कानुनी दायरामा आए ट्यांकर

0
Shares

 

टीका बन्धन, काठमाडौं

काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्ने टइंकरलाई स्टीकर अनिवार्य गरिएपछि ४ सय २१ टइंकरले विभिन्न ३ रंगको स्टीकर अनुमति पाएका छन्। वितरण गरिने पानीको गुणस्तरका आधारमा टइंकरलाई निलो, हरियो र पहिलो स्टीकर तोकिएको हो।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले स्टिकरको व्यवस्था अनिवार्य गरेपछि ३ महिनाको अवधिमा १४ टइंकरले निलो स्टीकर पाएका छन् भने अधिकांशले हरियो स्टीकर पाएका छन्।

हरियो स्टीकर पाउने टइंकरको संख्या ३ सय ५६ छ भने ५१ ले पहेलो रंगको स्वीकृति पाएका छन्। पिउन योग्य पानी वितरण गर्ने टइंकरलाई निलो, घरायसी प्रयोजन र उमालेर मात्र पिउन योग्य वितरण गर्नेलाई हरियो र निर्माण तथा सरसफाइमा मात्र प्रयोग गर्न मिल्ने सेवा प्रदायकलाई पहेंलो स्टीकर तोकिएको छ।

निलो स्टिकर पाएका १४ वटै टइंकर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का छन् भने बाँकी सबै निजी क्षेत्रले पानी वितरणमा प्रयोग गर्नेले पाएका छन्। टइंकरले उपलब्ध गराउने पानीको गुणस्तर परीक्षणपश्चात् फरक–फरक स्टीकर तोकिएको खानेपानी बोर्डका कार्यकारी निर्देशक सञ्जिव राणाले बताउनुभयो। ‘हरेक टइंकरलाई स्टीकर अनिवार्य गरिएको छ’, उहाँले भन्नुभयो– ‘केयूकेएलको मुख्य प्रयोगशाला महांकालमा गरिने पानीको गुणस्तरपश्चात् स्टीकरको रंग वर्गीकरण गर्ने गरिएको हो।’

उपत्यकाका टइंकरले महांकाल, बाँसबारी, सैंबु, चोभारको खहरे, मातातीर्थ, बालाजु, गोंगबु, सानो भर्याङ, ठूलो भर्याङ, सीतापाइला, गोदावरी, हरिसिद्धि, जोरपाटी, भक्तपुरको झौखेललगायतका भूमिगत र सतही स्रोतको पानी संकलन गर्दै आएका छन्।

बोर्ड निर्देशक राणाका अनुसार केयूकेएलका टइंकरलाई महांकाल, बाँसबारी र सैंबुका स्रोतबाट मात्र पानी भर्न अनुमति दिइएको छ। मनोमानी ढंगले पानी वितरण गरिने कार्यलाई निरुत्साहित गर्न पानीको गुणस्तर कायम गर्न यस्तो व्यवस्था अनिवार्य गरिएको उहाँले प्रस्टइउनुभयो।
टइंकरमार्फत वितरण भएको पानीमा स्वास्थ्यमा हानी पुर्याउने जीवाणु भेटिएमा त्यस्तो कार्यमा संलग्न रहनेलाई १ वर्ष कैद सजाय हुने प्रावधान छ। त्यसैले टइंकरमा प्रस्ट देखिने गरी राखिनुपर्ने स्टीकरमा स्टीकरको रंग, टइंकरको क्षमता, स्टीकर लाइसेन्स नम्बर, पानी भर्नका लागि तोकिएको स्रोतलगायतका बेहोरा खुलाइएको हुन्छ।

शुद्ध खानेपानी वितरणका लागि राष्ट्रिय खानेपानी मापदण्ड २०६२ ले स्पष्ट व्यवस्था तोकेको छ। सो मापदण्डका आधारमा गत वैशाख ५ गतेदेखि यस्तो व्यवस्था अनिवार्य गरिएको भए पनि उपत्यकामा पानी वितरणका लागि के कति टइंकर सञ्चालनमा छन् भन्ने यकिन तथ्यांक बोर्डसँग छैन।

अहिले करिब ६ सयका हाराहारीमा पानी टइंकर रहेको बोर्ड अधिकारीहरूको प्रारम्भिक अनुमान छ। गत फागुन तेस्रो साता उपत्यकाबाट २० वर्षे पुराना भाडाका सवारी हटाइएपछि केही टइंकर नवीकरणमा नपरेको अनुमान गरिएको छ। तर स्टीकर इजाजतसँगै अनुगमन कार्यसमेत अघि बढाइएकाले २० वर्षे अवधि नपुगेका बाँकी टइंकर छिट्टै पछिल्लो कानुनी प्रक्रियामा आउने बोर्डका वरीष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता योगेन्द्रबहादुर बम दाबी गर्नुहुन्छ। उहाँका अनुसार थप ४० टइंकर स्टीकर पाउने प्रक्रियाको अन्तिम चरणमा रहेका छन्।
केही महिनाभित्र उपत्यकामा मेलम्चीको पानी घर–घरै पुग्ने भएपछि केही व्यवसायी भने स्टीकर व्यवस्थामा आउन नचाहेको अनुमान गरिएको छ। स्टीकर इजाजत अनिवार्य गरिएपछिको वार्षिक नवीकरण शुल्क सबै प्रकारका टइंकरका लागि २ हजार तोकिएको छ।