नेपाल हुँदै मानसरोवर जाने बढे



 

टीका बन्धन, काठमाडौं
छिमेकी मुलुक चीन र भारतबीच भुटान र चीनको सीमाक्षेत्र दोकलाङको विषयलाई लिएर सम्बन्ध चिसिएपछिको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव नेपालमा पनि देखिन थालेको छ।

कैलाश–मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्रीले प्रयोग गर्ने आफ्नो भू–भागतर्फको बाटो चीनले बन्द गरेपछिको प्रभाव नेपालमा परेको हो।

नेपालतर्फको बाटो भएर मानसरोवर ओहोरदोहोर गर्ने भारतीय पर्यटकको संख्या बढेको मानसरोवर केन्द्रित सेवा सञ्चालन गर्दै आएका व्यवसायीको अनुभव छ। तिब्बती भू–भागमा अवस्थित कैलाश–मानसरोवर हिन्दू तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल हो। सो स्थान हुम्लाको सिमिकोट हुँदै पुग्न सकिन्छ। विगतका वर्षको तुलनामा यसपटक हुम्ला हुँदै मानसरोवर जाने भारतीय तीर्थयात्रीको संख्या बढेको भिजिट कर्णाली टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक राजु कार्कीले जानकारी दिनुभयो।

‘गत वर्ष औसतमा २ हजार भारतीय पर्यटक सिमिकोट हुँदै मानसरोवर पुगेका थिए भने यसपटक जुन महिनासम्म ५ हजारभन्दा बढी भारतीयहरू त्यहाँ पुगिसकेका छन्।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

अंग्रेजी महिनाको मेदेखि सेप्टेम्बरसम्म तीर्थालु मानसरोवर यात्रामा निस्कने गर्छन्।

सीमा विवादपछि गत गत महिना चीनले आफ्नो भू–भागतर्फको नाथुला पास भारतीय पर्यटकका लागि बन्द गरेपछि भारतीयले नेपाली बाटो रोजेको हुनसक्ने कार्कीको अनुमान छ।

भारतीय, नेपाली र अन्यत्रका तीर्थालु⁄पर्यटक काठमाडौं–नेपालगन्ज, नेपालगन्ज–हुम्लाको हवाईयात्राबाट सिमिकोट पुग्ने गर्छन् भने त्यहाँबाट चार्टर गरिएका हेलिकप्टरमार्फत नेपाल–चीन सीमा क्षेत्रसम्म पुग्ने गर्छन्। सीमा क्षेत्रबाट भने चिनियाँ गाडी चढेर गन्तव्यमा पुग्न सकिने टच कैलाश ट्राभल्स एन्ड टुर्सका पथप्रर्दशक विष्णु राउतले जानकारी दिनुभयो।

उहाँका अनुसार सिमिकोट हुँदै सो गन्तव्यमा पुग्ने तीर्थालुमध्ये ९५ प्रतिशतका हाराहारीमा भारतीय, त्यसपछि नेपाली र केही संख्यामा गैरआवासीय नेपाली र बाँकी अन्य मुलुकका छन्। करिब २ दर्जन नेपाली कम्पनीले कैलाश यात्रा केन्द्रित सेवा सञ्चालन गर्दै आएका छन्। यसपटक नेपाल हुँदै मानसरोवर जाने भारतीय तीर्थालुको संख्या बढ्ने मुख्य कारण चिनियाँ प्रभाव भए पनि प्रस्ट रूपमा भारतीयले चीनियाँ कारण बताउन नचाहेको व्यवसायी बताउँछन्।

भारत–चीनको पछिल्लो सम्बन्धपछि केही भारतीय तीर्थयात्रीले बुकिङ गरेको प्याकेज रद्द गराउन चाहेको एक व्यवसायीले बताए। ‘तिब्बत पुगेपछि आफूहरूसँग चिनियाँहरूले गर्ने व्यवहार के कस्तो होला भन्दै भारतीयले सोध्ने र बुझ्ने गरिरहेका छन्, केहीले पहिला बुक गरेको प्याकेज रद्द पनि गराएका छन्।’ –ती व्यवसायीले भने।

भुटान र चीनको सीमा क्षेत्र दोकलाङमा चीनले आफ्नो भू–भाग हुँदै सडक विस्तार गरेपछि गत महिनादेखि चीन र भारतबीचको विवाद प्रस्टरूपमा बाहिरिएको छ। भुटान र चीनको सीमाक्षेत्र भारत र भुटानमा दोक्लाम भनेर चिनिएको छ भने चिनियाँहरू दोङलाङ भनेर बुझ्ने गर्छन्।

सन् १८५० मा तत्कालीन तिब्बत र भुटानबीच भएको सीमा सम्झौताअनुसार दोङलाङ सीमा क्षेत्रसम्मको भू–भाग आफ्नो मुलुकको भएको चीनको दाबी छ। त्यसैले भारतीय सीमाले प्रस्टरूपमा नछोएको क्षेत्रमा भारतीय हस्तक्षेप अस्वीकार्य हुने चीनको तर्क छ।

भुटानको रक्षा र परराष्ट्र नीतिमा भारतीय प्रभाव रहँदै आएकाले अहिले भारतले सो क्षेत्रमा आफ्नो प्रभाव देखाएको कूटनीतिक मामिलाका जानकारहरू बताउँछन्।

दुवै मुलुकबीचको पछिल्लो सीमा विवादको विषयमा नेपालले अनावश्यक चासो लिन नहुने उप–प्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताउनुभएको छ। बुधबार सञ्चारकर्मीहरूसँगको भेटवार्तामा मन्त्री महराले भन्नुभयो– ‘नेपाल सरोकारवाला भएर सो विषयमा बोल्नु उचित हुँदैन, तर शान्तिपूर्ण संवादमार्फत निकास निकाल्न दुवै मुलुकलाई हाम्रो आग्रह छ।’

अहिले भारत–चीनबीचको वाक युद्ध सतहमा आएपछि दुवैतर्फबाट सीमा क्षेत्रमा सैन्य बल बढाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सो क्षेत्रमा थप अप्रिय घटना हुने संकेत देखिएमा नेपाल तटस्थ रहेर वार्तामार्फत समस्या समाधानका लागि दुवै मुलुकलाई अपिल गर्नुपर्ने पूर्व राजदूत हिरण्यलाल श्रेष्ठ बताउनुहुन्छ।

उहाँले नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘चीन–भारतबीच सन् १९६२ को युद्धको समयमा पनि नेपाल मौन थियो, तटस्थ थियो, यदि अहिले अप्रिय परिस्थिति सृजना भयो भने नेपालले शान्तिपूर्ण वार्तामार्फत निकासका लागि छिमेकीलाई अपिल गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्