तीन शीर्ष, नेताको उद्घोष



आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण

काठमाडौं, (नेस)
आर्थिक समृद्धिका लागि एकै मञ्चबाट देशका प्रमुख तीन पार्टीका नेताले सहकार्य, सहमति र लगानीमैत्री वातावरणका लागि प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल उद्योग परिसंघको १४औं वार्षिक साधारणसभाको उद्घाटनका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल र केपी शर्मा ओलीले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यापार घाटा बढ्दै गएकाले नेपालले निर्यात बढाउनुपर्नेमा जोड दिनुभयो। यसका लागि देशमा उद्योगधन्दा स्थापना गर्न सरकारले सबैखाले सहयोग गर्ने बताउनुभयो।

उहाँले देश संघीयतामा गइसकेकाले सातवटै प्रदेशमा उद्योग स्थापनाका लागि सरकार तयार रहेको दाबी गर्नुभयो। प्रधानमन्त्री देउवाले सरकारले लगानीमैत्री वातावरण तयार गर्न प्रतिबद्ध रहेको बताउनुहुँदै व्यवसायी र उद्योगीलाई लगानी बढाउन आग्रह गर्नुभयो। उहाँले पुँजी परिचालन गरेर उद्योगधन्दा खोल्दा आर्थिक मेरुदण्ड मजबुत हुने पनि बताउनुभयो।

कार्यक्रममा सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष ओलीले राजनीतिक संक्रमणको गतिरोध कम हुँदै गएकाले अब आर्थिक विकासमा लाग्नुपर्ने बताउनुभयो। उहाँले नेपाललाई विकसित मुलुकको सूचीमा पुर्याउनका लागि लगानी बढाउन उद्योगी व्यवसायीलाई अनुरोध गर्नुहुँदै नेपालमा लगानी वातावरण सिर्जना हुँदै गएको बताउनुभयो।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीति परिर्वतन भइसकेकाले देशले आर्थिक समृद्धिमा जोड दिनुपर्नेमा बताउनुभयो।

उहाँले नेपालका युवाहरू खाडीमा रोजगारका लागि जानुपर्ने बाध्यतालाई रोक्न निजी क्षेत्रले मद्दत गर्नुपर्ने बताउनुहुँदै यसका लागि उद्योगधन्दाको विकासमा जोड दिनुपर्ने जिकिर गर्नुभयो।

कार्यक्रममा बोल्नुहुँदै चर्चित उद्योगपति विनोद चौधरीले सरकारले उद्योगी व्यवसायीसम्बन्धी कानुन बनाउँदा उद्योगी व्यवसायीलाई चोरको संज्ञा दिएर बनाउने गरेको भन्नुहुँदै उद्योगी व्यापारीलाई चोर देख्ने कानुन तत्काल खारेज गर्नुपर्ने माग गर्नुभयो ।

चौधरीले पछिल्लो २५ वर्षमा गरिएको विकास निर्माणको काम आगामी ५ वर्षभित्रै सम्पन्न गर्न राजनीतिक नेतृत्व मिल्नुपर्ने धारणा पनि राख्नुभयो । उहाँले संघियतासँगै निर्माण गरिएका सात वटा प्रदेशहरू कर संकलनको केन्द्रमात्रै बन्ने अवस्था नल्याउन राजनीतिक नेतृत्वलाई सुझाव पनि दिनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालीलाई पनि विदेशमा लगानी गर्ने बाटो खुल्ला गर्नुपर्ने तथा कन्ट्री अफ ओरिजिनको प्रमाणपत्र जारी गर्ने अधिकार सिएनआईलाई दिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अब सरकार र निजी क्षेत्र मिलेर मुलुकलाई आर्थिक विकास र समृद्धिको बाटोमा लाग्नुको विकल्प नभएकाले सहकार्य गरेर अगाडि अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्