बिमस्टेक मन्त्री स्तरीय बैठक शुरू



 

काठमाडौं, (नेस)
दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाली मुलुकलाई जोड्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) ले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ।

समान संस्कृति, इतिहास र भूगोलले क्षेत्रीय सहकार्यमा सघाउ पुर्याएको उहाँको भनाइ छ। विमस्टेकको १५औं मन्त्रीस्तरीय बैठकको उद्घाटनका अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘बुद्धिजमले सबै मानवजातिको आस्था, आपसी सम्बन्ध र विश्वासलाई नजिक्याएको छ, क्षेत्रीय सहकार्यका लागि बिमस्टेक कोशेढुंगा बन्न सक्छ।’

यद्यपि दक्षिण एसिया र दक्षिण पूर्वी एसियमा विद्यमान संक्रमणकालीन अपराध, लागूऔषध र हतियार ओसारपसारले क्षेत्रीय शान्ति र सद्भाव बिथोल्ने प्रयास गरेको उहाँले बताउनुभयो।

नेपाल आपराधिक गतिविधिको पक्षमा नरहेको प्रधानमन्त्री देउवाले प्रस्ट्याउनुभयो। विद्यमान गरिबी, जलवायु परिवर्तन, प्राकृतिक प्रकोपजस्ता कुराले क्षेत्रीय सहकार्यमा चुनौती थपेको उल्लेख गर्दै उहाँले परिणाममुखी नतिजाका लागि एक अर्को मुलुकबीच गतिलो हातेमालोको आवश्यकता औंल्याउनुभयो। देउवाले भन्नुभयो– ‘क्षेत्रीय सहकार्य रहर होइन, बाध्यता हो, नेपाल क्षेत्रीय सहकार्यका साथ आर्थिक समृद्धि हासिल गर्न चाहन्छ।’

नयाँ संविधान जारी गरेपछि नेपाल आर्थिक समृद्धिको पथमा अघि बढिरहेको, संविधान कार्यान्वयन र विद्यमान राजनीतिक संक्रमण अन्त्यका लागि सबै पक्षलाई समेटेर विभिन्न चरणको निर्वाचनमा जुटेको विमस्टेक सदस्य मुलुकका प्रतिनिधिलाई अवगत गराउनुभएको थियो।

१५औं विदेश मन्त्रीस्तरीय बैठकको कार्यक्रम सत्र आज शुक्रबार शुरू हुँदै छ। विदेश मन्त्रीस्तरीय बैठक सन् २०१४ को मार्चमा म्यानमारको नेपीतोमा सम्पन्न तेस्रो बिमस्टेक सम्मेलनपछिको महत्त्वपूर्ण जमघट हो।

बिहीबार बैठकको उद्घाटन सत्रमा बोल्दै उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भूपरिवेष्ठित र अल्पविकसित मुलुकको आर्थिक समृद्धिका लागि बिमस्टेक जस्ता क्षेत्रीय निकाय पृथक् मञ्च बन्न सक्ने धारणा राख्नुभयो। बिमस्टेक स्थापनाको २ दशक अवधि पुगे पनि परिणामुखी नतिजा प्राप्त नभएको स्वीकार्दै उहाँले यसका लागि सदस्य मुलुकहरूबीच गतिलो साझेदारी अपरिहार्य रहेको बताउनुभयो।

यसका लागि कनेक्टिभिटी, स्वतन्त्र व्यापार सम्झौता, पारवहन, ऊर्जा जस्ता विषयमा परिणामुखी सहकार्य जरुरी भएकोमा मन्त्री महराले जोड दिनुभयो। सो अवसरमा बोल्दै बिमस्टेकका महासचिव सुमित नाकालान्दाले सदस्य मुलुक बीचको स्वतन्त्र व्यापार सम्झौताका लागि नेपालमा केहीपछि आयोजना हुने चौथो बिमस्टेक शिखर सम्मेलनले टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो। बिमस्टेक अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय निकायजस्तो नभएर मौलिक र पृथक नमुना बन्ने उहाँको दाबी छ।

यसैबीच सदस्य राष्ट्रका विदेश सचिव र उच्च अधिकारी संलग्न १८औं बैठकले क्षेत्रीय सहकार्यलाई प्रभावकारी बनाउन माउन्टेन इकोनोमी र ब्लु इकोनोमीलाई जोड दिएको छ। नेपाल जस्ता भू–परिवेष्ठित मुलुकलाई माउन्टेन तथा समुन्द्रसँगको पहुँचमा रहेका ब्लु इकोनोमीको अवधारणा अघि सारिएको छ।

बैठकले क्षेत्रीय व्यापार र लगानी, प्रविधि, ऊर्जा, यातायात र सञ्चार, कृषि, साँस्कृतिक सहकार्य जस्ता विषयलाई परिणाममुखी बनाउनुपर्नेमा बैठकमा विस्तृत छलफल भएको सो बैठकको अध्यक्षता गर्नुभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो। चौथो सम्मेलनको मिति आज शुक्रबारको मन्त्रिस्तरीय बैठकले तय गर्ने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्