डीएसपीसहित ११ प्रहरीलाई कारबाहीको सिफारिस, अभियुक्तलाई भगाउन भूमिका खेलेको निष्कर्ष



 

मधुसूदन रायमाझी, काठमाडौं
साढे ५ वर्षअघि रामेछापको लिखु गाउँपालिका–२ सैपुकी १४ वर्षीया सुन्तली तामाङको हत्यामा संलग्न श्याम राउतलाई पक्राउ नगर्ने रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मा दाससहितका ११ जना प्रहरीलाई विभागीय कारबाही हुने भएको छ।

साढे ५ वर्षअघि डीएसपी दासले अभियुक्त पक्राउ गरेर पनि छोडेको निष्कर्षसहित मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको हो। मध्यक्षेत्रीय प्रहरी कार्यालयले सात जनालाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ भने चार जनालाई विभागीय कारबाहीका लागि प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेको छ।

तत्कालीन रामेछापका डीएसपी सञ्जीव शर्मा दास, प्रहरी निरीक्षक सन्तोषकुमार पोखरेल, प्रहरी नायब निरीक्षक नरबहादुर श्रेष्ठ र प्रहरी हवल्दार शान्ताकुमारी खड्कालाई विभागीय कारबाही गर्न मध्यक्षेत्रीय प्रहरी कार्यालयले प्रधान कार्यालयलाई सिफारिस गरेको हो। विभागीय कारबाही गर्नका लागि प्रहरी प्रधान कार्यालयले अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताइएको छ।

मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले सुन्तली तामाङ हत्याकाण्डमा अभियुक्त पक्राउ गर्न बेवास्ता गरेको भन्दै सात जनालाई विभागीय कारबाही गर्ने भएको छ। विभागीय कारबाहीमा पर्नेमा प्रहरी नायब निरीक्षक राजेन्द्र खरेल, प्रहरी सहायक निरीक्षक टलकबहादुर भण्डारी, प्रहरी सहायक निरीक्षक फणीन्द्रकुमार थापा, प्रहरी हवल्दार रामलाल श्रेष्ठ, प्रहरी हवल्दार शिवशंकरकुमार सिंह, प्रहरी हवल्दार निरसकुमार साह र प्रहरी जवान भरत केसी रहेका छन्।

प्रहरी नियमावली २०७१ बमोजिम कसुरको मात्राअनुसार विभागीय कारबाही गरिने प्रावधान रहेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मध्यक्षेत्रीय प्रहरी कार्यालयले सिफारिस गरेअनुसार हामीले अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं।’

प्रहरीको नियमावलीमा संगठनभित्र गलत काम गर्नेलाई नसिहत वा सेवाबाटै हटाउन सकिने प्रावधान छ।

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाले विभागीय कारवाहीअनुसार ७ जनालाई हाल कार्यरत अपराध अनुसन्धान शाखाबाट हटाउने निर्णय गरेको छ। प्रहरी विभागीय कारवाहीमा घटुवा, ग्रेड रोक्का, बर्खास्त, बढुवा रोक्कालगायतका कारवाही गर्नुपर्ने भए पनि सामान्य औपचारिकता पूरा गरेको स्रोतको दाबी छ।

साढे ५ वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले भारतमा लुकिलिपी बसेको अवस्थामो विशेष सूचनाको आधारमा नेपाल–भारत सीमा सुनौलीबाट यही असार ११ गते पक्राउ गरेको थियो। दोषीलाई उन्मुक्ति दिने शर्मा नै दोषी रहेको निष्कर्षसहित प्रहरीले विभागीय कारवाहीका लागि सिफारिस गरेको हो। अभियुक्त भगाउने शर्मालाई प्रहरीले अहिलेसम्म कुनै विभागीय कारवाही गरेको थिएन। प्रहरीले पत्रकार सम्मेलन गरेर नै अभियुक्त सार्वजनिक गरेपछि पीडित सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले छोरीको हत्यामा संलग्न दोषीलाई तत्कालीन रामेछापका डीएसपी शर्माले नै छोड्दा आफूले न्यायका लागि धन सम्पत्तिसमेत सिध्याएको गुनासो गरेपछि प्रहरीले पुनः छानबिन गरेर विभागीय कारवाही प्रक्रिया अगाडि बढाएको छ।

पीडित तामाङले दोषी डीएसपी शर्मालाई कारवाही गर्नुपर्ने माग राखेपछि मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआईजी गणेश केसीले घटनाको छानबिन गरेर दोषीलाई कारवाही गर्ने आश्वासन दिनुभएको थियो। लगत्तै डीआईजी केसीले अभियुक्त सार्वजनिक गरेको भोलिपल्ट नै अञ्चल प्रहरी कार्यालय जनपुरका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चौधरीलाई घटनाको छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको थियो। प्रतिवेदनअनुसार दोषीलाई उन्मुक्ति दिने ११ जनालाई विभागीय कारवाही प्रक्रिया अगाडि बढेको हो।

क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डीआईजी गणेश केसीले रामेछापको सुन्तली तामाङको हत्या काण्डको घटनाका बारेमा अध्ययन गरेर छानबिनबाट आएको प्रतिवेदनका अनुसार दोषी प्रहरीहरूलाई विभागीय कारवाहीको प्रक्रिया अगाडि बढाइएको नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँले नेपाल समाचापत्रसँग भन्नुभयो– ‘संगठनको जिम्मेवारी लिएका व्यक्तिहरूले दोषीलाई उन्मिुक्ति दिदा फरार अभियुक्त पक्राउ गर्न संगठनलाई ५ वर्ष लाग्यो, ज–जसले गल्ती गरेका छन, उनीहरूलाई विभागीय कारवाही हुन्छ।’ उहाँले प्रहरीले फरार अभियुक्तलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको बताउँदै आगामी दिनमा पनि यस्ता घटना दोहोरिन नदिन विभागीय कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताउनुभयो।

तत्कालीन रामेछापका डीएसपी सञ्जीव शर्मा दास सहितको टोलीमा रहेर व्यावसायिक कुशलतापूर्वक काम गर्नुपर्नेमा दोषीलाई उन्मुक्ति दिने र लापरबाही गर्दा अपराधी तत्काल पक्राउ परे पनि कानुनी दायरामा ल्याउने काम हुन नसकेको देखिएको छ, उहाँले भन्नुभयो।

दासपछि रामेछापमा नियुक्त भएका तत्कालीन डीएसपीले पनि अभियुक्त पक्राउ नगरी अदालतमा सरकारी वकिलमार्फत अभियोग दायर गराउनु पनि गलत भएको छानबिनबाट खुलेको छ। प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग दायर गरे पनि सरकारी वकिलले फिर्ता गर्नुपर्ने थियो। रामेछापका तत्कालिक जिल्ला न्यायाधिवक्ता वासुदेव लम्सालले सो अभियोग पत्र जिल्ला प्रहरी कार्यालयमा फिर्ता नगरी जिल्ला अदालत रामेछापमा अभियोग पत्र दायर गर्नुलाई गलत भएको बताइएको छ। अपराधी पक्राउ नगरी अदालतमा पुर्याउने प्रहरीलाई पनि विभागीय कारबाही हुन्छ, तत्कालीन रामेछापमा रहेका प्रहरी प्रमुखको टिममा रहेकाहरूको कमजोरीका कारण दोषी लामो समयसम्म पक्राउ गर्न नसकिएको निष्कर्ष निकालेका छौं, –उहाँले भन्नुभयो।

तत्कालीन रामेछाप जिल्लाका प्रहरी प्रमुख डीएसपी दासले अभियुक्तलाई प्रहरी कार्यालयमा ल्याएर पनि छोड्दा अभियुक्त पक्राउ गर्नका लािग प्रहरीलाई ५वर्ष लागेको थियो। प्रहरीले विभागीय कारवाही गर्नुको सट्टा शर्मालाई महानगरीय प्रहरी बालाजु वृत्तको प्रमुख बनाउँदै हाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा खटाएको छ। राष्ट्रिय मानव अधिकार आयोगले सुन्तली तामाङलाई रामेछापका तत्कालीन गाविस सैपु–१ को खुर्दुकी भन्ने स्थानमा श्याम राउतले कर्तव्य गरी मारेको र घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयमा पटक–पटक किटानी जाहेरी गर्दा पनि डीएसपी शर्माले अनुसन्धान नगरेको उल्लेख गरिएको छ। प्रहरी प्रवक्ता खनालले घटनामा संलग्न भएका प्रहरीहरूका बारेमा प्रधान कार्यालयले अध्ययन गरेर विभागीय कारवाही शुरु गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्