मुसा आउँछ? जोगिनुस्



भगवती तिमल्सिना, काठमाडौं
केही दिनदेखि आँखा रातो हुने, ज्वरो आउने र टाउको दुख्ने समस्याका कारण उपचारका लागि तीन दिनअघि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा भर्ना भएकी बारा गढीमाई नगरपालिका वडा नम्बर १६ की ३५ वर्षीया महिलामा स्क्रब टाइफसको संक्रमण देखिएको छ।

मुसाबाट सर्ने यो रोग मुसालाई टोक्ने थारकिर्नाजस्ता कीराको टोकाइका कारण मानिसमा सर्ने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ। यही साता टेकु अस्पतालमा भर्ना भएका एक जना बिरामीमा उक्त रोग पत्ता लागेको हो। टाइफाइडजस्तै संकेत देखिने स्क्रब टाइफस सामान्य रोग हो।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको ७० वटा औषधिमध्येको एन्टिबायोटिक डक्सी साइटिन क्याप्सुल ३ दिन प्रयोग गर्दा ज्वरो घटेमा रगत कल्चर भएर आउन्जेल बिरामी निको भइसक्छ। स्क्रबको औषधि नै डक्सी साइटिन नै हो। रोगको प्रकोप बढेको क्षेत्रमा स्वास्थ्यकर्मीले ध्यान दिएर स्वास्थ्य चौकीबाटै पनि यो औषधि चलाउँदै रगत कल्चर गर्न सकिन्छ। रोग सामान्य भए पनि समयमै पहिचान नहुँदा विगतमा जटिल बनेको डा. पुन बताउनुहुन्छ।

विगतका वर्षमा धरानमा स्क्रब फैलिँदा टाइफाइड भनेर उपचार गर्ने क्रममा केही बिरामीको मृत्यु भएको थियो। गत वर्ष पनि स्क्रब ज्वरो थुप्रै ठाउँमा देखिएको चर्चा आयो यही औषधिले निको भयो।

अहिले यो रोग परीक्षणका लागि किट रक्त परीक्षण केन्द्र, टेकूमा आएको छ। अन्यत्र परीक्षण किट नभएकाले आँखा रातो हुने, शरीरमा किराले टोकेजस्तो कालो दाग देखिने, अत्यधिक जोर्नी र टाउको दुख्ने भएमा टाइफसको औषधि खान शुरू गरी रगत परीक्षण गराउन डा. पुन स्वास्थ्यकर्मीलाई सल्लाह दिनुहुन्छ।

उहाँ थप्नुहुन्छ– ‘यो औषधि गर्भवती महिला र ८ वर्षमुनिका बच्चाहरूलाई दिनुहुन्न अन्यलाई दिँदा साइड इफेक्ट छैन। औषधि खान शुरू गरेको २ देखि ३ दिनभित्र ज्वरो घट्छ र रोग निको हुन्छ।

डा.पुन भन्नुहुन्छ– ‘नेपालमा सबैभन्दा पहिला यो रोगका बारेमा सन् २००४ मा पाटन अस्पतालमा अनुसन्धान गरिएको थियो। नेपालमा स्क्रब टाइफस जाडो र गर्मी दुबै समयमा देखा पर्छ। यो समस्या मुसा र किर्नाजस्तो देखिने किराका कारण सर्छ।’

शुरूमा सानो कालो दाग देखिन्छ यसलाई स्कार भनिन्छ। ज्वरो आउने र जोर्नी दुख्ने हुँदा थाहा हुन्छ। यस्तो अवस्था छ भने त्यो स्थानमा रहेका स्वास्थ्यकर्मीले त्यो औषधि चलाउन सकिन्छ। शुरूमा यो रोगको पहिचान नै नभएर या थाहै नहुँदा बिरामीको मृत्यु भएको हो। स्क्रबको समस्या भएका बिरामीमा स्वास प्रस्वासमा समस्या बढी देखिन्छ। जाडो महिनामा पनि यस्ता बिरामी देखिएका थिए।

स्क्रबका बिरामी टेकूलगायत अन्य अस्पतालहरूमा नियमित चेकजाँचका क्रममा देखिने र भर्ना भएर उपचारपछि निको भएर जादै गरेको अवस्था छ। नेपालको सन्र्दभमा हरेक महिना देखिन्छ। स्क्रब सार्ने गाईबस्तुमा देखिने किर्ना भन्दा फरक मुसाबाट आउने नै प्रमुख रहेको पाइएको छ। यो रोगबाट बच्नका लागि मनसुनसँगै बढी सजग हुनुपर्ने विज्ञको भनाइ छ। मुसाबाट टाढा रहनुपर्छ। घरवरिपरिमा मुसा आउने वातावरण कम गर्नुपर्छ। अन्न मुसाले नभेटने गरी सुरक्षा गरेको खण्डमा मुसामा कमी आउँछ। मुसा आउने अवस्थालाई कमी ल्याउनु नै यो रोगबाट बच्ने उपाय भएको डा. पुन बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्