७७ प्रतिशतमात्र रोपाईं सम्पन्न



नेपाल समाचारपत्र,काठमाडौं ।
साउनको सकिनै लाग्दा पनि मुलुकभर हालसम्म ७७ दशमलव ३ प्रतिशतमात्रै रोपाईं सम्पन्न भएको छ। मनसुन दु्रत गतिमा सक्रिय नहुँदा मुलुकभर हालसम्ममा १५ लाख ५३ हजार हेक्टर धान खेती गर्ने जमीनमध्ये ११ लाख ९५ हजार हेक्टर जमीनमा मात्रै रोपाईं भएको छ।

धान खेतीको मुख्य समय असार–साउन सकिनै लाग्दा पनि कुल धान खेती गरिने जमीनको १ चौथाई जमीनमा रोपार्इं गर्न बाँकी रहेको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकरप्रसाद सापकोटाले बताउनुभयो। ‘साउन अन्तिम र भदौको पहिलो सातासम्म पनि तराईका जिल्लामा रोपार्इं हुन्छ र भदौ पहिलो सातासम्ममा सबै रोपार्इं सकिएमा धान उत्पादनमा त्यसले असर पार्दैन।’ लगातार दुई तीन दिनसम्म झरी परेमा सबै रोपार्इं सकिने सापकोटाले बताउनुभयो।

कृषि प्रसार निर्देशनालयको साउन १६ गतेसम्म मुलुकभर भएको धान रोपाईंको विवरणअनुसार पूर्वाञ्चल विकास क्षेत्रमा हालसम्ममा सबैभन्दा कम रोपार्इं भएको छ। कुल ४ लाख ४६ हजार हेक्टर जमीनमध्ये हालसम्ममा २ लाख ९१ हजार हेक्टर जमीनमात्र रोपार्इं सम्पन्न भएको छ। जुन परिमाण कुल धान खेती हुने जमीनको ६५ दशमलव १९ प्रतिशत मात्र हो।

त्यस्तै मध्यमाञ्चल विकास क्षेत्रमा ४ लाख ४० हजार हेक्टर धान खेती हुने जमीनमा ३ लाख २३ हजार हेक्टर जमीनमा अर्थात ७३ दशमलव ५२ प्रतिशत मात्र सिँचाइ सम्पन्न भएको विवरणमा उल्लेख छ। पश्चिमाञ्चल विकास क्षेत्रमा कुल धान खेती हुने जमीनको ८८ दशमलव ९० प्रतिशत अर्थात २ लाख ७७ हजार ८ सय हेक्टर जमीनमा मात्र धान रोपाईं सकिएको छ। मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा हालसम्ममा ७३ दशमलव शून्य १ प्रतिशत रोपाईं सकिएको छ। कुल १ लाख ७८ हजार हेक्टर जमीनमध्ये १ लाख ३० हजार हेक्टर जमीनमात्र रोपार्इं सम्पन्न भएको छ।

त्यस्तै सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ९८ दशमलव ६६ प्रतिशत अर्थात १ लाख ७६ हजार हेक्टर जमीनमध्ये १ लाख ७४ हजार हेक्टर जमीन मात्र रोपाई सम्पन्न भएको छ। तराईका विभिन्न जिल्लामा अहिलेसम्म पनि धानको बेर्ना राख्न नपाएको प्रवक्ता सापकोटाले बताउनुभयो। ‘किसानले अहिले जग्गा बाँझै राख्नुपर्ने अवस्था आएपछि बीउ छरेर नै भए पनि धान खेती गर्न थालेका छन्।’

यसअघि कृषिमन्त्री रामकृष्ण यादवले तराईका जिल्ला सुख्खाग्रस्त अवस्थामा रहेको र उक्त समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिनुभयो। अनुरूप कृषि विकास मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत रवीन्द्र सुवेदीको संयोजकत्वमा ४ सदस्यीय टोलीले स्थलगत निरीक्ष्ँण गरिरहेको सहप्रवक्ता सापकोटाले बताउनुभयो। सापकोटाले भन्नुभयो–‘बास्तविक अवस्था कस्तो छ र अवस्था सुध्रिएन भने के गर्ने भनेर अध्ययन गरिरहेका छौं केही दिनभित्रै त्यसको रिपोर्ट आएपछि के गर्ने भनेर निर्धारण हुन्छ।’

गतवर्ष यस अवधिसम्ममा केही बढी रोपार्इं सकिइसकेको थियो तर यसवर्ष मनसुन सुस्त गतिमा चलिरहेका कारण केही कम रोपार्इं भएको सापकोटाले बताउनुभयो। तराईका जिल्लाका वर्षा हुन नसकी किसानले धान नपाइरहेको अवस्थामा उक्त क्षेत्रका देखिएको समस्या तत्काल समाधान गर्ने विषयमा मन्त्रालयले खटाएको टोली, जिल्ला कृषि विकास कार्यालयका प्रमुख र स्थानीय प्रशासनको उपस्थितिमा कार्यदल गठन गरी ती जिल्लामा सुख्खाग्रस्त क्षेत्रमा खटिएर यथार्थ स्थितिको अवलोकन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्