजक समेत रहेको प्रजिअ जितेन्द्र बस्नेतले भने ‘अध्ययन गरेर फर्केको टोलीले के प्रतिबेदन बुझायो जानकारी आएको छैन ।

खासमा आसपासमा उपयूक्त बस्ने ठाउँ छ या छैन भनेर त्यो टोलीले भनेपछि मात्र केरौँजा गाउँ स्थानान्तरण के गर्ने भन्नेबारे थाहा हुन्छ ।’ केरौँजाको पुरै गाउँको करिब ३०० घरधुरी स्थानान्तरण गर्नुपर्ने अबस्थामा रहेको राष्ट्रिय पुननिर्माण प्राधिकरण गोरखाका प्रमुख राजेन्द्र कार्कीले बताए ।

स्थानान्तरण भएर जानेहरुले पाउने दुई लाख रुपैँयाको मागदाबी फारम पुननिर्माण प्राधिकरणले यहि हप्ताभित्र केरौँजा पठाउने तयारी समेत गरेको छ ।

‘केरौँजाको तीनसय घर हाराहारी स्थानान्तरण गर्नुपर्ने भनेर अध्ययनले देखाएको छ’ कार्कीले भने ‘स्थानान्तरणका लागि पिडितले पाउने दुई लाख रुपैँयाको मागदाबी फारम केरौँजा पठाउन लागेका छौँ । त्यसपछि हामी रकम माग गर्छौँ । स्थानान्तरणका लागि दुई लाख लिनुभएकोहरुले घर बनाउन सरकारी अनुदानको तीन लाख रुपैँया पनि पाउनुहुनेछ ।’ जिल्ला दैवीप्रकोप उद्धार समितीलाई केरौँजा गाउँ स्थानान्तरण गर्न पुननिर्माण प्राधिकरणले पत्रचार नै गरेपनि अहिले सम्म सुरक्षित स्थानको खोजी हुन सकेको छैन । कामी गाउँ पहिरोको उच्च जोखिममा रहेको स्थानीय शिक्षक सञ्जय ढकालले पनि जानकारी दिए । केरौँजामा नेपाली सेनाले बनाएको अस्थायी सामुहिक आवास पनि पहिरोको चपेटामा परेको छ ।

मान्बुमा पनि पहिरो
आरुघाट गाउँपालिका १ को मान्बुको स्याम्चेतमा पहिरो जाँदा ६५ घर जोखिममा परेको छ । नियमित पहिरो खस्न थालेपछि गाउँलेहरुले घर छोडेर हिँड्न थालेका छन् ।

पहिरोले विस्थापितहरुलाई नेपाल प्रहरीको सहयोगमा सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । पहिरोले स्थानीयको घरमा पु¥याएको क्षति बारे जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बीरेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्