आर्थिक समृद्धिकका लागि नागरिक समाज जिम्मेवार



 

नेपाल समाचारपत्र
काठमाडौं
लुकलाई विकासको चरणमा प्रवेश गराउन र आर्थिक समृद्धि हासिल गर्नका लागि नागरिक समाजको भूमिका उल्लेख्य रहेको सरोकारवालाहरूले बताएका छन्। भौतिक उन्नति, सामाजिक परिवर्तन, मानवीय पुँजीको निर्माण र आर्थिक समुन्ययनतर्फको यात्रा तय गर्नका लागि विश्वका कैयौं राष्ट्रमा रूपान्तरणको आधारको रूपमा रहेको नागरिक समाजले नेपालमा पनि अगुवाई गर्नुपर्ने उनीहरूले बताएका हुन्।

‘नेपालको विकासमा नागरिक समाज संस्थाहरूको भूमिका’ विषयक शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले समाजसँग प्रत्यक्ष जोडिएका नागरिक समाज देशलाई विकासको चरणमा पुर्याउने महत्वपूर्ण स्टेक होल्डरका रूपमा रहेकोमा जोड दिए।

पूर्वमन्त्री गणेश साहले जीविकोपार्जनका रूपमा रहेको कृषिको व्यावसायिकरण र प्रविधिको सुधारबाट मात्रै आर्थिक विकासको लक्ष्य प्राप्ति हुने भन्दै यसतर्फ भूमिका खेल्न नागरिक समाजको ध्यानाकर्षण गराउनुभयो।

आर्थिक वृद्धि, गरिबीको उन्मुलन, संरचनात्मक, प्रवृतिगत र संस्थागत परिवर्तन तथा सुशासनबाट मात्रै समृद्धि आउने भन्दै उहाँले भन्नुभयो–‘एउटा किसानको आम्दानी बढ्यो भने त्यसको प्रभाव उसको परिवारमा मात्रै सीमित रहँदैन सिंगो राष्ट्र नै लाभान्वित हुन्छ।’ साउथ एसिया पार्टनरसिप–नेपाल (साप–नेपाल) ले युएसएआईडी⁄एफएचआई ३६० को सहयोगमा आयोजित कार्यक्रममा संस्थाका सदस्यसचिव तथा कार्यकारी निर्देशक नरेन्द्रप्रसाद जोशीले नेपालमा नागरिक समाज संस्थाले निकै उल्लेखनीय भूमिका खेलेको भन्दै व्यवस्थित अध्ययन, अनुसन्धान र प्रचार प्रसारको कमीले छवी राम्रो बनाउन नसकेको सन्दर्भमा अनुसन्धानमूलक अध्ययनको खाँंचो औंल्याउनुभयो।

प्राध्यापक आनन्द आदित्यले लोकतन्त्र र असल सुशासन प्रवद्र्धनको लागि नागरिक समाज संस्थाहरूको योगदानको साथै मुद्दाहरूको बारेमा भनाई राख्नु भएको थियो। इन्सेकका अध्यक्ष सुवोध प्याकुरेलले आर्थिक, सामाजिक र सांकृतिक अधिकारको प्रवद्र्धनमा नेपालका नागरिक समाज संस्थाको योगदान र आगामी भूमिकाको बारेमा प्रस्तुती दिनुभएको थियो। डा. साकेत विहारी ठाकुरले समावेशी विकासमा नागरिक समाज संस्थाको योगदानका बारेमा भनाइ राख्नुभएको थियो। अर्का वक्ता लैङिक तथा समावेशी विज्ञ कन्चन लामाले नागरिक समाज संस्थाले लैङिक विकासमा खेलेको भूमिका र वाइरलेस नेपालका उपाध्यक्ष राजेन्द्र पौडेल आफ्नो संस्थाले दुर्गम जिल्लामा सञ्चार प्रविधि विकासको लागि पुर्याएको योगदानको विषयमा प्रस्तुति दिनुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा व्यवस्थापिका सांसद सदस्य डा. सुवोध पोखे्रल, समाज कल्याण परिषदका उपनिर्देशक सञ्जयकुमार मल्लिक, प्राडा निरसिंह कुमार खत्री, एफएचआई ३६० का सुभम अमात्यलगायतले नेपालको विकासमा समाज संस्थाहरूले गरेका योगदानको बारेमा चर्चा गर्नुको साथै अझै धेरै मुद्दाहरू नागरिक समाज संस्थाले उठाउनुपर्नेमा पनि ध्यानाकर्षण गर्नुभएको थियो। मुलुकको राजनीतिक रूपान्तरणमा अगुवाईको भूमिका खेलेको नागरिक समाजले अबको आर्थिक रूपान्तरणको संघर्षको लागि पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनीहरूको सुझाव थियो। शक्तिशाली नागरिक समाजले नागरिकको वास्तविक पहरेदारी गर्न सक्छ भन्ने बहसले नेपालमा पनि चर्चा पाउँदै आएको छ।

 

प्रतिक्रिया दिनुहोस्