मरेको पशु फोहोरसँगै फाल्दा झन् दुर्गन्ध, नगरपालिकाले फोहोर फाल्ने ठाउँ अझै भेटेन



सडकमा मरेको गाई

नेपाल समाचारपत्र, बाँके । एक दिनअघि न्यूरोडमा एउटा गधा म¥यो । स्थानीयले खबर गरेपछि नेपालगञ्ज उपमहानगरपालिकाको टोली पुग्यो । मरेको गधालाई कहाँ लगेर फाल्ने समस्या भयो । नगरपालिकाको टोलीले नजिकै खाली जग्गा खोज्न थाल्यो । स्थानीयले नेपाल बैंक लिमिटेडको पछाडी रहेको खाली जग्गा देखाइदिएपछि त्यही खाल्टो खनेर गाडियो ।

नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा मरेका गाई, गधा, कुकुर, बिरालोलाई गाड्ने रणनीति बनाएको धेरै भएको छैन । खासमा फोहोर व्यवस्थापन गर्ने ठाउँको अभावमा छट्पटिरहेको नगरपालिकालाई फोहोरसँगै मरेको पशु फाल्दा नजिकका स्थानीयले चर्को विरोध गरेपछि पशुलाई गाड्ने रणनीति बनाएको सरसफाई शाखाका प्रमुख अशोक केसीले बताउनुभयो ।

३२ वर्षदेखि बुलबुलियास्थित व्यक्तिको निजी खाल्टो जग्गामा फोहोर फाल्दै आएको नगरपालिकालाई खाल्टो पुरिएपछि ती व्यक्तिले फोहोर फाल्न रोक लगाइएपछि समस्या भएको छ । केही दिन नजिकैको पप्पु कुरैसीको खाल्टो जग्गामा फोहोर फालेको नगरपालिकालाई स्थानीय व्यक्तिले चर्को विरोध र हात हाल्ने नै स्थिति आएपछि त्यहाँ फोहोर फाल्न बन्द गरिएको छ । फोहोरको गन्धले गर्दा जग्गाधनी राजी भएपनि स्थानीयले फोहोर फाल्न रोक लगाउने गरेका छन् ।

कुरैसीको जग्गामा फोहोर फाल्न रोक लागेपछि नगरपािलकाले पछिल्लो तीन दिन औद्योगिक क्षेत्र अगाडिको नालाछेउको खाल्टोमा फोहोर फालेको थियो । आपतकालिन अवस्थामा त्यहाँ फोहोर फालिएको सरसफाई प्रमुख केसीले बताउनुभयो । बुधबार भने भवानीयापुरको सम्पतसिंह सरदारको खाल्टो जमिनमा फोहोर फालिएको छ । ‘सरदारसँग मौखिक सहमति भएको छ, आज ६ ट्रिप फोहोर त्यही लगेर फालियो, सरसफाई शाखा प्रमुख केसीले भन्नुभयो, लिखित समझदारी हुने तयारीमा छौं । त्यो भयो भने २÷३ वर्ष फोहोर फाल्न ढुक्क हुन्छ ।’ नेपालगञ्ज बजारदेखि ६ किलोमिटर टाढा रहेको भवानीयपुरको यो ठाउँको वरिपरि घरहरु पनि नरहेकाले कसैको विरोध पनि नआउने केसीको भनाई रहेको छ ।

फोहोर फाल्ने ठाउँ नै नपाएर छट्पटिएको नगरपालिकाले बजारको फोहोर पनि राम्ररी नउठाएको स्थानीयको भनाई छ । नेपालगञ्ज–६ रामनगरका स्थानीयले जति खबर गर्दा पनि केही दिनदेखि नै नगरपालिकाले फोहोर नउठाएको गुनासो गरेका छन् । त्यसो त, नगरपालिकाले नगरमा संकलन हुने सबै फोहोर एकै दिन व्यवस्थापन गर्न सक्दैन । प्राथमिकताका आधारमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।

नेपालगञ्जमा दैनिक एक वा एक भन्दा बढी छाडा पशु सडकमा मरेका भेटिन्छन् । त्यसलाई पनि फोहोरसँगै लगेर फालिदिंदा दुर्गन्ध बढ्ने गरेको थियो । फोहोर र त्यसमा पनि मरेको पशुको गन्धले गर्दा जहाँसुकैका स्थानीयले फोहोर फाल्नमा रोक लगाउने गरेका थिए । पशु मात्रै होइन, बेवारिसे मानिसको शवलाई समेत नगरपालिकाले फोहोरसँगै लगेर फाल्ने गरेको थियो ।

मरेको पशुलाई फोहोरसँगै फाल्दा अझ बढी गन्ध आएर चर्को विरोधका स्वरहरु बढेपछि नगरपालिकाले पछिल्लो दिनमा पशुलाई गाड्ने रणनीति बनाएको हो । ‘वर्खामा झन् छाडा पशु मर्ने क्रम बढ्छ, हामीले यसलाई फोहोरसँगै नभई खाली जग्गाहरु खोजेर गाड्ने गरेका छौं, सरसफाई प्रमुख केसीले भन्नुभयो ।

नेपालगञ्ज बजारमा पाँच सय हाराहारीमा गाई, गधा छाडा छोडेको पाइन्छ । भारतबाट सस्तोमा गधा ल्याउने, काम गर्न सक्ने हुँदा काम खाने र बुढो, रोगी भएपछि सडकमा छोड्ने गरिन्छ । यस्ता पशु सडकमै मर्ने गर्दछन् । सडकमा मर्ने पशुको व्यवस्थापन नगरपालिकाले नै गर्नुपर्छ ।

पश्चिम नेपालको व्यापारिक केन्द्र, पुरानो नगरपालिका नेपालगञ्जले अहिलेसम्म फोहोर व्यवस्थापन गर्ने ठाउँ बनाएको छैन । कर्मचारीको मनपरी र जग्गा खरिदमै घोटालाको मानसिकताले गर्दा धेरै ठाउँमा डम्पिङसाइडका लागि जग्गा हेरे पनि ‘फाइनल’ हुन नसकेको जानकारहरु बताउँछन् । हिरमिनियामा गराउने भनेको डम्पिङ साइडको पनि दु्रतगतिमा काम हुन सकेको छैन ।

दैनिक संकलन हुने ३२ टनमा मुश्किलले २५ टन फोहोर व्यवस्थापन गर्ने नगरपालिकामा आएका जनप्रतिनिधिले अहिलेसम्म यस विषयमा खासै ‘चमत्कार’ गर्न सकेका छैनन् । सफा, स्वच्छ, हरियाली नेपालगञ्ज विजेता÷पराजित सबैको नारा थियो ।

प्रतिक्रिया दिनुहोस्