खुम्चियो टक्सार



अब स्मारिका सिक्का, असर्फी र पदक छपाइमा मात्रै सीमित

ईश्वरराज ढकाल, काठमाडौं
करिब १५ वर्षदेखि सिक्का छपाइ गर्न छाडेको टक्सार महाशाखा अहिले स्मारिका सिक्का, असर्फी र पदकमा मात्र सीमित हुन थालेको छ। विभागले २०५८ सालमा ५० पैसा दरको सिक्का छापे पनि हालसम्म कुनै पनि सिक्का छापेको छैन।

हाल राष्ट्र बैंकले नगन्य मात्रामा विदेशबाट सिक्का छपाइ गर्दै आएको छ। दक्ष कर्मचारीको अभाव र पुरानो मेसिनले काम गर्न छाडेपछि थोरै संख्याको स्मारिका सिक्का छपाइ गर्न थालेको हो। करिब ३ सय कर्मचारीबाट घटेर २५ मा सीमित महाशाखाले सिक्काको चलन हराउँदै गएको कारण छपाइ गर्न छाडेको हो।

टक्सार महाशाखाका प्रमुख उद्धवलाल रञ्जितकारले सरकारले सिक्का छपाइ गर्न छाडेको बताउनुभयो। महाशाखाले सरकारी निर्णयअनुसार विभिन्न निकाय र राष्ट्रिय व्यक्तित्वको स्मारिका सिक्का छपाइ गरिरहेको रञ्जितकारले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘करिब १५ वर्षदेखि सिक्का छपाइ गर्न छाडेका छौं। स्मारिका सिक्का तथा दशैं र तिहारमा असर्फीमात्रै छपाइ गरिरहेका छौं।’

महाशाखाले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ र गणतन्त्र नेपालको संविधान २०७२ को संविधानको स्मारिका सिक्का छपाइ गरेको छ। महाशाखा प्रमुख रञ्जितकारले २०७२ सालको संविधानको २ हजार रुपियाँ उल्लेख गरिएको ८ हजार थान स्मारिका सिक्का छपाइ गरी विक्री गर्दै आएको छ।

महाशाखाले १ सय मूल्य उल्लेख गरिएको २० हजार स्मारिका सिक्कासमेत प्रकाशन गरेको छ। हाल १ सय रुपियाँ उल्लेख गरिएका सिक्का पूर्णरूपमा सकिएको छ। २ हजार उल्लेख गरिएका सिक्का टक्सार महाशाखाबाटै विक्री भइरहेको प्रमुख रञ्जितकारले जानकारी दिनुभयो। स्मारिका सिक्कामा रकम उल्लेख गरेपछि सो सिक्का किनबेच हुँदैन।

हाल महाशाखाले गणेशमान सिंहको २ हजार, गोरखापत्र संस्थानको २ हजार, १८औं सार्क शिखर सम्मेलन र आदिकवि भानुभक्तको सिक्का छपाइ गरिसकेको छ। पूर्वराजा ज्ञानेन्द्रको सिक्का बजारमा ल्याइएको छैन। हाल महाशाखासँग ७५ थान मेसिनमध्ेय ४ वटा मात्रै सञ्चालनमा रहेका छन्। १५ वटा काम लाग्नेमध्ये हाल ४ वटा सञ्चालनमा आएको प्रमुख रञ्जितकारले जानकारी दिनुभयो।
नेपाल राष्ट्र बैंकअन्तर्गत रहेको टक्सार विभागको कार्यालयसमेत अस्तव्यवस्त रहेको छ। २०७२ सालको भूकम्पले महाशाखाको अधिकांश भवन चर्केको छ। ‘तापनि स्मारिका सिक्का र असर्फी छपाइ गर्न छाडेका छैनौं।’ –प्रमुख रञ्जितकारले भन्नुभयो।
सो कार्यालयको ढुकुटीमा गालिएको सुन, चाँदी, विभिन्न सरकारी निकायले उपलब्ध गराएको सुन, चाँदीलगायत ढुकुटीमा राखिएको छ।

महाशाखाले हाल सुन, चाँदी, गाल्ने गुणस्तर परीक्षण गर्नेलगायतका काम गर्दै आइरहेको छ। बजारमा चलनचल्तीको सिक्का छपाइ गर्न छाडे पनि अन्य काम जारी राखेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्