राजधानीमा ७ प्रतिशत घर मात्रै सुरक्षित



मधुसूदन रायमाझी, काठमाडौं
रैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरू सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्प प्रतिरोधी घर निर्माण भएको अनुमान हुन सक्छ। तर नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म ७ प्रतिशत घरहरू मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरेको पाइएकाले ती घर मात्रै सुरक्षित ठानिएको छ। सरकारले भूकम्प प्रतिरोधी प्रविधिको घर निर्माणका लागि भवनसंहिता लागू गरेको वर्षौं बिते पनि नागरिकहरूमा भूकम्प प्रतिरोधी घर निर्माण गर्ने चेतनामा भने विकास हुन सकेको छैन।

भूकम्प गएपछि सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि कार्यान्वयन तहमा जोड दिए पनि र नागरिकहरूले इन्जिनियरमार्फत नक्सा बनाएर पास गर्ने गरे पनि आफूखुसी घर निर्माण गर्ने गरेको पाइएको छ। नक्सा पास गरेर घर निर्माण शुरू गरे पनि मापदण्ड पालनामा भने अझै पनि घरधनीहरूले बेवास्ता गर्ने गरेका छन्।

काठमाडौं उपत्यकामा निर्माण भएका ७ प्रतिशत घर मात्र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण भएको पाइएको छ। सरकारी निकायको प्रभावकारी अनुगम र स्वयं घरधनीले नक्सा पास गरे पनि प्राविधिक सल्लाहबिना नै हचुवामा निर्माण गर्दा राजधानीमा ७ प्रतिशत घर मात्र भूकम्प प्रतिरोधी रहेको तथ्याङ्कले देखाएको छ।

शहरी विकास मन्त्रालयको नेतृत्वमा जापान सरकारको सहयोगमा जाइकाले गरेको अध्ययनले राजधानीको ७ प्रतिशत मात्र घर भूकम्प प्रतिरोधी रहेको र बाँकी ९३ प्रतिशत भूकम्प प्रतिरोधी नभएको देखाएको छ। राजधानी काठमाडौं भूकम्पीय दृष्टिकोणले पनि जोखिममा रहेको विभिन्न अध्ययन र अनुसन्धानले देखाएको छ।

जाइकाको रिपोर्टअनुसार उपत्यकामा ७ प्रतिशत भवनहरू मात्र भूकम्प प्रतिरोधी प्रविधि अपनाएर निर्माण भएको शहरी विकास मन्त्रालयका प्रवक्ता डा. रमेशप्रसाद सिंहले बताउनुभयो। उहाँका अनुसार तथ्याङ्कलाई आधार मान्ने हो भने भविष्यमा जाने भूकम्पबाट ४५ प्रतिशतभन्दा बढी भवनहरूमा क्षति पुग्नेछ।

प्रवक्ता सिंहले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘सम्भावित क्षति रोक्नका लागि अब बन्ने घरहरू र साबिकका घरहरू भूकम्प प्रतिरोधी बनाउनुपर्छ, भूकम्प प्रतिरोधी घर निर्माण गर्नका लागि स्वयं घरधनी नै बढी सचेत हुनुपर्छ।’

जाइकाको तथ्याङक अनुसार भविष्यमा भवनमा हुने क्षतिबाट काठमाडौं उपत्यकामा ३५ हजारभन्दा बढी मानिसहरूको मृत्यु र कूल जनसंख्याको ५ प्रतिशत घाइते हुनुको साथै ५८ प्रतिशतलाई स्थानान्तरण गर्नुपर्ने अनुमान गरिएको छ।

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको शहरी विकास तथा भवन निर्माण विभागले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि दक्ष डकर्मी र सिकर्मीको सहभागीता बढाउने उद्देश्यले तालिम प्रदान गर्ने काम गर्दै आएको छ। ‘विगतको भन्दा भूकम्प गएपछि घरधनीहरूमा भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्छ भन्ने चेतना जागेको छ’, प्रवक्ता सिंहले भन्नुभया– ‘देशभर १० प्रतिशत घर मात्र नक्सा बनाएर भूकम्प प्रतिरोधी प्रविधि बनेको छ, बाँकी ९० प्रतिशत घर हचुवाकै भरमा निर्माण गर्ने पाइएको छ।’

प्रतिक्रिया दिनुहोस्